Breaking News

चितवनमा महिला हिंसा मिलेमतोमा टुङ्ग्याउनेलाई त्यसै छाड्दैनौं: प्रमुख जिल्ला अधिकारी पौडेल

Banner

चितवन, चैत ८-

महिला तथा बालबालिकासम्बन्धी घटनामा सबै पक्ष गम्भीर हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

आज भरतपुरमा बसेको ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति’को बैठकमा सहभागीहरुले महिलामाथि हुने कुनै पनि हिंसा क्षम्य नहुने बताएका हुन् ।

कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले महिला सम्बन्धित विषयमा आफूहरु संवेदनशील भएको बताए । ‘महिला तथा बालिका बेचबिखनको घटना मात्रै नभएर महिला सम्बन्धी हुने सबै प्रकारका घटनामा हामी संवेदनशील छौँ’ पौडेलले भने, ‘पालिकाबाट घटना हुने भएकाले यस्ता विषयमा पालिकाहरु पनि चनाखो हुनुपर्छ ।’ महिलासम्बन्धी सामान्य घटना भएमा पनि प्रहरीमा वा आफूकहाँ जानकारी गराउन उनले आग्रह गरे ।

‘पीडितहरुले जुनसुकै समयमा पनि घटनाबारे जानकारी गराउँदै उजुरी दिनसक्नुहुनेछ’ उनले भने, ‘रितपूर्वक निवेदन प्रहरीमा गएर मिलेमतोमा टुङ्गाइयो भने कर्मचारीलाईसमेत कारबाही गर्छौँ ।’ संवेदनशील विषयलाई ढाकछोप गर्न नहुने उनले बताए । त्यसैगरी, हिंसा पीडित कुनै पनि बालबालिका पैसाको अभाव वा अन्य कुनै पनि कारण विद्यालय जान नपाएको भए खबर गर्न आग्रह गर्दै उनले त्यस्ता बालबालिकालाई पढ्ने वातावरण तुरुन्तै मिलाउने बताए । आगामी दिनमा यसप्रकारको बैठक नियमित गर्ने भन्दै सरोकारवाला निकायको पनि अनिवार्य उपस्थिति हुनुपर्ने बताए ।

कार्यक्रममा माइती नेपाल चितवनका कार्यक्रम संयोजक ईश्वर गिरीले स्थानीय तहले विकास निर्माणलाई बढी ध्यान दिएका भन्दै महिला तथा बालिबालिकाको क्षेत्रमा पनि केन्द्रित हुनुपर्ने बताए । गरिब तथा ग्रामीण बस्तीमा विद्यालय उमेरका बालबालिकाहरु बीचमै विद्यालय छोडेर हिँड्ने गरेका भन्दै यसतर्फ सरोकारवालाको ध्यानाकर्षण हुनुपर्ने बताए । उनले जिल्लाका विभिन्न स्थानबाट १८ वर्षमुनिका बालिकाहरुलाई होटल तथा रेष्टुराँमा लगेर यौन क्रियाकलापमा संलग्न गराइने गरेको बताए ।

‘चितवनको भरतपुर क्षेत्रमा रहेका कतिपय होटलले बालिकाहरुलाई यौन व्यवसायमा लगाउने गरेका छन्’ उनले भने, ‘कन्ट्याकमा यौन व्यवसाय गर्ने होटल तथा रेष्टुराँ व्यवसायीले यौन क्रियाकलापमा संलग्न बालिकालाई आधा पैसा र आधा पैसा आफूले राख्ने गरेका छन् ।’ त्यसैगरी वैदेशिक रोजगारमा गएका धेरै महिलाहरु जबरजस्ती यौनजन्य क्रियाकलापमा संलग्न हुन बाध्य रहेका गिरीको भनाइ छ । साउदी, कतार, ओमनलगायतका देशहरुमा दलालले ललाइफकाइ पठाउने गरेको भन्दै त्यस्ता देशबाट केही महिलाहरुलाई माइती नेपालले उद्धार गरेर कानुनी उपचार गरिरहेको गिरीको भनाइ छ । अहिले माइती नेपालले १८ वर्षमुनिका बालबालिका केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए ।

सो कार्यक्रममा सामरी उत्थान केन्द्रका कार्यक्रम संयोजक शिवहरि ज्ञवालीले मनोरञ्जन तथा सत्कार क्षेत्रबाट महिला तथा बालिकाहरु बेचबिखनमा पर्ने गरेको बताए । चितवनको बाँदरझुला र राप्ती नगरपालिकाको वडा नम्बर ५ बाट धेरै महिला तथा बालिकाहरु मनोरञ्जन क्षेत्रमा काम गर्न गएका भन्दै उनले उनीहरुलाई यौन क्रियाकलाप गर्न बाध्य पारिएको बताए । सामरीले दलित तथा सिमान्तकृत क्षेत्रमा शिक्षा र स्वास्थ्यमा काम गरेको भन्दै अहिले आन्तरिक मानव बेचबिखनको क्षेत्रमा काम गरिरहेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले सबै घटनाबारे प्रहरी जानकारी हुन नसक्ने भन्दै हिंसाका घटनाबारे प्रहरीलाई खबर गर्न आग्रह गरे । हिंसासहितका महिला तथा बालबालिकासम्बन्धी घटनामा प्रहरी संवेदनशील भएर काम गर्ने गरेको भन्दै कार्कीले प्रहरीमा जानकारीमा आएको विषयमाथि सुक्ष्म ढंगले अनुसन्धान गरिने बताए । महिला बेचबिखन तथा घरेलु हिंसाको विषयमा प्रहरीले तुरुन्तै एक्सन लिने गरेको कार्कीको भनाइ छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>