चितवन विशेष
चितवनका एमाले नेता सुवेदीले जन्मदिनमा गरे वृक्षरोपण

चितवन, चैत ५-
मानिसहरुको आफ्नो जन्मदिन मनाउने तरिका फरक–फरक हुन्छन् । अधिकांश केक काटेर खानपिन गरेर जन्मदिन मनाउने गरेको भए पनि चितवनका एमाले नेता तथा पूर्वप्रदेश मन्त्री विजय सुवेदीले भने हरेक जन्मदिन वृक्षरोपण गरेर मनाउने गरेका छन् ।
वृक्षरोपण बाहेक उनी हरेक जन्मदिनमा केही न केही सामाजिक सेवाका कार्यक्रममा सक्रिय हुने गर्छन् । आज आइतबार परेको ६० औं जन्मदिनमा उनले भरतपुरको गोन्द्राङमा रहेको राइनो ताल पार्कमा पिपलको विरुवा रोपे । उनले बिगत सात वर्ष अघिदेखि जन्मदिनमा वृक्षरोपण गर्दै आएका छन् ।
यसअघि गत वर्ष उनले जन्मदिनमा भरतपुरका दुई टोलको आपतकालिन कोषलाई ५० हजार रुपैयाँ दिनुका साथै गणेशस्थानमा वृक्षरोपण पनि गरेका थिए । यसअघि पनि एमाले नेता सुवेदीले आफ्नो जन्मोत्सवको अवसर पारेर रक्तदान, वृक्षरोपण, सरसफाई अभियानमा सामाजिक कामहरु गर्दै आएका छन् ।
स्याङ्जाको क्याक्मी– ४ चाङसिङमा जन्मिएका सुवेदी २०३७ देखि चितवनमा बसोबास गर्दै आएका छन् । उनी २०७४ मा चितवन २ ‘ख’ बाट प्रदेश सांसदमा निर्वाचित भएका थिए । उनले २०६७ सालमा संयोजक बनेर चितवन उपत्यका रणनीतिक विकास योजना तयार पारेका थिए । उनी गत वर्ष भदौ २३ गतेदेखि कात्तिक १० गते सम्म ४९ दिन वागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको जिम्मेवारीमा रहेका थिए । उनी भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा रहदा पनि उल्लेख्य काम गरेका थिए ।