चितवन विशेष
अनेरास्ववियु सप्तगण्डकीद्वारा रविन्द्र अधिकारीको स्मृतीमा दीप प्रज्वलन

चितवन, फागुन १६–
नेकपा एमालेका नेता स्वर्गिय रविन्द्र अधिकारीको चौँथो स्मृति दिवसको अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सप्तगण्डकी बहुमुखी क्याम्पसले सोमबार क्याम्पस परिसरमा दीप प्रज्ज्वलन गरेको छ । अनेरास्ववियुको पूर्व केन्द्रिय अध्यक्ष अधिकारीले आफ्नो कार्यकालमा गौरवपूर्ण निर्णय गरेको अनेरास्ववियुका विद्यार्थी नेताहरु बताउँछन् ।
अधिकारीबाट विद्यार्थी आन्दोलनले अनुसरण गर्नुपर्ने धेरै कुरा रहेकाले उनको सम्झनाले शोकलाई उर्जामा बदल्न टेवा पुग्ने आयोजक कमिटीले बताएको छ । अधिकारी अखिलको अध्यक्ष रहँदैगर्दा विद्यार्थीलाई यातायातमा ४५ प्रतिशत छुट, शनिबार पनि चलचित्र हलमा छुट, प्राविधिक शिक्षामा जोड लगायतका कयौँ कालजयी निर्णय भएका थिए । साथै पर्यटनमन्त्री रहँदा संस्कृति र पर्यटनका क्षेत्रमा उल्लेख्य कार्य भएका थिए ।
२०७५ फाल्गुन १५ गते पाथिभरा दर्शन गरेर फर्कदा प्रतिकुल मौसमका कारण उनको अल्पायुमा निधन भएको थियो । सोमबारको दीप प्रज्वलन कार्यक्रम अनेरास्ववियुका पूर्व केन्द्रिय कमिटी सचिवालय सदस्य एवम् युवा परिषद् चितवनका संस्थापक अध्यक्ष अश्मिन घिमिरेको प्रमुख आतिथ्यता र सप्तगण्डकी कमिटी अध्यक्ष महेश सापकोटाको अध्यक्षता र विभिन्न नेताहरुको उपस्थितीमा सम्पन्न भएको थियो ।



























