समाचार

सावधान ! सिलिन्डरलाई बम बन्न नदिऔं

Banner

काठमाडौं,फागुन ५-

ग्यास सिलिन्डरबाट उत्पन्न हुने आगलागी वा अन्य दुर्घटना बढिरहेका छन् । यस्ता घटना दिनहुँ सुनिने गरेका छन् । यस्तो दुर्घटनाका विभिन्न कारणमध्ये म्याद गुज्रिएको सिलिन्डर पनि एक हो । म्याद गुज्रिएको सिलिन्डर प्रयोग गर्दा यसले कुनै पनि बेला बमको रूप लिन सक्ने भएकाले यसमा आमउपभोक्ताले विशेष सर्तकता अपनाउनुपर्ने देखिएको छ ।

म्याद गुज्रिएको सिलिन्डर प्रयोग गर्नु जोखिमपूर्ण हुन्छ । तर, धेरै उपभोक्तालाई सिलिन्डरको म्याद हुन्छ कि हुँदैन वा भए पनि कसरी हेर्ने जानकारी छैन । उपभोक्ताले ग्यास विक्रेताबाट जुन मितिको सिलिन्डर प्राप्त भयो, त्यही सिलिन्डर भान्छामा प्रयोग गरी खतरा निम्ताइरहेका छन् । तर, सिलिन्डरको म्याद परीक्षणतर्फ कसैको पनि ध्यान जाँदैन ।

यसरी थाहा पाउनुपर्छ सिलिन्डरको अवस्था

यसमा सबै जना संवेदनशील नहुँदा घटना घट्ने गरेको छ । त्यसैले आमउपभोक्ताले आफ्नो घरमा प्रयोग भइरहेको ग्यास सिलिन्डर हेर्नुपर्छ त्यसरी हेर्दा माथिल्लो भागमा सिलिन्डर प्रयोग गर्न सकिने अन्तिम मिति लेखिएको हुन्छ । सो मिति हेरेर उपभोक्ता आफैंले म्याद गुज्रिएको छ कि छैन थाहा पाउन सक्छन् । म्याद गुज्रिएको सिलिन्डर फेला प-यो भने तुरुन्तै विक्रेतालाई खबर गरेर साट्न लगाउनुपर्छ । ग्यास उद्योगका सञ्चालकका अनुसार सिलिन्डर उत्पादन भएको मितिबाट १० वर्षसम्म प्रयोग गर्न सकिन्छ ।

१० वर्षपछि सो सिलिन्डरको भारवहन क्षमता छ कि छैन वा त्यो सिलिन्डर प्रयोग गर्न लायक छ कि छैन भनेर हाइड्रोलिक परीक्षण गरिन्छ । सिलिन्डरमा पानीको फोहोराले दबाब दिएर पटकपटक हाइड्रोलिक परीक्षण गर्नुपर्छ । यसरी पटकपटक हाइड्रोलिक परीक्षण गर्दा जबसम्म सिलिन्डर फेल हुँदैन, तबसम्म प्रयोग गरिने र फेल भएपछि नष्ट गर्नुपर्छ । तर, नष्ट गर्नुपर्ने सिलिन्डर प्रयोग गरेमा त्यसले बमको रूप लिएर ठूलो क्षति पु-याउन सक्छ ।

सिलिन्डरको म्याद ग्राहक आफैंले थाहा पाउन सक्छन् । सिलिन्डरको माथिल्लो सतहमा जहाँ रेगुलेटर हुन्छ, त्यसको पछाडिको भागमा म्याद उल्लेख भएको हुन्छ । यस्तो म्याद अंग्रेजीमा लेख्ने गरिन्छ । त्यसलाई राम्ररी हेर्नुपर्छ र सिलिडिरबारे निक्र्यौल गर्न सक्नुपर्छ । आफ्नो भान्छा सुरक्षित राख्ने एउटा उपाय मिति नगुज्रिएको ग्यास सिलिन्डर मात्र प्रयोग गर्ने हो । यसका निम्ति उपभोक्ताले ग्यास खरिद गर्दा अनिवार्य रूपमा सिलिन्डरको मिति हेर्नुपर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>