Breaking News

मेघौली विमानस्थलको स्तरोन्नतिको लागि टेन्डर आव्हान, सुचारु हुनेमा भने अझै आशंका

Banner

प्रतिमा कुमाल

चितवन, चैत ६-

नेपाल नागरिक उड्डयन प्राधिकरणले मेघौली विमानस्थलको स्तरोन्नतिको लागि टेन्डर आव्हान गरेको छ ।

भोजपुर र सिमरा विमानस्थलसँगै चितवनको मेघौली विमानस्थलको धावनमार्ग स्तरोन्नति, तारबारलगायत अन्य कार्यहरुका लागि आज (सोमबार) टेन्डर आव्हान गरेको हो ।

यस विमानस्थलको स्तरोन्नतिको लागि अनुमानित बजेट १४ करोड सात लाख पाँच हजार ४९१ रुपैँया ९६ पैसा रहेको छ । भ्याट सहित बोलपत्र कागजातको मूल्य तीन हजार ३९० रहेको छ । बोली सुरक्षा रकम आवश्यक चार लाख ३० हजार २०० रहेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालय एरो ड्रोम इञ्जिनियरिङ विभागका प्रबन्धक नल विक्रम थापाले विमानस्थल संरक्षणको लागि सानो बजेटमा काम गर्न लागेको बताए । उनले भने, ‘जग्गाको सुरक्षा गर्नको लागि धावन ग्रेडिङ र ग्राभेल गर्न लागेको हो । यसैको लागि सानो बजेट छुट्टाएका हौं ।’

थापाले सरकारको प्राथमिकतामा मेघौली विमानस्थल नपर्दासम्म सञ्चालन नहुने बताए । ‘यो विमानस्थल सरकारको कार्यक्रममा परेको छैन । नेपाल सरकारको बजेट नआउदासम्म यसको पूर्णकाम हुँदैन । सञ्चालनमा आउदैन’, उनले नारायणी अनलाइनसँगको कुराकानीमा भने ।

टेन्डर आव्हानसँगै भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरको बैकल्पिक विमानस्थल मेघौली हुने विश्वास व्यक्त गरिन् । आफ्नो फेसबुक पेजमार्फत् उनले यस्तो बताएकी हुन् । उनले लेखेकी छन्, ‘नेपाल नागरिक उड्डयन प्राधिकरणले आज मेघौली विमानस्थालको धावनमार्ग स्तरोन्नति र तारबारलगायत कार्यहरुको टेन्डर आव्हान गरेको छ । चितवन राष्ट्रिय निकुञ्जको आगनमा अवस्थित यो विमानस्थल पश्चिम चितवनको एक महत्वपूर्ण पर्यटन पूर्वाधार र भरतपुरको वैकल्पिक विमानस्थल हुने छ । योसँगै भरतपुर महानगरलाई दक्षिण एसिया कै नमुना शहर बनाउने हाम्रो महाअभियानमा नयाँ आयाम थपिएको छ ।’

विसं २०१७ मा स्थापना भएकोे मेघौली विमानस्थल चितवन कै पुरानो विमानस्थल हो । विमानस्थल स्थापना भएदेखि निकुञ्जभित्र रहेको टाइगर टप जंगल लजमा आउने पाहुना ल्याउन बिमानले उडान भर्दै आएको थियो । सरकारले चितवन निकुञ्जभित्र होटल सञ्चालन गर्न नपाउने नीति बनाएपछि विसं २०६७ को मङ्सिरदेखि विमानस्थल बन्द भएको थियो । त्यसयता विमानस्थलमा नेपाली सेनाको विमान फाट्टफुट्ट उडान हुने गर्छ ।

करिब १३ वर्षपछि विमानस्थलको टेन्डर आव्हान भएपछि विमानस्थल गौचरनमा परिणत हुने खतराबाट मुुक्त भएको मेघौली पर्यटन विकास बोर्डका अध्यक्ष हरिचन्द्र महतोले खुसी व्यक्त गरे । उनले भने, ‘बेलायतकी महारानी एलिजाबेथसँगै तत्कालिन राजारानी महेन्द्र वीरविक्रम शाह, रत्न राज्यलक्ष्मी शाहलगायत विदेशी विशिष्ट व्यक्तिको आवागमन यहाँ भएको थियो । जसले विमानस्थल र मेघौलीको कायापलट हुने धेरैले अनुमान गरे तर त्यो तामझाम धेरै समय टिक्न सकेन । त्यसपछि यहाँको पर्यटन शून्य भयो । रोजगारी गुम्यो । विमानस्थल गौचरनमा परिणत हुनै लाग्दा टेन्टर आव्हान हुदा सबैलाई हर्सित बनाएको छ ।’

विमानस्थल सञ्चालन भएपछि पर्यटक आगमनमा बृद्धि हुने आशा महतोले राखे । टाइगर टप जंगल लज बन्द भएपछि यहाँको पर्यटन आगमन शून्य थियो । बन्द भएको धेरै समयपछि मात्र यहाँ ठूला होटलहरु आए । देश विदेशमा गएर अनुभव गरे स्थानीयले पनि सानो तिनो होटल खोले । हामीले पनि पर्यटन विकासको लागि काम ग¥यौं । त्यसपछि अहिले थोरै थोरै पर्यटकहरु मेघौली गोलाघाट घुम्न भनेर आउन थाले । चाडो भन्दा चाडो विमानस्थल स्तरोन्नति गरे सञ्चालनमा ल्याउन सके यो सबैको लागि आकर्षणको केन्द्र बन्ने छ’, उनले भने ।

विमानस्थल सञ्चालनमा नआउदा पर्यटक र स्थानीले समस्या भोगिरहेको महतोले सुनाए । उनले भने, ‘पर्यटक तथा स्थानीयलाई अपरझट भरे भरतपुर विमानस्थलनै जानुपर्छ । मेघौली विमानस्थल सञ्चालन भएको भए यहीबाट उनीहरु काठमाडाँै पोखरालगायत स्थानमा सजिलै जान सक्थे । जाममा फस्नु पर्दैन थियो ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>