देश/प्रदेश
तनहुँ– १ को उपनिर्वाचनमा कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने

काठमाडौँ, चैत १२-
रामचन्द्र पौडेल राष्ट्रपति चयन भएपछि खाली रहेको तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।
नेपाली कांग्रेसको पदाधिकारी बैठकमा शनिबार साँझ तनहुँ–१ मा भट्टराईलाई उम्मेदवार बनाउन सहमति जुटेको पार्टी सभापति शेरबहादुर देउवा निकट एक नेताले जानकारी दिएका छन् ।
नेपाली कांग्रेसभित्र भट्टराई अवसर नपाउने त्यागी नेताका रुपमा परिचित छन् । नेपाल विद्यार्थी संघको अध्यक्ष र नेपाल तरुण दलका उपाध्यक्ष भैसकेका भट्टराईले अहिलेसम्म चुनाव लड्ने अवसर पाएका थिएनन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भट्टराईलाई यसअघि नै निर्वाचनको तयारीमा जुट्न निर्देशन गरिसकेका थिए ।
२०४८ सालदेखि लगातार पार्टीको महाधिवेशन प्रतिनिधि हुँदै आएका उनी लगातार तीन पटक नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत निर्वाचित भएका छन् ।
रामचन्द्र पौडेलले गत चुनावअघि आफू राष्ट्रपति भएमा भट्टराईलाई उम्मेदवार बनाउने आश्वासन दिएका थिए ।
स्रोतका अनुसार भट्टराई तनहुँ–१ मा सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनाउने तयारी छ । निर्वाचन आयोगले प्रतिनिधि सभाका ३ रिक्त स्थानमा वैशाख १० गते उपनिर्वाचन गर्ने मिति तोकेको छ । तनहुँ १ बाट गत चुनाव जितेका पौडेल राष्ट्रपति बनेपछि त्यहाँ उपचुनाव हुन लागेको हो ।
























