Breaking News

डा बाबुराम भट्टराईले भने: प्रचण्डमाथि मुद्दा लगाएर माओवादीसँग निहुँ खोजिँदैछ

Banner

काठमाडौं, फागुन २१-

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्री प्रचण्डमाथि मुद्दा लगाउनु भनेको माओवादीलाई जिस्क्यानु रहेको टिप्पणी गरेका छन् ।

आज आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै उनले तीन वर्ष अघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाउ भन्नु माओवादी आन्दोलनलाई जिस्क्याउनु भएको बताए । उनले पछिल्लो समय माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति हाबी भएको आरोपसमेत लगाए । उनले यसको बिरुद्धमा सबै माओवादीहरू एक ठाउँमा उभिन आवश्यक रहेको उल्लेख गरे ।

उनले यस्ता मुद्दाहरुमा सबै माओवादीहरु एक ठाउँमा उभिनुपर्ने आह्वान गर्दै यी मुद्दाहरुमा कार्यगत एकता गरेर अघि बढ्न आवश्यक रहेको बताए । ‘मैले एउटा मन बनाइसकेको छु, नजिकको साथीलाई भनिसकेको छु, हामीले एकै पटक पार्टी एकता मात्रै भनेर गलो मिलाउनु भन्दा पनि पहिला निमर्मतापूर्वक कसले के गल्ती गरेको छ, त्यसको छलफल गरौँ । त्यसपछि मिल्न सक्नेहरु जति एक ठाउँमा आउँ, एउटा पार्टी बनाऔँ । पहिला समय लाग्छ भने एउटा मोर्चा बनाऔँ’, उनले भने, ‘अहिले यत्रो आक्रमण भइरहेको छ । माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति भएको छ, एउटा बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउने हो? यो निहुँ खोजेको होइन ? तीन वर्ष अघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगा भनेर निर्णय गर्नेकुरा भनेको त्या निहुँ खोजेको होइन, जिस्केको होइन त्यो ? यस्ता कुरामा सहकार्य त हामी गर्नसक्छौँ नि । हामी सबै मिलेर किन आवाज निकाल्दैनौँ किन सडकमा निस्किन सक्दैनौं ।’

उनले सक्नेहरू विचार मिल्नेहरु एउटै पार्टी बनाउनुपर्ने भन्दै यस्ता मुद्दामा कार्यगत एकता गर्नुपर्ने आवश्यकता रहेको औल्याए । ‘त्यसो हुनसके फेरि नेपालमा हामीले एउटा अजेय शक्ति निर्माण गर्नसक्छौँ । त्यसले परिवर्तन ल्याउँछ । हाम्रा शहीदहरुको सपना पूरा गर्छ’, उनले भने ।

पूर्वप्रधानमन्त्री भट्टराईले माओवादी विभाजित भए पनि अब मिलेर जानुपर्ने बेला आएको बताए । उनले आफ्नो ठाउँबाट सबैले आफ्ना गल्ती कमजोरीहरु महसुस गरेर अघि बढ्नु नै देश र जनताको लागि कल्याणकारी हुने उल्लेख गरे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>