Breaking News

मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं

Banner

चितवन, चैत ८-

नेकपा एमालेले बागमती प्रदेश सरकारबाट बाहिरिन शर्त राखेको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि केन्द्रमा बनेको राजनीतिक समीकरणका आधारमा बागमती प्रदेश सरकारमा हेरफेरको तयारी भइरहँदा सत्तामै रहेको एमालेले राजीनामाका लागि शर्त अघि सारेको हो ।

बागमती प्रदेशसभा एमाले संसदीय दलका नेता तथा प्रदेश मन्त्री जगन्नाथ थपलियाले आफूहरु प्रदेश सरकारबाट हट्न तयार रहेको तर प्रदेशसभा बैठकमा आफ्ना धारणा राखेरमात्र राजीनामा दिने प्रष्ट पारे । ‘हामी सरकारमै बसिरहने भन्ने होइन,’ उनले भने, ‘हामी राजीनामा दिन तयार छौं तर प्रदेशसभा बैठकमा आफ्नो कुरा राखेर राजीनामा दिन्छौं ।’ नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले भने मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सरकारबाट एमाले हटेपछिमात्र विश्वासको मत लगायतका प्रक्रिया अघि बढाउन दबाब दिएका छन् ।

एमालेले भने प्रदेशसभा बैठकमा आफ्नो कुरा राख्न पाउनुपर्ने, त्यसपछि मात्र सरकारबाट आफू बाहिरिने शर्त राखेको हो । थपलियाले भने, ‘प्रदेशसभा बैठक जहिले बोलाउँछन्, त्यही बेला हामी आफ्ना कुरा राखेर राजीनामा दिन्छौं । प्रदेशसभा बैठक आजै बसेमा आजै राजीनामा दिन तयार छौं ।’

आज मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूचीसहित प्रदेशसभा बैठक आह्वान गरिएको छ । तर उक्त बैठकमा नेपाली कांग्रेसका सांसद भने अनुपस्थित हुने भएका छन् । आफूहरुसँग सल्लाह नै नगरी मुख्यमन्त्रीले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने तयारी गरेको भन्दै कांग्रेसले प्रदेशसभा बैठकमा अनुपस्थित हुने जानकारी मुख्यमन्त्री जम्कट्टेललाई गराइसकेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>