Breaking News
चितवनमा १४ वर्षपछि हुने स्ववियु चुनाव अन्योलमा, चुनावप्रति विद्यार्थीमा निराशा

प्रतिमा कुमाल
चितवन, चैत २—
त्रिभुवन विश्वविद्यालयको वार्षिक क्यालेन्डरमा समावेश स्ववियु निर्वाचन आगामी ५ चैतमा हुँदै छ ।
स्ववियु निर्वाचनलाई लिएर अहिले चितवनका क्याम्पसहरुमा चुनावी गतिविधि भइरहेको छ । २०६५ सालयता त्रिविको कार्यतालिकामा मात्रै सीमित भएको स्ववियु निर्वाचन १४ वर्ष पछि हुन लागेको हो । अहिले पनि चितवनका ३ आंगिक र १४ सामुदायिक क्याम्पसमा निर्वाचन हुने वा नहुने अन्योल नै रहेको छ । संगठन दर्ता भएर उम्मेदवार मनोनयन काम अधिकांशमा भए पनि अन्य निर्वाचन प्रक्रिया भने अगाडि बढ्न सकेको छैन । कतै तालाबन्दी कतै तोडफोडले सबै क्याम्पसहरु समस्यामा देखिन्छन् । आफूले हार्ने सम्भावना देखिएपछि तोडफोडमा नै उत्रने र निर्वाचन प्रक्रिया बिथोल्ने संस्कार चितवनमा देखिन्छ । अहिले चितवनको ठूलो क्याम्पसहरु वीरेन्द्र, बालकुमारी र मैयादेवीमा नै अखिल क्रान्तिकारीले ताला लगाएको छ । सप्तगण्डकीमा लागेको ताला प्रशासनले खोले पनि फेरि तोडफोडपछि निर्वाचन हुन्छ वा हुँदैन भन्ने अन्योलमा रहेको छ ।
नेविसंघ चितवनका अध्यक्ष राजेश भुसालले आफूहरु निर्वाचन हुनुपर्छ भन्ने पक्षमा नै रहेको नारायणी अनलाइनलाई बताए । त्यसैगरी अनेरास्ववियु स्ववियु निर्वाचनको परिचालन र समन्वय गर्ने जिम्मेवारी पाएका पूर्वजिल्ला अध्यक्ष प्रकाश आचार्यले आफूहरुले स्ववियु निर्वाचन हुनुपर्छ भन्ने पक्षमा रहेको बताए । उनले सबै विद्यार्थी संगठन एकातिर मिले पनि आफूहरु एक्लै निर्वाचन लड्न तयार रहेको दाबी गरे । उनले भने, ‘हामी हार भए पनि स्वीकार्न तयार छौं ।’ उनले स्ववियु निर्वाचन हुन नसके सबै क्याम्पसका क्याम्पस प्रमुखहरुको राजीनामा माग गर्ने सोचमा रहेको नारायणी अनलाइनलाई बताए ।
स्ववियु प्रति विद्यार्थीको निराशा
स्वतन्त्र विद्यार्थी युनियनको चुनावले अहिले चितवनको विद्यार्थी राजनीतिमा तरंग आएको छ । तर, लामो समयसम्म चुनाव नहुँदा स्ववियु चुनाव के को लागि भन्ने प्रश्न समेत विद्यार्थीहरुमा उठेको छ । सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर–१० मा बीबीए प्रथम वर्ष अध्ययनरत सिम्रन काफ्लेले चुनाव विषयमा केही थाहा नभएको बताइन् । उनले भनिन्, ‘हामीलाई थाहा छैन स्ववियु चुनाव भनेको के हो र यसले के काम गर्छ भनेर ।’
दलीय विद्यार्थी संगठनबीचको प्रतिस्प्रर्धाबाट जसले जिते पनि उसले विद्यार्थीको हकहितको लागि काम गर्नुपर्नेमा काफ्ले जोड दिन्छन् । चुनावबाट विजयी हुनेले विद्यार्थीको समस्यामा ध्यान दियोस् । कुनै विद्यार्थीलाई शुल्क तिर्न गाहे भएको समयमा कम गर्नेसम्मको काम गर्न सक्ने खालको नेतृत्व आवश्यक छ । क्याम्पसमा केही औषधि आवश्यक परे कोबाट लिने भन्नेसमेत छैन यस तर्फ पनि काम विद्यार्थी संगठनले गरोस् ।’
यसै क्याम्पसमा बीबीए प्रथम वर्षमा अध्ययनरत नंम्रता ढकालले भने राजनीतिक दलका विद्यार्थी संगठन प्रति असन्तुष्टि व्यक्त गरिन् । जुनसुकै कार्यालयमा काम गर्दा समस्या हुन्छ । त्यस्ता समस्याहरुलाई सामाधन गर्नुभन्दा शिक्षकहरुलाई हातपात गर्ने, कलेजका भौतिक सम्पतिमा हानी पु¥याउने खालको तोडफोड गर्ने देखेको छु हाम्रो कलेजमा ।’ अब स्ववियु निर्वाचनबाट आउने नेतृत्वकर्ता भने बुझ्ने र परिपक्क हुनुपर्ने उनले धारणा राखिन् ।
वीरेन्द्र बहुमुखी क्याम्पसमा बीबीएस अध्ययन गर्ने लमजुङकी रेखा गुरुङले कहिल्यै कक्षा कोठामा पढ्न नआउने मुखमा ढुस्स चुरोट गन्हाउने विद्यार्थीहरुको समूह राजनीतिक दलको नाम लिँदै क्याम्पस क्याम्पसमा भोट माग्दै हिडेको आरोप लगाइन् । उनले भनिन्, ‘ चितवनका जुनकुनै क्याम्पसका विद्यार्थी नेताहरु हेर्नोस् । पढ्न खालको लगनशिल कोही देखिँदैन । गेट र प्रशासनको छेउछाउ बस्ने, गुण्डागर्दी, ठेकेदारी गर्ने, एजुकेसन कन्सल्टेन्सी चलाउने, कक्षा कोठामा कहिल्यै उपस्थिति नहुने विद्यार्थीहरु नै शैक्षिक गुणस्तरको माग गर्दे स्ववियु चुनावको प्रचारमा हिडेको देख्दा लाज लाग्छ ।’ उनले नेपालको विश्वविद्यालयले स्ववियुलाई खारेज गरेर युरोप र अमेरिकाको विश्वविद्यालयमा जस्तो पढ्ने खालका मेहनती विद्यार्थीहरु राखेर विद्यार्थी काउन्सिल बनाउनुपर्ने विचार राखिन् । उनले कक्षाकोठामा पढ्ने भन्दा क्याम्पसको क्यान्टिन र गेट ढुकेर बस्ने विद्यार्थी नेताहरुबाट केही आश गर्न नसकिने बताइन् ।
अनेरास्ववियु सप्तगण्डकी बहुमुखी क्याम्पस अध्यक्ष महेश सापकोटाले विद्यार्थी राजनीतिलाई केही व्यक्तिले पेसा बनाउदा यसप्रति विद्यार्थीहरुको कम चासो र आकर्षण देखिएको बताए । स्ववियु निर्वाचनका अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका सापकोटाले भने, ‘विद्यार्थीको नेता भएपछि उनीहरुको हकअधिकारको लागि लड्नु पर्छ । तर केहीले विद्यार्थी राजनीतिलाई पेसा बनाएर लाग्नु हुन्छ । त्यसले गर्दा राम्रो गर्दै आएको विद्यार्थी संगठनहरुलाई पनि नराम्रो दृष्टिकोणले हेरिने अहिलेको परिबेश छ । ’
सापकोटाले विद्यार्थी आन्दोलनलाई नकारात्मक रुपमा लिन नहुनेमा जोड दिए । ‘विद्यार्थी संगठन विद्यार्थीको हक र अधिकार सुनिश्चित गर्ने संगठन हो । विद्यार्धीमैत्री प्रशासक हुनुप¥यो र रोजगारमुखी शिक्षा, प्रविधिमूलक कक्षा हाम्रो एजेण्डा हो । यस्ता कुरामा बाधा अड्चनदेखिँदा छलफलको माध्यमबाट सामाधान गर्ने प्रयासमा हामी हुन्छौं । चरम धैयर्ताको बाँध टुटेपछि मात्रै आन्दोलनमा उत्रिन्छौं’, उनले भने ।
विप्लव नेतृत्वको अखिल क्रान्तिकारी विद्यार्थी संगठन सप्तगण्डकी बहुमुखी क्याम्पसका संयोजक तथा स्ववियु सभापतिका उमेद्वार महेश चौधरीले लामो समयपछि स्ववियु निर्वाचन हुँदा निर्वाचनको रौनकता हराएको बताए । उनले भने, १४ वर्षपछि चुनाव हुँदैछ । यस बीचमा विद्यार्थी संगठनहरु त्यतिधेरै सक्रिय हुन सकेनन् । यस बीचमा धेरै विद्यार्थीहरु फेरिँदै गए । चुनाव नै नभएपछि विद्यार्थी राजनीतिमा चासो कम र अनविज्ञता त हुने नै भयो । ’
त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुँदै छ । अधिकांश क्याम्पसमा चुनाव हुने निश्चित भएको छ भने कतिपय क्याम्पसहरुमा विवादका कारण चुनावी प्रक्रिया सुरु भएको छैन । कतिपय क्याम्पसमा भने सर्वसम्मत रुपमा नेतृत्व चयन भइसकेको छ ।
नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल (क्रान्तिकारी) ले उपलब्ध गराएको विवरण अनुसार ७० वटा क्याम्पसमा स्ववियु सभापति निर्विरोध चयन भएका छन् । विद्यार्थी संगठनहरुले दाबी गरेअनुसार नेविसंघले १५, अनेरास्ववियुले ३१, अखिल (क्रान्तिकारी) ले २४ वटा क्याम्पसमा निर्विरोध नेतृत्व पाएको छ ।
२०६५ सालयता २०७३ सालमा भने आंशिक अर्थात २६ वटा क्याम्पसमा भने निर्वाचन भएको थियो । बाँकी क्याम्पसहरुमा चुनाव हुन सकेन । भएका २६ वटा क्याम्पस मध्ये अधिकांश क्याम्पसहरु प्राविधिक धारतर्फका थिए । चितवनका प्राय सबै क्याम्पसमा विद्यार्थी संगठनहरुले कुनै न कुनै माग राखेर कहिले तालाबन्दी गर्ने र कहिले तोडफोड गर्ने काम गरिरहेकोले स्ववियु निर्वाचन हुन्छ वा हुँदैन भन्ने अझै अन्योल छ ।
























