चितवन विशेष
चितवनमा आजदेखि नेपाली उत्पादनका जुत्ता चप्पल प्रदर्शनी सुरु

भरतपुर,फागुन १७-
चितवनको भरतपुरमा रहेको प्रदर्शनी केन्द्रमा नेपालमा उत्पादित जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको प्रदर्शनी ‘चितवन जुत्ता चप्पल मेला २०७९’ सुरु भएको छ ।
चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा सुरु भएको ‘प्रथम चितवन फुटवयर एक्स्पो’मा १० वटा स्वदेशी उद्योगबाट उत्पादित एक हजार भन्दा बढी प्रकारका जुत्ता चप्पल राखिएका छन् । प्रदर्शनीको उद्घाटन गर्दै भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले जुत्ताचप्पल अनिवार्य जस्तै भइसकेको भन्दै स्वदेशी उत्पादनबाटै आत्मनिर्भर हुनुपर्ने बताउनुभयो । स्वेदशी उत्पादनले विदेशबाट आउने आयातलाई रोक्ने प्रयास गरेको भए पनि विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्नसक्ने गरी नेपाली उद्योगले उत्पादन गर्नुपर्नेमा अधिकारीले जोड दिनुभयो ।
जुत्ताचप्पलका लागि आवश्यक पर्ने कच्चापदार्थ विदेशबाट ल्याउनुपर्ने अवस्थाको अन्त्य गर्दै स्वेदशमै भएका कच्चापदार्थ प्रयोग गरेर नेपाली सामान उत्पादन गर्न पनि अधिकारीले सुझाव दिनुभयो । स्वदेशी सामग्रीबाट जुत्ताचप्पल निर्माण गर्न सकेको अवस्थामा नेपाली मुद्रा विदेशीने क्रम घट्ने उहाँको भनाइ थियो । अगामी चैत १७ गतेसम्म सञ्चालन हुने फुटवयर एक्स्पोमा ४० वटा स्टल रहेका नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिनुभयो ।
स्वदेशी उत्पादनका बारेमा आम उपभोक्तालाई स्थलगत अवलोकन गराई आफ्ना उत्पादनका बारेमा जानकारी गराउने उद्देश्यले एक्स्पो सुरु गरिएको उपाध्यायको भनाइ छ । नेपाली उत्पादनको प्रवद्र्धन गर्नका लागि एक्स्पो सुरु गरिएको हो । नेपाल फुटवयर एशोसिएसनका अध्यक्ष नानीराज घिमिरेले विराटनगर, पोखरा, धरानलगायतका ठाउँमा एक्स्पो सम्पन्न गरी चितवनमा गरिएको बताउनुभयो ।
प्रदर्शनीमा दुई लाखले अवलोकन गर्ने र तीन करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरेको मेला व्यापार कमिटिका संयोजक सुरज वन्जाडेले बताउनुभयो । उहाँले मेलामा विशेष आकर्षक छुटले ग्राहकहरुको भिड हुने दाबी पनि गर्नुभयो । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै आम उपभोक्ताहरुलाई अवलोकन गराउने साथै स्वदेशी गुणस्तरीय उत्पादनको बजार वृद्धि गराउने प्रमुख लक्ष्यका साथ मेला आयोजना गरिएको फुटवयर एशोसिएसन समितिका उपाध्यक्ष रुद्र न्यौपानेले जानकारी दिनुभयो ।
मेलामा बि एफ डियर हिलर बिएपÞm स्पोर्ट्स, शिखर शुज, क्रसरोड, फस्ट वाक, शुजल्याण्ड, रनशुज, भेनस, केटिएम शुज, शिल, हाईलाईपÞm लगायतको ब्राण्डका जुत्ता, चप्पल तथा छालाबाट उत्पादित सामाग्रीहरु राखिएका छन् । चितवन प्रदर्शनी केन्द्रको हलमा उपस्थित भएर हजारौँ जुत्ता अवलोकन गर्दै विशेष छुटमा गुणस्तरीय जुत्ता खरिद गर्न आम जनतालाई मेला व्यापार कमिटीका संयोजक सुरज वन्जाडेले अपिल गर्नुभयो । एक हजार पाँच सय उद्योग रहेको नेपाली जुत्ता चप्पल उद्योगमा ३० अर्ब रुपैयाँको लागानी रहेको छ ।
























