Breaking News
कृषि विश्वविद्यालयका डिनमाथि छानबिन गर्न बनेको समितिका संयोजकले दिए राजीनामा

चितवन, चैत ५
कृषि तथा वन विश्वविद्यालयका डिनको विषयमा छानबिन गर्न बनाइएको समितिका संयोजक र सदस्यले राजीनामा दिएका छन्।
कृषि संकायका डिन प्राध्यापक जयप्रकाश दत्तले जुम बैठकमा महिला कर्मचारीसँग अश्लिल हर्कत गरेको भिडिओ सार्वजनिक भएको थियो। सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक भएपछि उपकुलपति पुण्यप्रसाद रेग्मीले सेवा निवृत्त प्राध्यापक डाक्टर श्रवणकुमार साहको संयोजकत्वमा छानबिन समिति बनाएका थिए। आज उपकुलपतिलाई पत्र लेखेर संयोजक साह र सदस्य प्राध्यापक नारायणराज जोशीले राजीनामा दिएका हुन्।
उपकुलपतिले डिन दत्तसँग सम्बन्धित सामाजिक सञ्जालमा देखिएको विषयवस्तु संवेदनशील भएको हुँदा सो सम्बन्धमा के कसो भएको हो अध्ययन गरी सत्य तथ्यसहित राय सुझाव प्रतिवेदन पेश गर्न समितिलाई म्यान्डेट दिएका थिए।
‘हामीमा उक्त विषयसम्बन्धी कुनै सीप तथा दख्खल नभएको हुँदा असमर्थता प्रकट गरी राजीनामा पेश गर्दछौं, ‘ उनीहरूले पत्रमा लेखेका छन्। उनीहरूले आफ्नो कार्यव्यस्तता र स्वास्थ्यका कारणले पनि छानबिनमा समय दिन नसक्ने बताएका छन्।
चैत ३ गते उपकुलपति रेग्मीले साह संयोजक, जोशी र प्रा।डा। दुर्गा देवकोटा सदस्य रहेको छानबिन समिति बनाएका थिए।
विश्वविद्यालयको शिक्षक कर्मचारी सेवा नियमावलीको दफा ६९ को ‘कुमा आफ्नो कर्तव्य पालनामा लापरबाही गरेमा सम्बन्धित शिक्षक तथा कर्मचारीलाई सेवाबाटै हटाउन वा बर्खास्त गर्न सक्ने उल्लेख छ। तर विश्वविद्यालयले उनलाई राजनीतिक रूपमा संरक्षण गर्न खोजेको आरोप अन्य शिक्षक, कर्मचारीको छ।
‘उनलाई सेवाबाटै बर्खास्त गर्नुपर्नेमा छानबिनका लागि समिति बनाएर चोख्याउने प्रयास गरिएको छ। राजनीतिक आवरणमा संरक्षण गर्न खोजिँदैछ, ‘एक कर्मचारीले भने।
डिन दत्त नेकपा (माओवादी केन्द्र) निकटका हुन्। उनी दोस्रो पटक कृषि संकायको डिनमा नियुक्त भएका थिए।
आफैंले राखेको जुम बैठकमा भिडिओ अन नै राखेर महिला कर्मचारीसँग अश्लिल हर्कत गरेपछि उनलाई कारबाही गर्न विश्वविद्यालयमाथि दबाब छ। स्रोतः सेतो पार्टी


























