Breaking News

बजेट अभावले व्यवसायिक पर्यटनको केन्द्र बन्न सकेन चितवनको स्याङ्दी झरना

Banner

प्रतिमा कुमाल

चितवन, फागुन २४–

चितवनको सात पालिकामध्ये विकासको दृष्टिकोणले पछि परेको पालिका इच्छाकामना गाउँपालिका हो । जिल्लाको पहाडी क्षेत्रमा पर्ने यस पालिकाको सडक, शिक्षा, स्वाथ्यलगायतमा कम पहुँच छ । तर, पनि प्राकृतिक स्रोतको धनी पालिका मध्येमा पर्छ । यहाँ अहिलेसम्म पहिचान गरिएको ८ वटा प्राकृतिक पर्यटकीय स्थलहरु रहेका छन् । यद्यपि यहाँको अधिकांश पर्यटकीय गन्तव्यहरु आयआर्जनको स्रोत बन्न सकिरहेको छैन । यसकै एउटा उदाहरण इच्छाकामना–७ स्याङ्दीमा रहेको स्याङ्गदी झरना हो ।

आन्तरिक पर्यटकको आकर्र्षण बनेको स्याङ्दी झरनालगायतका झरना अम्दानीसँग नजोडिएको चण्डीथान सामुदायिक वन उपभोक्ता समूह स्याङ्दीका अध्यक्ष जमानसिंह गुरूङले बताए । उनले भने, ‘मान्छेहरु गर्मी महिना लागेपछि पहाडी भेगतर्फ आकर्षित हुन्छन् । जिल्लाको अन्य पालिकाको तुलनामा इच्छाकामना चिसो हावापानी र शीतल भएकाले यहाँ झरना, खोलालगायत स्थानमा पुगेर आनन्द लिन धेरै आउँछन् । तर, यसलाई हामीले आर्थिकसँग जोड्न सकिरहेका छैनौं ।’

स्याङ्दी झरनालाई आर्थिकसँग जोड्ने प्रयासमा उपभोक्ता समूह रहेको गुरुङले बताए । ‘यहाँको मुख्य पेसा कृषि नै हो । यहाँ वर्ष दिन काम गरेर तीन महिना पनि राम्रोसँग खान पुुग्दैन । ज्याला मजदूरी कुल्ली काम गर्न भरतपुर जानुपर्ने अवस्था छ । यस झरनालाई यहाँको रोजगार र आयआर्जनसँग जोड्न सके जीविकोपार्जनको एक स्रोत खुल्थ्यो । त्यसका लागि स्थानीयदेखि हामी लागिरहेका छौं । केही वर्ष पहिले सामुदायिक वनले एक लाख रूपैयाँ बजेट निकासा गरेर झरनासम्म पुग्ने बाटो बनाएका छौं । साथै खोलाबाट कुलो काटेर झार्न सफल भएको थियो’, उनले भने ।

सँगै वडा नं.७ ले झरनाको प्रवद्र्धन गराउने उद्देश्यले एक लाख ५० हजार रूपैयाँ बजेट विनियोजन गरेपछि त्यसैबाट झरनामा पोखरी निर्माण गर्न सफल भएको उनले बताए । अझै व्यवस्थापनका कामहरु बाँकी रहेकाले झरना अवलोकनको शुल्क नलिएको गुरुङको भनाइ थियो । स्याङ्दी झरनालाई व्यवसायीकरण गर्न अझै २० देखि २५ लाख खर्च लाग्ने गुरुङले अनुमान गरे ।

भरतपुरबाट जखडीमाई, सिमलढाप हुँदै स्याङ्दी पुग्न सकिन्छ भने कालिका नगरपालिकाको पदमपुरबाट भालुमारा वा गर्दास हुँदै स्याङ्दी पुग्न सकिन्छ । स्याङ्दी नयाँबारी पुगेपछि झरनासम्म पुग्न करिब १५ मिनेट पैदल हिँड्नुपर्छ । स्याङ्दी झरना प्राकृतिक देनसँगै कृतिम झरनासमेत रहेको छ । बर्खाको समयमा स्याङ्दीे झरनाको मूल ठूलो हुन्छ । तर, हिउँद लागेपछि सुक्ने हुँदा झरनालाई सदाबाहार बनाउन खोलाबाट कुलो काटेर झरनामा मिसाएको छ ।
स्थानीय र स्थानीय सरोकारवालाहरुको ६÷७ वर्षदेखिको प्रयासका कारण विगत तीन वर्षदेखि यस झरनामा मान्छे आउन थालेका हुन् । ‘ तर, प्रचारप्रसार गर्न नसक्दा यसबारे जानकारी गराउन नसकेको स्थानीय अमृत गुरूङले बताए ।

इच्छाकामना गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालले पालिकाको तीन वटा पर्यटकीय स्थललाई मात्र आम्दानीसँग जोड्न सकिएको जानकारी दिइन् । उनले भनिन्, ‘पालिकाले लामो झरना, मनकामना केबलकार र उपरदाङ्गढीलाई मात्र आयआर्जनसँग जोड्न सकेको छ । सिराइचुली, धार्मिक क्षेत्र इच्छाकामना माइको मन्दिर, जलबिरे मन्दिर, त्रिशूली नदी, स्याङ्दी झरना जस्ता पर्यटन क्षेत्रलगायतलाई जोड्न सकेका छैनौं ।’ बजेट कै कारण पर्यटन विकासका लागि प्रचुर सम्भावना बोकेर पनि केही काम गर्न नसकेको उनको भनाइ थियो ।

पालिकाले अहिले लामो झरनाबाट वर्षमा १५ लाखदेखि २० लाख रकम संकलन गर्ने गरेको छ । मनकामना केवलबारबाट वर्षको ६० देखि ७० लाख उठ्ने गरेको सिलवालले जानकारी दिइन् । उपरदाङगढीको आम्दानी भने दुईवटा कर्मचारी पाल्नमात्र सिमित भएको उनको भनाइ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>