चितवन विशेष

चितवनमा लेखक तथा समालोचक अधिकारी र कथाकार रेग्मी पुरस्कृत

Banner

चितवन, चैत ४-

चितवनमा लेखक तथा समालोचक उदय अधिकारी र कथा तथा कथाकार सनद रेग्मी पुरस्कृत भएका छन् ।

अधिकारी र रेग्मीलाई चितवन साहित्य परिषद्ले गायत्री साहित्य पुरस्कार–२०७९ र गीताश्री साहित्य पुरस्कारबाट पुरस्कृत गरेको हो ।
भरतपुर निवासी अन्तरवार्ताकार, समीक्षक तथा अध्यापक अधिकारीले चिसाप गायत्री सरस्वती साहित्य पुरस्कार प्राप्त गरेका छन् । नगद १५ हजार ४५ रुपैयाँ र कदरपत्रसहित प्रमुख अतिथि गोविन्दराज विनोदीले स्रष्टा अधिकारीलाई सम्मान गरे ।

साहित्यकार सरस्वती रिजाल र गायत्री श्रेष्ठले अक्षयकोषमार्फत संयुक्तरूपमा स्थापना गरेको यो पुरस्कार २०७४ सालदेखि बितरण गर्न थालिएको हो । चितवनका प्रख्यात पाठक, समालोचक तथा अन्तरवार्ताकार अधिकारीको प्रश्न र फेसिङ अ लिटल भोल्कानो प्रकाशित छन् । दुबै पुस्तकमा स्रस्टासँगका कुराकानी संकलित छन् । शिखा बुक्सले प्रकाशन गरेको ‘प्रश्न’ ६ जना चर्चित साहित्यकारहरुसँग गरिएको अन्तरवार्ताको संग्रह हो । अधिकारीले विभिन्न समयमा लिएका चर्चित साहित्यकारहरु अभि सुवेदी, नारायण ढकाल, सरुभक्त, श्यामल, श्रवण मुकारुङ र मनु मञ्जिलसँगको अन्तरवार्तालाई आफ्नो पहिलो कृतिको रुपमा प्रकाशन गरेका थिए । समालोचक अधिकारीका पुस्तकहरुबाट साहित्यकारहरुको जीवनी र उनीहरुको साहित्य क्षेत्रको योगदानलाई बुझ्नको सहयोगी हुने गरेको छ ।

त्यसैगरी बाँके जिल्लाको नेपालगन्ज निवासी स्रष्टा सनत रेग्मीलाई चिसाप गीताश्री साहित्य पुरस्कार–२०७९ प्रदान गरिएको छ । चितवन साहित्य परिषद्का पूर्वअध्यक्ष श्रीभक्त अच्युत वाग्ले र गीता वाग्ले संरक्षक रहेको यो पुरस्कार पहिलोपटक प्रदान गरिएको हो । यो पुरस्कारको राशी ३५ हजार ४५ रुपैयाँ रहेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिवसमेत रहेका रेग्मी कथाकार हुन् ।
सम्मानित स्रस्टाहरूका बारेमा गणेश श्रमण, कपिल अज्ञात, सरस्वती रिजाल र गायत्री श्रेष्ठले बोलेका थिए । स्रष्टा सरस्वती रिजालले अंग्रेजी साहित्यमा विशेष दख्खल राख्ने उदय अधिकारी अन्य स्रष्टालाई उदय गराउन हौसला र प्रेरणा दिने अभियन्ता भएको बताइन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>