Breaking News

चितवनको पटिहानीमा सुरु भयो नेपाल कराते महासंघको महाधिवेशन, नयाँ नेतृत्व चयन गर्ने

Banner

चितवन, चैत ११–

चितवनको पर्यटनकीय क्षेत्र पटिहानीमा दशकपछि नेपाल कराते महासंघको महाधिवेशन सुरु भएको छ । तीन दिनसम्म चल्ने महाधिवेशनको आज (शनिबार) भर्चुअल माध्यमबाट प्रधानमन्त्री पुष्पकमल दाहालले समुद्घाटन गरेका छन् ।

सो क्रममा बोल्दै प्रधानमन्त्री दाहालले आफ्नो तेस्रो प्रधानमन्त्रीकालमा खेल क्षेत्रलाई नै बढी प्राथमिकतामा राखेको बताए । खेलाडीहरुको प्रोत्साहनका लागि पुरस्कार घोषणादेखि मैदानमै पुगेर खेलाडीहरुको हौसला बढाउने काम गरिरहेको उनको भनाई थियो । यस्तै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले अन्तर्राष्ट्रियस्तरमा पदक ल्याउन करातेको भूमिका थप महत्वपूर्ण बनेको बताए । उनले अधिवेशन पश्चात तत्काल करातेको राष्ट्रिय बन्द प्रशिक्षण सुरु गर्न आग्रह गर्दै त्यसका लागि आवश्यक बजेट राखेपले व्यवस्थापन गर्ने प्रतिवद्धता जनाए ।

त्यस्तै भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भरतपुरमा खेलकुदका गतिविधि बढाउदै लगेको भन्दै हाल रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम तत्काल अघि बढ्ने बताइन् । उनले सो रंगशालामा क्रिकेट मात्र नभई अन्य खेलहरु पनि खेल्न सकिने बताएकाले छिट्टै खुशीको खबर सुन्न पाइने बताइन् । कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका महासचिवलगायतले मन्तव्य व्यक्त गरे । महाधिवेशनलाई भरतपुर–२२ वडा कार्यालयले आतिथ्यता गरेको हो । यस कार्यक्रमले पटिहानीलाई देशभित्रका साथै देशबाहिर समेत चिनाउन मद्धत पुग्ने वडा अध्यक्ष विष्णुराज महतोले बताए ।

सहभागि अतिथिहरुलाई कार्यक्रम संयोजक किशोर भट्टराईले मायाको चिनो प्रदान गरेका थिए । यस्तै कार्यक्रममा महासंघले प्रकाशन गरेको स्मारिकाको समेत विमोचन गरिएको छ । २०६९ साउनमा तत्कालीन सदस्यसचिव युवराज लामाले दावा गुरुङको नेतृत्वमा महासंघ गठन गरेपछि कराते भित्र ठूलो विवाद उत्पन्न भएको थियो । त्यसको ठिक १० वर्षपछि नै लामाकै तदर्थसमिति गठनबाट महाधिवेशनसम्म आइपुगेको छ । गत माघ १२ गते राखेपले पूर्व सदस्यसचिव लामाको नेतृत्वमा बनेको २१ सदस्यीय तदर्थ समितिलाई ९० दिनभित्र निर्वाचन गर्ने म्यान्डेट दिएको थियो ।

७६ जना मताधिकारप्राप्त प्रतिनिधिसहित ८० जना महाधिवेशनमा सहभागि भएको महासंघका अध्यक्ष युवराज लामाले जानकारी दिए । कराते महासंघको तदर्थ समितिका २१ जना, सात प्रदेशबाट ५–५ जनाका दरले ३५ जना तथा महासंघमा आवद्ध चार विधाहरु (सितोरियो, गोजुरियो, वादुरियो र सोतोकान) करातेबाट ५–५ का दरले २० गरी कुल ७६ जनाले नयाँ कार्यसमितिका लागि मतदान गर्न पाउँछन् । करातेको नयाँ विधानअनुसार २५ सदस्यीय कार्यसमिति रहनेछ । सितोरियो, गोजुरियो, वादुरियो र सोतोकान विश्व फेडेरेसन (डब्लूकेएफ)ले मान्यता दिएका करातेका चार विधा हुन् ।

२०३८ सालमा सितोरियो करातेमार्फत नेपालमा यो खेलको सुरुवात भएको यो । लामाका अनुसार राखेपमा सोतोकानका ९, गोजुरियोका ६, वादुरियोका ४ र सितोरियोका ३ संघ दर्ता छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>