समाज

किरात याक्थुङ चुम्लुङको २४औं राष्ट्रिय सम्मेलन चितवनमा हुने

Banner

चितवन, फागनु ६–

आदिवासी लिम्बु समुदायको साझा संस्था किरात याक्थुङ चुम्लुङको २४औं राष्ट्रिय चुम्लुङ (सम्मेलन) चितवनमा हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी सम्मेलन बारे जानकारी दिइएको हो ।

फागुन ७ र ८ गते भरतपुरको चौबिसकोठीस्थित होटल ग्लोबलमा सम्मेलन हुन लागेको केन्द्रीय उपाध्यक्ष कमल तिगेला लिम्बुले बताए । उनको अनुसार फागुन ७ गते कार्यक्रमको उद्घाटन हुने छ । यस दिन कार्यक्रम स्थलमा भेला भएर लिम्बु÷याक्थुङ आदिवासीहरुको साँस्कृतिक झाँकी सहित बजार परिक्रमा गरी कार्यक्रम स्थलमै उद्घाटन समारोह सम्पन्न भई बन्दसत्र प्रारम्भ हुने उनले बताए ।

लिम्बुहरुको बाहुल्यता भएको ९ वटा जिल्लासहित उपत्यकाका तीन जिल्ला र चितवनगरी १३ जिल्लका प्रतिनिधीहरुको उपस्थिति रहने विज्ञप्तीमा उल्लेख छ । साथै प्रदेश नं. १ का लिम्बुवान प्रदेश कार्यसमिति र बागमती प्रदेशको नेवा ताम्सालिङ प्रदेश कार्य समिति, ६ वटा विषयगत संगठनका प्रतिनिधिहरु, विदेशस्थित चुम्लुङका प्रतिनिधिहरु, सम्बन्धन प्राप्त लिम्बुजन्य तथा थरगत संस्थाका प्रतिनिधिहरु गरी २२८ जना यस कार्यक्रममा सहभागी हुने जनाइएको छ ।

सम्मेलनमा मुकुम्लङ संरक्षण, प्रदेश १ लाई लिम्बुवान बनाउने, किरात नामाङ्करण, लिम्बु याक्थुङ भाषामा शिक्षक दरबन्दी र प्रदेश १ मा लिम्बु भाषालाई सरकारी कामकाजी भाषाको रुपमा कार्यन्वयन गराउने, ऐतिहासिक स्थलहरुको संरक्षण, अमृर्त साँस्कृतिक सम्पदाको सूची निर्माण, समाधि स्थलहरुको संरक्षण लगायतका एजेण्डाहरुमा छलफल गरी प्रस्ताव पारित गरीने केन्द्रीय उपाध्यक्ष लिम्बुले बताए ।

२०७८ सालको जनगणना अनुसार नेपालमा तीन लाख ८७ हजार ३०० लिम्बु समुदायको जनसंख्या रहेको देखिएको छ । पूर्ण तथ्याङ्क आउन बाँकी नै रहेकाले यो संख्या बढ्ने चुम्लुङको विश्वास छ । चितवनमा ८०० देखि एक हजारको हाराहारीमा लिम्बु समुदायको जनसंख्या रहेको किरात याक्थुङ चुम्लुङ चितवनका अध्यक्ष जनक लिम्बुले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>