Breaking News

भरतपुर अस्पताललाई शिक्षण अस्पतालको रुपमा संचालन गर्न सहमति दिने सरकारको निर्णय

Banner

चितवन, चैत १४–

सरकारले भरतपुर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको आङगीक शिक्षण अस्पतालको रुपमा संचालन गर्न सहमति दिने निर्णय गरेको छ ।

मन्त्रीपरिषद्को चैत १० गतेको निर्णय अनुसार भरतपुर अस्पताललाई अब शिक्षण अस्पतालको रुपमा अघि बढ्ने भएको छ । सबैको अथक मेहनतका साथ भरतपुर अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्न संभव भएको अस्पतालका निवर्तमान अध्यक्ष डा.भोजराज अधिकारीले बताए । ‘१२ वर्ष अघिदेखिको सपना पूरा भएकोमा ब्यक्तिगत रुपमा म हर्शित छु। हामी सबै मिलेर सरकारको यो ऐतिहासिक निर्णयलाई कार्यान्वयन गरी मेडिकल सिटी बनाउन थप योगदान गरौं’–डा.अधिकारीले भने ।

डा.अधिकारीले आफू अस्पतालको अध्यक्ष हुँदा बखत पनि शिक्षण अस्पतालको रुपमा लैजानुपर्ने आवाज उठाउँदै आइरहेका थिए । शिक्षण अस्पतालको रुपमा विकास गराउन भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल पनि सक्रिय रहेकी थिइन् । गतवर्ष भरतपुर अस्पतालको वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्पताललाई शिक्षण अस्पताल बनाउन आफू लागि पर्ने प्रतिवद्धता जनाएका थिए । यसपटक आफै प्रधानमन्त्री भएपछि दाहालले उक्त प्रतिवद्धता पुरा गरेका हुन् ।

भरतपुर अस्पताल अहिले केन्द्रीय अस्पतालको रुपमा संचालनमा छ । शिक्षण अस्पताल बनाउन माग गर्दै वर्तमान अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल, प्रमुख मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा.कृष्णप्रसाद पौडेल, निवर्तमान अध्यक्ष डा.भोजराज अधिकारीलगायतको प्रतिनिधि टोलीले केही दिन पहिले प्रधानमन्त्री दाहाललाई बालुवाटार पुगेर भेट गरेको थियो ।

अस्पतालका अध्यक्ष राजु पौडेलले शिक्षण अस्पताल बनेसंगै एमडी/एमएस सहित विभिन्न विधामा अध्यापन गराई नेपालकै उत्कृष्ट अस्पताल बनाउने सपना रहेको बताए । उनले शिक्षण अस्पताल बनाउन सहमति दिएकोमा सरकारलाई विशेष धन्यवाद दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>