Breaking News

चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा

Banner

चितवन, चैत ८-

प्रतिनिधिसभाको चौथो दल रहेको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने वा नजाने अझै अन्योलमा रहेको छ ।

प्रचण्ड सररकारलाई विश्वासको मत दिएको पार्टी चितवनमा वैशाख १० मा हुने उपनिर्वाचनपछि वा अघि जाने भन्ने अन्योलमा देखिएको हो ।
सरकारमा गएको खण्डमा तीन मन्त्रालय दिने प्रधानमन्त्री प्रचण्डको प्रस्ताव छ । तर, रास्वपा अहिल्यै सरकारमा जाने कि पार्टी सभापति रवि लामिछाने वैशाख १० को उपनिर्वाचनबाट जितेर आएपछि जाने भन्ने विषय अनिर्णित छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धनको बैठक बोलाएका छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गर्नका लागि प्रधानमन्त्रीले गठबन्धनका शीर्ष नेताहरूको बैठक बोलाएका हुन् ।

बैठक चार बजे बालुवारमा बस्ने नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले बताए । उनले बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने बताए । गठबन्धनमा अहिले १० दल सहभागी छन् । प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिएसँगै सरकारलाई पूर्णता दिने तयारी थालेको हुन् । प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिने सबै दललाई सरकारमा समेट्नेगरी प्रस्ताव अघि सारेका छन् ।

त्यस विषयमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले पनि आन्तरिक छलफल गरिरहेका छन् । प्रधानमन्त्रीले सांसदहरूको संख्याको आधारमा भागबन्डा मिलाउनेगरी प्रस्तावअघि सारेका छन् ।

तर, नेकपा एकीकृत समाजवादी, जसपा, जनमतलगायत पार्टीले सांसदको आधारमा आफ्नो भागमा पर्ने मन्त्रालयमा चित्त नबुझाउने संकेत गरेका छन् । स्रोतकाअनुसार प्रचण्डले १० मन्त्रालय दाबी गरेको कांग्रेसलाई ८, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ४ मन्त्रालय, यसअघि तीन मन्त्रालय नपाएको जसपालाई दुई, तीन मन्त्रालयको दाबी गरिरहेको नेकपा एकीकृत समाजवादीलाई पनि दुई मन्त्रालय दिएर मनाउने प्रयास गरेका छन् ।

नेकपा एसले गृहसहित कम्तीमा ३ मन्त्रालय दाबी गरेको छ । हिजोको सचिवालय बैठकमा भने जनतासँग प्रत्यक्ष सरोकार रहेका कृषि, स्वास्थ्य, सिँचाइजस्ता कामकाजी मन्त्रालय लिएर जानुपर्ने केही नेताले मत राखेका छन् ।

जसपाले मधेश प्रदेशको मुख्यमन्त्री र उपराष्ट्रपति पाइसकेकाले अहिले दुई मन्त्रालयमै सहमत हुने देखिएको छ । यस्तै, तीन मन्त्रालय दाबी गर्दै आइरहेको नेकपा एसलाई कोशी प्रदेशको मुख्यमन्त्री दिएर मनाउने प्रयास छ । रास्वपा सरकारमा नगएको अवस्थामा तीन मन्त्रालय जसपा, नेकपा एस, कांग्रेस वा जनमतलाई बाँड्ने कोणबाट पनि छलफल चलाइएको छ ।

जनमतले एक मन्त्रालयमा आफूहरू चित्त बुझाउन नसक्ने यसअघि नै गठबन्धनमा जानकारी गराइसकेका छन् । उसलाई ‘पावर शेयरिङ’को आधारमा मधेश प्रदेशको मुख्यमन्त्री दिनेगरी मनाउने प्रयास भइरहेको छ ।

यस्तै, नागरिक उन्मुक्ति, लोसपा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टीलाई १÷१ मन्त्रालयमा दिने प्रधानमन्त्रीको प्रस्ताव छ । रास्वपा पनि सरकारमा जान तयार भए एमाले, राप्रपा, नेमकिपा, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदद्वय अमरेशकुमार सिंह र योगी मण्डल मात्रै सत्ताबाहिर हुने भएका छन् । आजको बैठकमा प्रधानमन्त्रीको प्रस्ताव र दलहरुको दाबीबारे छलफल हुने जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>