देश/प्रदेश
रवि लामिछानेको पार्टी खारेजको मागसहित अर्को मुद्दा दर्ताको तयारी गरेको छु: अधिवक्ता सफल

काठमाडौं, फागुन २४-
यसअघि रवि लामिछानेको दोहोरो नागरिकता लिएको भन्दै सर्वाेच्चमा मुद्दा दर्ता गरेका अधिवक्ता युवराज सफलले फेरि अर्काे मुद्दा दर्ता गर्ने तयारी गरेको बताएका छन् ।
सफलले राष्ट्रिय स्वतन्त्र पार्टी नै नरहने दाबी गर्दे आफू फेरि अर्को रिट निवेदन लिएर सर्वोच्च अदालत जाने तयारीमा रहेको बताएका हुन् ।
सफलले काठमाडौँमा पत्रकारहरुसँग भने, ‘दल दर्ता गर्ने बेलासम्म पनि रवि लामिछानेसँग नेपाली नागरिकता थिएन भन्ने प्रष्ट भइसक्यो, त्यतिबेला २१ जनाको केन्द्रीय समिति बनाएर दल दर्ता भएको हो । ती २१ मध्ये २० जनामात्र नेपाली नागरिक रहेको र रवि लामिछानेसँग नेपालको वैध नागरिकता नरहेको प्रस्ट छ । २० जनामात्र रहेर पार्टी दर्ता हुन सक्ने प्रावधान नै छैन । कम्तीमा २१ जना नै चाहिने हो ।’
यही विषयलाई लिएर आफूले सर्वोच्च अदालतमा अर्को रिट निवेदन दर्ता गराउने तयारी थालेको उनको भनाइ छ । ‘पार्टी हुनका लागि चाहिने न्यूनतम प्रावधानसमेत पूरा नभएकाले राष्ट्रिय स्वतन्त्र पार्टी कायम रहनु हुँदैन भन्ने मागदाबीसहित अर्को रिट निवेदन दर्ता गर्ने तयारीमा छु,’ उनले भने, ‘यसबारे मैले निर्वाचन आयोगमा पनि निवेदन दिएको थिएँ । आयोगले मलाई पत्र दिइसकेको छ । त्यसैले अब सर्वोच्च अदालतमा जाने तयारी गर्दैछु ।’
राष्ट्रिय स्वतन्त्र पार्टी अवैधानिक रूपमा दर्ता भएकाले खारेज गरी पाउँ भनेर एउटा रिट निवेदन र सो पार्टीले प्रत्यक्ष निर्वाचनतर्फ जितेका ठाउँमा पुनः निर्वाचन गराइपाउन माग दाबी सहित अर्को रिट निवेदन दर्ता गरिने उनी बताउँछन् । राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिकतर्फका सांसदका सन्दर्भमा पनि स्वाभाविक रूपमा प्रश्न उठेको उनले बताए । ‘रवि लामिछानेकै हस्ताक्षरसहितको टिकट लिएर उम्मेदवारी दिएका, समानुपातिकतर्फको बन्दसूचीमा रहेकाहरूको सवालमा स्वाभाविक रूपमा प्रश्न उठ्छ,’ उनले भने ।
वरिष्ठ अधिवक्ता मेघराज पोखरेल भने राष्ट्रिय स्वतन्त्र पार्टीको सन्दर्भमा कुनै अप्ठ्यारो नरहेको दाबी गर्दछन् । उनले भने, ‘दल दर्ता भइसकेको अवस्थामा रवि लामिछानेको नागरिकता वैध नरहेको कुरा अदालतबाट आयो, उहाँ नागरिकता पाउनै अयोग्य भन्ने होइन । अहिले नागरिकता लिइसक्नु भएको छ । त्यसैले यो प्रश्नको खासै अर्थ रहन्छजस्तो मलाई लाग्दैन ।’
पोखरेलका अनुसार रवि लामिछानेमात्र नभएर दर्ताका बखत केन्द्रीय कार्यसमितिका अन्य सदस्यसमेत संलग्न छन् । लामिछानेको नागरिकता त्यतिबेला वैध नरहेको भन्ने सन्दर्भमा जतिबेला अदालतले त्यो फैसला ग¥यो, त्यसपछि स्वाभाविक रूपमा उनको पद जाने तर दललाई कुनै असर नगर्ने पोखरेलको जीकिर छ । अदालतको फैसला अनुसार रवि लामिछानेको पद गुम्नासाथ अर्कोले कार्यकारी अधिकार लिएको र पछि वैधानिक प्रक्रियाबाट नागरिकता लिएर लामिछाने फेरि सभापति पदमा कायम रहन गएको उनले बताए ।
‘कुनै एक जनाले पार्टी दर्ता गर्ने होइन, त्यसमा केन्द्रीय समितिका सदस्यहरूको विवरण खुलाउनु पर्छ,’ उनले भने, ‘जो अयोग्य थियो, अदालतको फैसला अनुसार उसले आफ्नो पद गुमायो, योग्य भएपछि वैधानिक प्रक्रिया अनुसार त्यो पदमा फेरि गयो । त्यसैले सिङ्गो पार्टीलाई एउटा व्यक्तिको कारण असर गर्छ भन्ने लाग्दैन ।’
























