चितवन विशेष

भरतपुरको साझा टोलमा ज्येष्ठ नागरिक भवन बनाउन आर्थिक सहयोग

०
Banner

चितवन, चैत ९–

चितवनको भरतपुरमा महानगरपालिका–९ को साझा टोलस्थित पतञ्जली मार्गमा रहेको दुर्गादेवी मन्दिरमा ज्येष्ठ नागरिक भवन निर्माणका लागि सहयोग प्राप्त भएको छ ।

भरतपुर–१० स्याउलीबजार निवासी भुवन आचार्य र प्रभा आचार्य दम्पतीले आफ्नो स्वर्गीय छोरा रञ्जन आचार्यको स्मृतिमा बिहीबार ज्येष्ठ नागरिक भवन निर्माणका लागि आर्थिक सहयोग गरेका हुन् ।

आचार्य दम्पतीले भवन निर्माणका लागि पाँच लाख एक हजार १५१ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । २०५२ फागुन २३ मा जन्मिएका रञ्जनको विसं २०७८ साउन २३ मा दैवी प्रकोपका कारण मृत्यु भएको थियो ।

आफ्नो छोरा कलेज पढ्दै गरेको अवस्थामा कलिलो उमेरमै ज्यान गुमाउनु परेकाले ज्येष्ठ नागरिकको सम्मान र सहजताका लागि ज्येष्ठ नागरिक भवन निर्माणमा सहयोग गरेको बुबा भुवन आचार्यले बताए । भवन निर्माणका लागि आर्थिक सहयोग गरेका आचार्य दम्पतीले बिहीबार भवनको शिलान्याससमेत गरेका छन् । भवन निर्माणका लागि बागमती प्रदेशको सार्वजनिक निर्माण कार्यान्वयन इकाईले २५ लाख रुपैयाँ विनियोजन समेत गरेको थियो ।

पहिलो चरणमा भवनको डीपीसीसम्मको काम गर्न इकाईले बजेट दिएको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष रमाकान्त कँडेलले बताए । ज्येष्ठ नागरिक भवन निर्माण सम्पन्न गर्न करिब एक करोड ५७ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको उनले बताए । भवनको बाँकी काम दाताहरुसँग आर्थिक सहयोग लिएर गरिने उनको भनाइ छ ।

एक हजार ८०० वर्गफिट क्षेत्रफलमा फैलिने ज्येष्ठ नागरिक भवनको दुई तला ढलान तथा तेस्रो तलामा ट्रस राखिने निर्माण समिति संयोजक उमानन्द कँडेलले बताए । भवनको भुइँ तलामा सभाहल, दोस्रो तलामा मन्दिर, टोल विकास संस्थालगायतका कार्यालय रहने भन्दै कँडेलले ट्रस राखेर निर्माण गरिएको माथिल्लो तलामा ज्येष्ठ नागरिक बस्ने कोठा बन्ने जानकारी दिए । पहिलो चरणको काम आगामी वैशाख ३० गतेसम्म सक्ने लक्ष्य रहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष उमानन्द कँडेलले बताए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>