कृषि

रासायनिक मलमा गरिएको मूल्यबृद्धि फिर्ता गर्न एमालेको माग

Banner

चितवन, चैत ५-

नेकपा एमालेले सरकारले रासायनिक मलमा बृद्धि गरेको मूल्य तत्काल फिर्ता गर्न माग गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दे एमालेले सो माग गरेको हो ।

नेपाल सरकारले यही ०७९ फागुन २६ गते रासायनिक मलमा दिँदै आएको अनुदान भारीमात्रामा कटौती गर्ने निर्णयप्रति नेकपा (एमाले)कृषि तथा पशुपन्छी विकास विभागको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ , ‘सरकारको निर्णयानुसार युरियामा प्रतिकेजी ११, डीएपीमा ७ र पोटासमा ९ रुपैयाँले मूल्यबृद्धि भएको छ । जसको प्रत्यक्ष मार नेपालमा कडा परिश्रम गरिरहेका नेपाली किसान र आम उपभोक्तामा पर्न गएको छ । ’

एकातिर भारतबाट ठूलो मात्रामा कृषि उपजको आयात हुने र अर्कोतिर रासायनिक मलको मूल्यबृद्धि गरी उत्पादन लागत झन् बढाई उत्पादन लागतमा थप बृद्धि हुन पुगेको भन्दै एमालेले चिन्ता व्यक्त गरेको छ । वर्तमान नेपाल सरकारको रासायनिक मलमा अनुदान कटौतीको निर्णयबाट सरकार स्वदेशी उत्पादनलाई निरुत्साहित गरी भारतीय कृषि उपजको व्यापार बढाउन उद्यत रहेको स्पष्ट हुन गएको विज्ञप्तिमा जनाइएको छ ।
यसरी मूल्यबृद्धि गर्दा उत्पादन लागत बढ्ने र उत्पादित कृषि उपजहरुको अत्यधिक मूल्य बृद्धि हुने हुँदा स्वदेशी भन्दा विदेशी उत्पादन सस्तो पर्न गई कृषि उपजमाथिको परनिर्भरता बढाउनेतर्फ सरकार लागिपरेको विज्ञप्तिमा आरोप लगाइएको छ ।

त्यसैगरी विज्ञप्तिमा भनिएको छ , ‘यसरी अन्तर्राष्ट्रिय बजारमा मूल्य घटिरहेको अवस्थामा नेपाली किसानलाई मार पर्ने गरी मूल्य बृद्धि गर्ने निर्णयको औचित्य पुष्टि हुन सक्दैन । मलको अभाव खेपिरहेका किसानलाई थप समस्यामा पार्ने गरी गरिएको निर्णय गैरजिम्मेबारपूर्ण छ । नेपाली किसान र कृषिक्षेत्रलाई थप निरुत्साहित गर्ने गरी अत्यन्तै हचुवाको भरमा गरिएको असंवेदनशील निर्णय हो भन्ने हाम्रो ठहर रहेकोछ ।’
अचानक रासायनिक मलको मूल्य बढाई किसानलाई कृषि उत्पादनमा लाग्न निरुत्साहित गर्ने नेपाल सरकारको निर्णय भत्र्सनायोग्य रहेको विज्ञप्तिमा जनाइएको छ । यस निर्णयको विज्ञप्तिमा कडा शब्दमा निन्दा गर्दै विदेशी उत्पादनलाई नेपाली बजार कब्जा गर्न सहज गराउने नियोजित उद्देश्यसहित ल्याइएको उक्त निर्णय विदेशीलाई खुसी पार्ने कामको निकृष्ट उदाहरण हो भन्ने कुरामा दुइमत हुन नसक्ने जनाइएको छ ।

बिना आधार मलको मूल्यबृद्धि गर्ने किसानमारा निर्णय सच्चाई मलको मूल्य यथावत कायम गर्दै आवश्यक मात्रामा मलको सहज आपूर्तिको सुनिश्चितता गर्न र किसानहरुले उत्पादन गरेको कृषि उपजहरुको उचित मूल्यमा खरिद गर्ने कार्यक्रम लागू गर्न एमाले कृषि तथा पशुपन्छी विभागका प्रमुख गिरधारीलाल न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>