चितवन विशेष

माडीको परशुराम कुण्डमा स्नान सुरु, कुण्डसम्म जाने गोरेटो बाटो निर्माण

Banner

चितवन, चैत ७-

माडी नगरपालिका–१ स्थित परशुराम कुण्डमा मंगलबारदेखि स्नान सुरु भएको छ ।

विशेषगरी चैते दसैँ एवम् रामनवमीका अवसरमा स्नान गरिने धार्मिक एवम् पुरातात्विक महत्व बोकेको परशुराम कुण्डमा औंशीदेखि स्नान सुरु भएको हो ।

मंगलबार कुण्डसम्म जाने गोरेटो बाटो तथा कुण्ड सरसफाइ गरिएको गोद्धक क्षेत्र विकास संस्थाका अध्यक्ष तुलसिंङ गुरुङले जानकारी दिए । कुण्डसम्म जान खोला एवम् चारकोसे झाँडी पार गर्नुपर्ने भएकाले श्रद्धालु भक्तजनलाई सहजरुपमा जान आउन मिल्नेगरी झाडी सरसफाई एवम् गारेटो मर्मत गरिएको उनले बताए । सरसफाइमा स्थानीयबासी, वडा सञ्जाल, टोलविकास, समूह एवम् युवा क्लबले सहयोग गरेका छन् ।

विगत दुई वर्षदेखि कोभिडको प्रभावका कारण कुण्डसम्म आउजाउमा रोक लगाइएका कारण गोरेटो बाटो समेत भत्किएको थियो । झाडी र पहिरोले पुरिएको स्थान एवम् कुण्ड सरसफाइ गरिएको गोद्धक क्षेत्र विकास संस्थाका सदस्य रामजी सापकोटाले बताए ।

गोद्धकमा यही चैत १३ गतेदेखि १७ गतेसम्म भव्य गोद्धक राम चरित्रकथा यज्ञ हँुदै छ । प्रखरवाचक व्यासआचार्य गुरु चैतन्यकृष्णको मुखारबिन्दबाट संगीतमय राम कथा वाचन हुने यज्ञ सम्पादन समितिका संयोजक भरत तिमिल्सिनाले जानकारी दिए । यज्ञसँगै गोद्धक मेलामा विभिन्न स्टलसहित खेलकुदका पिङहरु, हरेक दिन सांस्कृतिक कार्यक्रम, ठेलो फाल्ने प्रतियोगिता, भलिबल प्रतियोगिता हुने संस्थाका सचिव गंगा भुसालले जानकारी दिए ।

प्राचिन किम्बदन्तीअनुसार यहाँ परशुरामले तपस्या गरेका थिए । परशुराम ऋषिले आफ्नै आमाको हत्या गरेर पाप मोक्ष (पाप पखाल्न) गर्न गोद्धक क्षेत्रमा रहेको देउता खोलाको सिरानको कुण्ड (परशुराम कुण्ड) मा पुगी स्नान गरेकोे धार्मिक विश्वास रहेको छ । ठूलो धार्मिक महत्व बोकेको गोद्धक क्षेत्रमा चैत रामनवमीमा नेपाल र भारतका लाखौँ भक्तजनहरु उपस्थित भई परशुराम कुण्डमा स्नान गरी गोद्धक क्षेत्रको मेला भर्ने परापूर्वकालदेखिको इतिहास छ । परशुराम कुण्ड बस्तीदेखि करिब ४ किलोमिटर जंगलभित्र चितवन राष्ट्रिय निकुञ्जमा पर्छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>