चितवन विशेष
मिस नेपाल-२०२३ का अन्तिम २४ मा परिन् चितवनकी सुधा देवकोटा

चितवन, चैत १७-
मिस नेपाल-२०२३ का अन्तिम २४ जना प्रतियोगी घोषणा भएको छ । शुक्रबार बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा आयोजित स्यास सेरेमोनीमा सेमी-फाइनलिस्ट सार्वजनिक गरिएको हो । जसमा चितवनकी सुधा देवकोटा पनि छिन् ।
भरतपुर महानगरपालिका–११ जागृती चोकमा जन्मिएकी सुधा अहिले सप्तगण्डकी बहुमुखी क्याम्पसमा बीए तेस्रो वर्षमा आमसञ्चार तथा पत्रकारिता अध्ययनरत छन् । मोडलिङ गर्न, नयाँ ठाउँहरु घुम्न र पुस्तक पढ्न मनपाराउने उनी यसपटक चितवनबासीको मायाले मिस नेपालको टाइटल जित्नेमा आशावादी छन् ।

सातै प्रदेशमा सञ्चालन गरिएको अडिसनमार्फत यी प्रतिस्पर्धी छानिएको द हिडन ट्रेजरले जनाएको छ । स्यास सेरेमोनीमा सबैजना प्रतिस्पर्धीलाई प्रतियोगी अंक समेत हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले प्रदान गरे ।
स्यास ग्रहण गर्दै सुन्दरीहरुले आफ्नो परिचय र रुचिबारे बताएका थिए । जसमध्ये धेरैको आकांक्षा वातावरण, समाज र स्वास्थ्यमा योगदान पुर्याउनु रहेको छ । पाइलट, चिकित्सक, व्यवसायी, विद्यार्थी, मोडल पेशाका सुन्दरीले यसपटक मिस नेपालमा भाग लिएका छन् ।
काठमाडौंमा भेला भएका सुन्दरीको लागि व्यक्तित्व विकासदेखि पेजेन्टसम्बन्धी तालिम सुरु भएको छ । मिस नेपाल कोरियोग्राफर रचना गुरुङ शर्माले उनीहरुलाई तालिम दिइरहेकी छन् । आगामी जेठ १३ गते ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा ग्राण्ड फिनाले आयोजना हुँदैछ ।


प्रतिस्पर्धीको नाम र प्रतियोगी अंकसहितको सूची
१. राइना मजगैंया
२. स्मारिका कार्की
३. प्रज्ञा बज्राचार्य
४. कविना श्रेष्ठ
५. आयुषा महर्जन
६. कीर्ति बर्तौला
७. सुधा देवकोटा
८. प्रसिद्धि शाह
९. सृष्टि हाडा
१०. सदीक्षा थापा
११. वर्षा गौतम
१२. उन्नति गुरुङ
१३. आयुष्मा बराल
१४. रजनी मिश्र
१५. होलिस्का कोइराला
१६. स्विन्जा सुनाम
१७. श्रीच्छा प्रधान
१८. गृष्मा अधिकारी
१९. अपेक्षा खतिवडा
२०. कीर्तिका बस्नेत
२१. ऐश्वर्य श्रेष्ठ
२२. छिरिङ डोल्मा पाख्रिन
२३. सुहानी खड्का क्षेत्री
२४. प्रीतिका खड्का
























