चितवन विशेष

भरतपुरमा चार सय पशुको स्वास्थ्य शिविर

Banner

चितवन,चैत ६-

भरतपुर–७ मा रहेको प्रेमबस्तीमा निःशुल्क पशु स्वास्थ्य शिविर गरिएको छ । भरतपुर महानगरको कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन शाखाले आयोजना गरेको शिविरमा प्रेमबस्ती दुग्ध उत्पादक सहकारीले सहकार्य गरेको थियो ।

शिविरमा ४१० वटा पशुको स्वास्थ्य परीक्षण गरिएको थियो । जसमध्ये १६५ वटा गाई, २३ वटा भैसी, १२ वटा कुकुर, २१० वटा बाख्राको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा शत्रुघन शाह, महानगरका पशु विकास अधिकृत डा सन्तोष घिमिरे, नेपाल पोलिटेक्निक इन्स्टिच्युटका देव शाह, सपना यादवको टोलीले पशुहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।
डा. शत्रुघन शाहले किसानहरुलाई गोठ सुधार्न र सरसफाइमा ध्यान दिन सुझाइएको बताउनुभयो । शिविरमा छाला संक्रमण भएका पशुहरु परीक्षणका लागि धेरै आएका थिए । केही पशुहरुमा आँखामा समेत संक्रमण देखिएको थियो । बाँझोपन भएका गाईभैँसी पनि उपचारका लागि किसानहरुले ल्याएका थिए ।

कुकुरहरुलाई रेविज विरुद्धको भ्याक्सिन पनि लगाइएको थियो । परालमा मात्रै नभई घाँस खेती गरेर घाँसमा आधरित पशुपालन गर्न आग्रह गरिएको बताउनुभयो । उहाँका अनुसार परालमात्रै खुवाएर हुर्काइएका पशुहरुमा पौष्टिक आहार कमी भएको पाइएको थियो । अल्ट्रासाउण्ड (भिडियो एक्सरे) समेत गरेर गर्भावस्था भएका पशुहरुको परीक्षण गरिएको थियो । हर्निया भएका पशुहरुलाई सर्जरीका लागि सिफारिस गरिएको थियो ।

कार्यक्रममा प्रेमबस्ती दुग्ध उत्पादक सहकारीका अध्यक्ष केशव पण्डित, भरतपुर–७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्ले, व्यवसायिक कृषक समाज नेपालका केन्द्रीय अध्यक्ष आनन्द न्यूरे लगायतको सहभागिता रहेको थियो । वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले पशुपंक्षी तथा कृषि क्षेत्रका लागि बजेट दोब्बर गरिने बताउनुभयो । कृषक समाजका केन्द्रीय अध्यक्ष न्यूरेले किसानले पाउने गरी दूधको मूल्य वृद्धि भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले दूध उत्पादन लागत घटाउन सरकारी कार्यक्रमहरु आउनुपर्ने बताउनुभयो ।

प्रेमबस्ती दुग्ध सहकारीमा १५१ जना आबद्ध छन् । दैनिक २०० लिटर बढी दूध बेच्ने ३ वटा फर्महरु छन् । सहकारीकै नमूना फर्ममा दैनिक ७०० बढी लिटर दूध उत्पादन हुनेगर्छ । प्रेमबस्ती दुग्ध सहकारीले ५०० गाई, ५०० भैँसी पाल्ने लक्ष्य सहित अन्तर्राष्ट्रिय स्तरको डेरी सहकारी चलाउने लक्ष्य लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>