Breaking News

उत्पादन राम्रो भएपछि चैते धानमा चितवनका किसान आकर्षित

Banner

प्रतिमा कुमाल

चितवन, चैत ६–

चितवनको माडीका किसानहरु चैते धानप्रति आकर्षित भएका छन् ।

किसानको आकर्षण बढेसँगै चैते धान लगाउने क्षेत्रफल बिस्तार भएको हो ।

माडी नगरपालिका कृषि तथा पशु शाखाका अनुसार गत आर्थिक वर्षको तुलनामा यस वर्ष चैते धान लगाउने क्षेत्रफल बिस्तार भएको छ । कार्यालयका अनुसार गत आर्थिक वर्षमा दुई हजार बिघा क्षेत्रफलमा चैते धानखेती गरिएको थियो । यस वर्ष बढेर दुई हजार ५०० बिघा पुगेको हो ।

असारे धान भन्दा चैते धानको उत्पादन राम्रो भएकोले किसानहरु यस तर्फ आकर्षित भइरहेको पालिकाका कृषि तथा पशु शाखा अधिकृत किरण पौडेलले बताए । उनले भने, ‘असारमा सामुहिक रुपमा नै धान खेती हुन्छ । यस समय रासायनिक मलको चरम अभाव किसानले भोग्नुपर्छ । धानमा रोग र किराको संक्रमण पनि बढी छ । तर चैते धानमा यस्तो छैन । रोग कम छ । चैते धानको लागि प्रर्याप्त रासायनिक मल किसानले सजिलै पाइरहेका छन् । जसले उत्पादन राम्रो देखिएको छ । त्यसकारण चैते धानप्रति किसानको आकर्षण बढी रहेको छ ।’
किसानको उत्साहलाई ध्यानदिँदै पालिकाले सिचाइँलाई प्राथमिक्तामा राखेको पौडेलले बताए । उनले भने, ‘माडीको लगभग ५५ सय बिघा क्षेत्रफलमा धानखेती हुन्छ । असारमा यसको ९० प्रतिशत खेती योग्य जमिनमा धान खेती हुन्छ । बाँकीमा तरकारी खेती लगाइन्छ । चैतमा अहिले करिब ५० प्रतिशत क्षेत्रफलमा धानखेती हुन थालेको छ । यस समयमा पानीको समस्या हुनेहुदा सिँचाइ प्राथमिकतामा छ ।’
पौडेलले ४०० वटा बोरिङ राख्ने काम गरिरहेको जानकारी दिए । साथै संघीय सरकार र प्रदेश सरकारबाट गरी २० वटा डिप बोरिङको काम पनि हुने क्रममा रहेको बताए । पालिकाले बिउ उत्पादनलाई पनि प्राथमिकतामा राखेको पौडेलले बताए । उनले भने, ‘२३ बिघा जमिनमा तोरीको बिउ उत्पादन पालिकाले गरिसकेको छ । यस्तै गहुँ, मकै, धानको बिउ उत्पादन गर्ने काम भइरहेको छ ।’ बिउ उत्पादनमा नगरपालिका नमुना पालिका बन्ने विश्वास उनले व्यक्त गरे ।

उत्पादन र आम्दानी असारे धानभन्दा धेरै भएपछि किसानहरुको आकर्षण बढ्न थालेको हो । तर, धान भित्र्याउँने समय बर्षायाम भएकोले भने किसानलाई समस्यामा पार्ने गरेको छ । माडी नगरपालिका–१ बरुवाकी किसान लक्ष्मी कँडेलले उत्पादन राम्रो भएकोले नै चैते धान खेतीमा आकर्षित भएको बताइन् । गर्दी महिला साना किसान कृषि सहकारी संस्थाको ७३ जना मिलेर ४० हेक्टरमा चैते धान खेती गरेको उनले जानकारी दिइन् । उनले भनिन्, ‘माडीमा चैते धान लगाउन थालिएको धेरै भएको छैन । यस वर्ष ह्वात्तै बढेको हो । उत्पादन र आम्दानी असारे धानमा भन्दा बढी देखिएपछि संस्थागतरुपमा यस खेतीमा लागियो ।’ मल र सिँचाइमा समस्या नभए पनि बर्षा याममा धान भित्र्याउँन पर्ने हुनाले समस्या देखिने गरेको किसानको गुनासो छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>