Breaking News

दिप प्रज्वलन गरी चितवनमा प्रथम सहिद लखन थापाको स्मृति दिवस मनाइयो

Banner

प्रतिमा कुमाल

चितवन, फागुन २-

नेपालकोे प्रथम सहिद क्या. लखन थापा मगरको १४६ औं स्मृति दिवस मनाइएको छ । ७७ वटै जिल्लामा मनाउने क्रममा नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति चितवनले आज (मंगलबार) भरतपुरको चौविसकोठिमा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरी स्मृति दिवस मनाएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल मगर संघ जिल्ल समन्वय समिति चितवनका सचिव सजन मगरले सहिद थापाको त्यागप्रति प्रकाश पार्नुभयो । उहाँले भन्नुभयो, ‘तत्कालिन समयमा नेपाली जनताहरु जंग बहादुर राणाद्वारा गरिएको निरंकुश जहाँनिया शासनको जाँतोमुनि पिल्सिएर बस्नु परेको थियो । जंग बहादुरको अधिनायकवादी हुकुमी शासन विरुद्ध कोही कसैले ‘चुँ’ सम्म गर्न सक्ने स्थिति थिएन । निरंकुश राणा शासनबाट त्रसित नेपाली समाजमा ‘कालको औषधि छैन, हुकुमको जवाफ छैन’ भन्ने आहान नै चलेको थियो । यस्तो अवस्थामा त्यसको विरुद्ध जन स्तरबाट पहिलो पटक विद्रोहोको नेतृत्व गर्ने मान्छे हुन लखन थापा मगर ।’

उनको त्याग र बलिदानका कारण आज हरेक नेपालीले स्वतन्त्र अभिव्यक्ति राख्न सकने अवस्था सिर्जना भएकोमा मगरले जोड दिनुभयो । ‘नेपाल अहिले संघियतामा गएको छ । खुल्ला रुपमा कार्यक्रम गर्न पाउने, बोल्न पाउने अधिकारको जग बसाल्न आवाज उठाउँने पहिलो व्यक्ति सहिद थापा हो ’, उहाँले भन्नुभयो ।

प्रथम सहिदको सम्मानमा नेपाल सरकार चुकेकोमा मगरले दुःख व्यक्त गर्नुभयो । नेपाल मगर संघको अगुवाईमा आन्दोलन भएपछि विस २०७२ आसविन ३ गते लखन थापा मगरलाई नेपालको पहिलो सहिदको दर्जा दिइयो । यस भन्दा पहिला विसं २०५६ सालमा प्रथम सहिद नभनि सहिद मात्र घोषणा गरेको थियो । माघ १६ गते सहिद दिवस मनाउदा थापा बाहेक ४ जना (सहिद शुक्रराज, धर्मभक्तदशरथ चन्द, गंगालाल) को मात्र नाम लिएर सहिद दिवस मनायो । अर्को विणम्बनाको कुरा नेपालको शिक्षा प्रणालीको पाठ्यक्रममा उनको योग्दानको कुनै चर्चा छैन, उहाँको भनाइ थियो ।’

मगरले लखन थापा पहिलो सहिद भन्ने तथ्य मगर समुदायमा मात्र रहन्छकी भन्ने चिन्ता व्यक्त गर्नुभयो । ‘हामी मगर समाजलाई थाहा छ उहाँ प्रथम सहिद भन्ने तर समग्र नेपालीले स्वीकारेको छैन । किन कि राज्य संघै मिडिया र पत्रपत्रिकाले पनि उहाँलाई पहिलो स्थान दिएको छैन’, उहाँले भन्नुभयो

नेपाल मगर संघ जिल्ला समिति चितवनका अध्यक्ष ठाकुर सिंह आले मगरले राज्यले प्रथम सहिदको दर्जा कागजमा मात्र काएम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रथम सहिद कागजमा मात्र घोषणा ग¥यो, व्यवहारमा लागु गरेन ।’प्रथम सहिद थापालाई सहि स्थान दिन मगर समुदाय र संघ लागि परेको प्रति ध्यानाकर्षण गराउनुभयो । ‘विभिन्न समयमा मगर समाजले राज्य सामु प्रस्ताप राख्दै आएको छ । त्यसमा पाठ्य पुस्तकमा जिवनी लेखिनु पर्छ । फागुन २ गते सहिद विदा दिनु पर्छ । सहिद गेटमा प्रथम स्थान दिनुपर्छ लगायत छन्’, उहाँले भन्नुभयो ।

नेपालका प्रथम शहिद लखन थापा मगरको जन्म वि.सं. १८९१ मा गोरखा जिल्लाको शहिद लखन गाउँपालिका वडा नं. ७ स्थित काहुले भंगार भन्ने गाउँ (साविक वुङ्कोट गा.वि.स. वडा नं. ४) मा भएको थियो । आफ्नो माता–पिताको जुम्ल्याहा सन्तानमध्ये कान्छो सुपुत्र भएकाले लखनको वास्तविक नाम लक्ष्मणसिंह थापा राखिएको थियो ।

त्यतिवेला नेपालमा सर्वसाधारण जनताहरुले औपचारिक शिक्षा हासिल गर्नको लागि कुनै व्यवस्था नभएकाले लखन थापाले तेश्रो गोरखा राइफल्समा कार्यरत नातेदारको फेमिली क्वार्टरमा बसेर भारतको अलमोडामा शिक्षा हासिल गरे । नेपाल फर्किएर वि.सं. १९११ मा पुख्र्यौली मगर पल्टन (पुरानो गोरख पल्टन)मा भर्ना भएका थिए ।

तत्कालिन समयमा नेपाली जनताहरु जंग बहादुर राणाद्वारा सुत्रपात गरिएको निरंकुश जहाँनिया शासनको जाँतोमुनि पिल्सिएर बस्नु परेको थियो । जंग बहादुरको अधिनायकवादी हुकुमी शासन विरुद्ध कोही कसैले ‘चुँ’ सम्म गर्न सक्ने स्थिति थिएन ।
नेपालमा जंग बहादुरको निरंकुश शासन रहेको वखत भारतमा अंगे्रजको औपनिवेशिक शासन कायम थियो । १० मे १८५७ ई.सं. को मेरठ गोलीकाण्डपछि भारतमा अंग्रेज उपनिवेशको विरुद्धमा सैनिक विद्रोहको जन्म भयो ।

भारतीय स्वतन्त्रताको पक्षमा भएको विद्रोहले उग्र रुप लिएपछि भारतीय–अंग्रेज सरकारले सैनिक सहायताका लागि नेपालका प्रधानमन्त्री जंग बहादुर राणालाई पत्र लेख्यो । टेक बहादुर खत्रीद्वारा लिखित नेपालको सैनिक इतिहास पुस्तकमा लेखिए अनुसार ई.सं. १८५७ डिसेम्बर १० का दिन जंग बहादुर राणा स्वयम् २७ वटा नेपाली पल्टनको नेतृत्व गर्दै नौ हजार नेपाली सैनिकका साथ भारत प्रस्थान गरे । १० मार्चका दिन जंग बहादुर आफ्नो फौजसहित भारतको लखनउ शहर पुगेको भोलिपल्ट देखि नै अंगे्रज र नेपाली संयुक्त फौजले लखनउका विभिन्न स्थानमा फौजी कारवाही संचालन गरी भारतीय स्वतन्त्रताका निम्ति विद्रोह गर्नेहरुमाथि निर्ममतापूर्वक दमन ग¥यो । पुरानो गोरखा पल्टनसंगै लखनउ पुगेका लखन थापा मगर लगायत नेपाली सेनाका जनप्रेमी व्यक्तित्वहरु यस घटनाबाट क्षुब्ध भए ।

जंग बहादुर राणाले भारतीय जनताद्वारा स्वतन्त्रता प्राप्तिका खातिर गरिएको आन्दोलनलाई दवाउन भारतीय अंग्रेजलाई सहयोग गरेकाले त्यतिवेला नै ‘जंग बहादुरले नेपाल म्लेच्छ (अंग्रेज) लाई बेच्यो भनी लखन थापाले उद्घोष गरेका थिए । स्वतन्त्रताको निम्ति भारतीय जनताहरुले गरेको कठिन संघर्ष र शहादतले लखन थापा मगर लगायतका जनप्रेमी व्यक्तित्वहरुमा राष्ट्रभक्तिको भावना जागृत भई जंग बहादुरको अत्याचारी शासन विरुद्ध संघर्षमा उत्रने दृढता पैदा भयो । जनविद्रोहको लागि उपयुक्त समयको पर्खाइमा रहेका लखन थापामगर आफ्नो सैन्य सीप र कौशलका कारण वि.सं. १९२५ मा १४ वर्षको उमेरमा नेपाली सेनाको क्याप्टेन भइसकेका थिए । तर पनि उनलाई नेपाली सेनाको जागिर जंगबहादुरको विरुद्ध जनएकताद्वारा विद्रोह गर्नको लागि वन्धन महसुस भएकाले पद र भौतिक सुविधाको कुनै प्रवाह नगरी वि.सं. १९२७ सालमा आफ्ना मित्र जयसिंह चुमीलाई साथमा लिई घर विदा लेखाएर सेनाको जागिर छाडी गोरखाको बुंकोट काहुले भंगारमा गए ।

विदा सकियो तर उनीहरु जागिरमा फर्केनन् र जंग बहादुरको शासन विरुद्ध जनताहरुलाई संगठित बनाउने कार्यमा सक्रियतापूर्वक लागे । गोरखाको वुंकोट काहुले भङ्गारमा लखन थापा मगरले स्थानीय जनसमुदायको सहयोगमा एउटा बलियो किल्ला निर्माण गरेका थिए । किल्ला परिसरमा मनकामना माईको प्रतिकात्मक मन्दिर स्थापना गरिएको थियो । उक्त मन्दिरमा दिनहूँ पूजापाठ हुने गर्दथ्यो । लखन थापाले मन्दिरमा पूजापाठका निम्ति आएका जनताहरुलाई एकतावद्ध गरी जंग बहादुरको क्रुर शासन एवम् जनविरोधी कर्तुतहरुको बारेमा जानकारी गराउने र राजनीतिक चेतना प्रदान गर्ने कार्य गर्दथे । बाहिरी रुपमा धार्मिक कार्य भइरहेको भनी प्रचार गरिए पनि भित्र भित्रै जंग बहादुरको अत्याचारी शासन विरुद्ध जनमिलिसिया तयार गर्नेकाम जोडतोडले भै रहेको थियो ।

लखन थापाको सुमधुर बोलीबचन, तार्किक क्षमता र असल व्यक्तित्वले गर्दा छोटो समयमानै जंग बहादुरको विरुद्ध धेरै जनताहरु संगठित भैसकेका थिए । लखन थापाले त्यतिवेला संगठित जनतासामु ‘म सिद्ध लखन थापाको अवतार हुँ । जंग बहादुरले नेपाल म्लेच्छ (अंगे्रज)लाई बेच्यो । दुनियाँलाई त्राही–त्राही पारिरहेको छ । जंगबहादुरलाई हटाएर नेपालमा सुनौलो प्रजातान्त्रिक युग फिराउ भनी मनकामना माताले मलाई आज्ञा दिएकी छन्, लौ भाई हो तयार होऔँ’ भन्ने उद्घोष गरेर जंग बहादुरको दमन, अत्याचार र अन्याय विरुद्ध संगठित रुपमा आवाज वुलन्द गर्न जनताहरुलाई उत्पे्ररित गर्दथे ।

त्यतिवेला धर्म र देवी देवताप्रति आस्था र विश्वास प्रकट गर्ने तत्कालिन नेपाली समाजलाई जनविद्रोहको वृहत अभियानमा सरिक गराउन मनकामनाको प्रसिद्धिलाई पनि रणनीतिक रुपले उपयोग गरिएको थियो । लखन थापाको उक्त रणनीतिक उद्घोषले नेपाली समाजमा गहिरो प्रभाव पार्न सक्यो र जंग बहादुरको विरुद्धमा ठूलो जनमत सिर्जना गर्न सफलता प्राप्त ग¥यो । मनकामना र सिद्ध लखन थापाको प्रसिद्धिलाई आफ्नो विद्रोही अभियानमा जनसमर्थन जुटाउन शहिद लखन थापाले रणनीतिक रुपमा प्रयोग गरेका थिए ।

वि.सं. १९३२ सालमा जंग बहादुरको शासनविरुद्ध एकतावद्ध जनसमुदायले लखन थापालाई प्रधानमन्त्री र जयसिंह चुमीलाई सेनापति घोषणा ग¥यो । यो नै जंग बहादुरको सत्ता विरुद्ध नेपाली जनताद्धारा घोषित पहिलो बैकल्पिक सत्ता थियो । इतिहासकार पदम जंग राणाका अनुसार लखन थापाले हात हतियार सहित पन्ध्र सय मानिसहरु एकत्रित गरिसकेका थिए भने राजधानी गएर हमला गर्ने धम्की समेत दिएका थिए । जंग बहादुरको अन्त्य गरेर नेपालको शासन अधिकार हातमा लिई नेपालको इतिहासमा सुनौलो प्रजातान्त्रिक युग आरम्भ गर्ने लखन थापाको योजना थियो । तत्कालिन समयमा सर्वजित थापा क्षेत्री पिपलथोकमा बसी गोरखाको मुद्दामामिला हेर्दथे ।

उनले गोरखाको बुङ्कोटमा जंग बहादुरको शासन सत्ता विरुद्ध लखन थापाको नेतृत्वमा सशस्त्र जनविद्रोहको तयारी भइरहेको उजुरी जंगबहादुर समक्ष जाहेर गरे । यो सूचना पाएपछि जंगबहादुर क्रुद्ध भए । उनले लखन थापा लगायत उनका सहयोगीहरुलाई पक्रेर काठमाण्डौँ ल्याउन भनी कान्छा भाई धीर शमशेरलाई आदेश दिए । आदेश बमोजिम देवीदत्त पल्टनका सैनिकहरु गोरखा पुगी लखन थापाको किल्लालाई चारैतिरबाट घेरा हाले । देवीदत्त पल्टन र लखन थापाको नेतृत्वको विद्रोही सेनाबीच भिडन्त भयो । भनिन्छ त्यो विद्रोह दवाउन धीर शमशेरलाई पनि हम्मे हम्मे परेको थियो । अन्तमा विद्रोहीहरु पक्राउ परे । उनीहरुलाई बाँसको पिंजडामा कैद गरी यातनापूर्वक काठमाडौँ पु¥याईयो ।

इतिहासकार प्रमोद शमशेर राणाका अनुसार विद्रोहीहरु विरुद्ध थापाथली दरबारमा मुद्दा चलाइयो साथै वर्वरतापूवर्क कोर्रा हानी ठूलो यातना दिइयो । लखन थापा र उनका सहयोगीहरुलाई गोरखा बुंकोट स्थित उनीहरुकै किल्ला परिसरको मनकामना
मन्दिर अगाडि स्थानीय जनसमुदायको उपस्थितिमा झुण्ड्याएर मार्ने फैसला भयो । तर राणा शासक सामुु उनीहरु झुकेनन् । लखन थापालाई राणाशासन विरुद्ध जनताहरुलाई राजनीतिक चेतना प्रदान गरेर जनसंगठन गरी राणातन्त्र विरोधी गतिविधि गरेको आरोपमा राजद्रोहको अभियोग लगाइएको थियो । देवीदत्त पल्टनका सैनिकहरुले मृत्युदण्ड सुनाइएका विद्रोहीहरुलाई गोरखा पु¥याए ।

वि.सं. १९३३ फागुन २ गते सबै भन्दा पहिले विद्रोही नेता लखन थापालाई गोरखा बुंकोटको आफ्नै किल्ला परिसर भित्र प्रतिस्थापन गरिएको मनकामना मन्दिर अगाडिको खिर्राको बोटमा झुण्ड्याएर मृत्युदण्ड दिइयो । सँगसँगै अन्य विद्रोहीहरुलाई पनि बलीमा चढाईयो ।

शहिद लखन गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय,पिपलछाप, घैरुङ्ग, गोरखा जिल्ला, गण्डकी प्रदेश , नेपालको सहयोगमा

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>