चितवन विशेष

चितवनको भरतपुरमा व्यवसायिक सूर्यमुखी खेती,आन्तरिक पर्यटकको आकर्षण

Banner

चितवन, फागुन १६-

चितवनको भरतपुरमा व्यवसायीक रुपमा सूर्यमुखी खेती गरिएको छ । तेलन बालीअन्तर्गत भरतपुर महानगरपालिका–१५ श्रीपुरमा सामूहिक रुपमा प्राङ्गारिक सूर्यमुखी खेती गरिएको हो । यहाँ अहिले हरेकदिन टिकटक बनाउने, फोटो खिच्ने र घुम्न आउने आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ ।

जिल्लामा रहेका चार जना प्राङ्गारिक किसानहरुको अगुवाइमा पौने तीन बिघा जमिनमा सूर्यमुखी खेती गरिएको कृषक चन्द्रप्रसाद अधिकारीले नारायणी अनलाइनलाई जानकारी दिए । उनका अनुसार कृषि ज्ञान केन्द्र चितवनसँग साढे चार बिघा जमिनमा तेलन बालीका लागि सहकार्य भएकोले पौने तीन बिघामा सूर्यमुखी र बाँकीमा तोरी खेती गरिएको छ । जसमा ज्ञान केन्द्रले बिउँ, मल र सिँचाइमा सहयोग गरेको उनले बताए । १० वर्ष पहिले पनि आफूले जिल्लामा सूर्यमुखी खेती गरेको र बिचका केही वर्ष खेती गर्न छाडे पनि यो वर्षबाट पुनः प्राङ्गारिक सूर्यमुखी खेती गरेको उनको भनाइ छ । उनी भन्छन्, ‘मैले २०३२ सालमा जिल्लामा ५० ग्राम गाजर खेतीबाट कृषि सुरु गरेको हो । चितवन पछिल्लो समय गाजर उत्पादनको व्यापक क्षेत्र पनि भयो । तर, हाल यसको उत्पादन धेरै हुँदा बजार मूल्य नपाउँने र लगानी पनि धेरै लाग्ने भएकोले मैले गाजरको विकल्प दिन सक्ने नगदे बालीको रुपमा तेलन बाली लगाएको हुँ ।’

सूर्यमुखी खेती गर्दा धेरै लगानी गर्न नपर्ने भएकोले लगानी गर्न नसक्ने किसानले पनि यो खेती गर्न सकिने उनले जानकारी दिए । यसरी प्राङ्गारिक सूर्यमुखी खेती गर्नाले किसानले राम्रो मूल्यमा उपभोक्तालाई स्वस्थकर तेल उपलब्ध गराउन सक्ने र मिसावट तेलको बजारलाई यसले नियन्त्रण गर्ने उनले जानकारी दिए । उनी भन्छन्, ‘पछिल्लो समय फूल फुल्न थालेसँगै यहाँ टिकट शुल्क १०० रुपैयाँ तिरेर दैनिक टिकटक बनाउँने, फोटो खिच्ने र घुम्न र खेतीबाली हेर्न पर्यटक आउन थालेका छन् । र उनीहरु यहाँ आउँदा आन्नद महसुस गर्छन् । अहिले यहाँ मह उत्पादनको लागि ६०/६५ मौरीको घार पनि राखिएको छ । जसको कारण मह  पनि राम्रो उत्पादन हुने आफूले विश्वास गरेको उनी बताउँछन् ।

कृषि ज्ञान केन्द्र चितवनकी कृषि अधिकृत सुरुची त्रिपाठीले चितवन र मकवानपुर गरेर दुई क्षेत्रमा १०० हेक्टर जमिनमा तेलन बालीका लागि केन्द्रले सहयोग गरेको जानकारी दिइन । उनले अरु क्षेत्रमा तेलन बालीअन्तर्गत तोरी खेती गरे पनि यहाँका किसान सूर्यमुखी खोतीमा इच्छुक भएकाले उनीहरुलाई केन्द्रले सहयोग गरेको जानकारी दिइन् । त्यस्तै यसरी यहाँका किसानले सूर्यमुखी खेती गर्दै जाँदा अन्य किसानलाई पनि प्रत्साहान मिल्ने उनको भनाइ छ । अहिले नेपालमा शुद्ध तेल नपाइने भएकोले यसरी अर्गानिक खेती गर्नले उपभोक्ता माझ शुद्ध तेल पुग्ने कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>