चितवन विशेष
चितवनमा बाड्न थालियो राष्ट्रिय परिचयपत्र

चितवन, फागुन २२-
चितवनमा राष्ट्रिय परिचयपत्र वितरण कार्य शुभारम्भ भएको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालय चितवनमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सेवाग्राहीलाई हस्तान्तरण गरी शुभारम्भ गरेकी हुन् ।
शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख दाहालले अबको युग प्रविधिमैत्री भएकाले सबैले परिचयपत्र प्राप्त गर्नुपर्ने औल्याइन् । मेयर दाहालले परिचयपत्र वितरण तथा तथ्याङक संकलनको कामलाई थप प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराइन् । भरतपुर महानगरबासीको सहजताका लागि महानगरपालिका परिसरका छुटै इकाई बनाएर परिचपत्रको कामलाई बढाउन तयार रहेको उल्लेख गरिन् ।
राष्ट्रिय परिचयपत्र नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश गरी बायोमेटिक सुविधायुक्त प्रमाणपत्र हो । नेपाल सरकारले नागरिकका तथ्याङ्कहरुलाई डिजिटल प्रविधिमा राख्न यो कामको थालनी गरेको थियो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले अहिले दैनिक १५ हजार राष्ट्रिय परिचयपत्र छपाइको काम भइरहेको बताए । महानिर्देशक पण्डितले अबको एक वर्षभित्र अभियान नै चलाएर दुई करोड नेपालीको तथ्याङक संकलन गर्नेे र दुई वर्षभित्र सबैलाई परिचयपत्र उपलब्ध गराउने लक्ष्य लिएको बताए । छपाई भएका परिचयपत्रको वितरण कार्य चितवनबाटै सुरु गरिएको उनको भनाइ थियो ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले चितवनमा १५ हजार राष्ट्रिय परिचयपत्र छपाई भएर आएको जानकारी दिए । राष्ट्रिय परिचय–पत्रलाई स्थानीय तहअनुसार सेवा केन्द्र स्थापन गरी वितरण गर्ने कार्यलाई थप प्रभावकारी बनाइने बताए । प्रमुख जिल्ला अधिकारी पौडेलले यसको थालनी भरतपुर महानगरपालिकाबाट सुरु गरी क्रमश सबै पालिकामा विस्तार गर्ने योजना लिएको उल्लेख गरे । अब केही समयपछि कुनै पनि काम गर्दा राष्ट्रिय परिचय–पत्र अनिवार्य चाहिने नियम आउने भएकाले छुटेका र यो सेवाबाट बाहिर भएका नागरिकले सम्बन्धित इकाइमा सम्पर्क राख्न आग्रह गरे ।
























