चितवन विशेष

चितवनमा सशस्त्र द्वन्द्वपीडित महिलाहरु सम्मानित

Banner

चितवन, फागुन २५-

चितवनमा १० वर्ष लामो माओवादी सशस्त्र द्वन्द्व द्वन्द्वपीडित महिलाहरु सम्मानित भएका छन् ।

द्वन्द्वकै कारण विविध हिंसासँगै शारीरिक र मानसिक यातना भोग्न बाध्य पारिएका महिलाहरुलाई बुधबार सम्मान गरिएको हो ।

११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर आदर्श नारी विकास केन्द्र र आदर्श गृह नेपालले द्वन्द्वकालमा प्रभावित बनाइएका महिलाका भोगाई, संघर्ष र योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरेको थियो । सम्मानित हुनेमा द्वन्द्व प्रभावित महिला जिल्ला सञ्जाल चितवनकी अध्यक्ष पार्वती खड्का, उपाध्यक्ष लालकुमारी सिलवाल, सचिव सपना राना, सहसचिव यमकला चुवाई, कोषाध्यक्ष लक्ष्मी नेपाली, सदस्यहरु दण्डमाया रोका कँडेल, लक्ष्मी अधिकारी, गायत्री महतो, रिता क्षेत्री, लक्ष्मी घले, मीना घिसिङ, रुकमाया अधिकारी र जमुना सेढाइँ रहेका छन् ।
नेपालमा २०५२ देखि २०६३ सालसम्म राज्यपक्ष र तत्कालिन विद्रोही समूह नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बीच भएको शसस्त्र द्वन्द्वको समयमा मानव अधिकार उल्लङ्नबाट पीडित तथा प्रभावित महिलाहरुको सत्य, न्याय, परिपुरण र आत्मसम्मानका लागि द्वन्द्व प्रभावित महिला जिल्ला सञ्जाल चितवनमार्फत् सत्य अभिलेखीकरणसँगै प्रभावित महिलालाई सञ्जालीकरण गरी संक्रमणकालिन न्यायिक प्रकृयामा आवाज उठान गर्न उनीहरुको योगदान अतुलनीय रहेको संस्थाका अध्यक्ष मीना खरेलले बताइन् ।

द्वन्द्वकालमा महिलामाथि भएका हिंसाका घटना र आफ्नो भोगाइलाई बाहिर ल्याउन संघर्षरत द्वन्द्वप्रभावित महिलाहरु सम्मानित बन्न पाउँदा खुसीले गदगद् देखिन्थे । सम्मानपछि बोल्दै सञ्जालकी अध्यक्ष पार्वती खड्काले भनिन्,‘द्वन्द्वकै कारण विभिन्न हिंसामा परियो, परिवारका सदस्य गुमायौ,शारीरिक र मानसिक यातना भोग्न बाध्य भयांै,आफू माथि विभिन्न लान्छना लाग्दा पनि सहेर बस्यौं, बिना गल्ती समाजबाट अपहेलित बन्नु परेको तितो यथार्थलाई मनभित्रै दबाएर मौन बसियो तर अब कति दिन मौन बस्ने ? आफ्नो अधिकारका लागि प्रभावित महिलालाई सञ्जालीकरण गरी अधिकार स्थापित गर्न जागेका छौ, यहाँहरुको साथ हामीलाई चाहिएको छ ।’

दिवसकै अवसरमा विगतमा घरेलु हिंसामा परी कानुनी न्याय पश्चात हिंसा प्रभावित महिला तथा बालबालिकाको न्यायका लागि आवाज उठाउँदै सामाजिक न्यायको आन्दोलनमा अग्रस्थानमा रहेर महिलाविरुद्ध हुने सबै खाले विभेद र हिंसाको अन्त्यका लागि जागरुक गराउन सफल भीमकुमारी जिसी, लक्ष्मी गुरुङ र शुसिला नेपाललाई पनि सम्मान गरिएको छ । यसैगरी बिगतमा घरेलु हिंसामा परी घरेलु हिंसा प्रभावित महिला तथा बालबालिकाको अधिकार र सामाजिक न्यायको आन्दोलनमा समुदाय स्तरमा संघर्षरत अनिता कुमाल पनि बुधबार सम्मानित भएकी छन् ।
यसैगरी नेपाल सरकारको दशौ तह सचिव पदमा पदोन्नति भएकी भरतपुर महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ताकुमारी पौडेल, जिल्ला रेडक्रस सोसाइटी चितवनको जिल्ला सदस्यमा निर्वाचित शारदा शर्मा पौडेल, चितवन जिल्ला बचत तथा ऋण सहकारी संस्थाको सहसचिवमा निर्वाचित रितु गिरी, पुल्चोक साकोसको अध्यक्षमा निर्वाचित मेनका चापागाईलाई पनि सफल एवम् सार्थक कार्यकालको कामना सहित सम्मान गरिएको छ ।

समाजमा उच्च ओहदामा पुगेकालाई मात्र प्रमुख प्राथमिकता दिइएको देखिन्थ्यो तर आजआदर्श नारीले पृथक र भिन्न रुपमा दिवस मनायो । समुदायस्तरमा योगदान गर्ने, भूइँमान्छेका कुरा सुन्ने र सामाजिक आन्दोनमा अनवरत लागिरहने महिलाहरुलाई सम्मान गरेर संस्थाले उदाहरण प्रस्तुत गरेको भरतपुर महानगर स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले बताइन् । अहिलेसम्म कसैले नचिनेको अनुहारहरुलाई एकै ठाउँमा ल्याएर संगठित गरी सामाजिक सम्मान दिनु आफैमा गौरवको कुरा भएको कार्यक्रममा सहभागीको भनाइ थियो ।
कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले देशको राजनीतिक परिवर्तन र सामाजिक आन्दोलनमा नेपाली महिलाहरुको योगदान अतुलनीय रहेको बताए । भरतपुर महानगरपालिका मार्फत् महिलाको सवालमा उठेका विषय सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको समेत उनको भनाइ थियो ।

‘लैंङ्गिक समानताको बलियो आधारः सृजनात्मक प्रविधिमा महिला पहुँचको बिस्तार’ भन्ने नाराका साथ बुधबार देशैभर ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइएको हो । आजभन्दा ११३ वर्ष अगाडिदेखि काम गर्ने समय, श्रमको उचित पारिश्रमिक, मतदान अधिकार समेतको माग गर्दै सुरु भएको महिला आन्दोलन आजसम्म आइपुग्दा पनि महिलाका विविध सवालहरु सम्बोधन हुन सकेको अवस्था छैन ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>