क्रिकेट
कोशी प्रदेशमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्ने मुख्यमन्त्री कार्कीको घोषणा

विराटनगर, चैत ९–
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले क्रिकेट खेलाडीहरुको सम्मानका लागि विराटनगर आसपास क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका छन् ।
आज साँझ विराट गोल्डकपको समुद्घाटन गर्दै मुख्यमन्त्री कार्की तीन वर्षभित्रमा सम्पन्न गर्ने गरि क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका हुन् । ‘नेपाल भर्खरै एकदिवसीय विश्वकपको ग्लोबल क्वालिफायरमा प्रवेश गर्दै क्रिकेट खेलाडीहरुले उत्साह थपेको छ, त्यसैलेमा धेरै विभिन्न पुरस्कार र सम्मानको घोषणा गरिरहेका छन्, तर मैले पृथक कार्यक्रम घोषणा गर्न चाहन्छु आगामि तीन वर्षभित्रमा क्रिकेट खेलाडीको सम्मान गर्दै अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गर्दछु ।’
मुख्यमन्त्री कार्कीले आउँदो नयाँ बजेटबाट नै रंगशालाको लागि रातो किताबमा राखेर निर्माण प्रक्रिया अघि बढाइने बताए । उनले खेलकुदको विकास लागि प्रदेश सरकार सदैव लागि पर्ने बताए ।