Breaking News
धर्म नष्ट हुँदा देश खत्तम भैसक्यो: पूर्वमन्त्री भण्डारी

प्रतिमा कुमाल
चितवन, फागुन १-
पूर्व वनमन्त्री तथा प्रतिनिधिसभा सदस्य शंकर भण्डारीले धर्म नष्ट हुँदा देश खत्तम र जनता बर्वाद भएको प्रति चिन्ता व्यक्त गर्नुभएको छ । नारायणगढको नारायणी नदी किनारमा आयोजितत एक महिने साङ्ग बिराट् श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञलाई सम्बोधन गदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “आज देशको राजनीतिमा कलह झगडा भैरहेको छ । सरकार ५ वर्षसम्म चल्दैन । देश आर्थिक रुपमा तहस नहस भैसकेको छ । नागरिकहरु आर्थिक संकटका कारणले आत्मदाह गर्ने अवस्थामा पुगेका छन् । बैंकले चर्को व्याज लिँदा, जबरजस्ती कर उठाउँदा जनता बाँच्ने अधिकार चाहियो भनेर आन्दोलित हुनुपरेको छ । नेताहरु ठूलठूला भाषण गर्ने, चर्का चर्का कुरा गर्ने, भन्ने बेला सधैँ देश र जनता भन्ने, देश खत्तम भैसक्यो जनता बर्बाद भैसक्यो चिन्ता नगर्ने । धर्म नष्ट हुँदा नै यस्तो भएको हो ।”
धार्मिक पर्यटक नेपाल भित्र्याउन सकेमात्र पनि देशको अर्थतन्त्रमा सुधार आउनेतर्फ उहाँले ध्यानाकर्षण गराउनुभयो । “विदेशी पर्यटकहरु पशुपतिनाथ, मुक्तिनाथ मन्दिर दर्शन गर्न आएमात्र हाम्रो देशको अर्थतन्त्रमा कायापलट हुन्छ”, उहाँले भन्नुभयो । सनातन धर्म, संस्कार, संस्कृति जोगाउन ठूलो चुनौति खडा भएको उहाँले बताउनुभयो । “सनातन धर्म संस्कार संस्कृतिले कोहिप्रति दुर्भाव राख्दैन । सबैप्रति सहअस्तित्व र सहभाव राख्दछ । आधा आकाश ढाक्ने संख्यामा रहेका नारीहरुको सम्मानमा पूजा गर्दछ । त्यस्तो विशिष्ठ धर्म जोगाउन आज ठूलो चुनौति खडा भएको छ । यो देशका ठूला ठूला राजतीतिज्ञहरु कुनै धर्म विशेषको मात्र यहाँ कुरा गर्न हुँदैन भनेर कुरा गर्नुहुन्छ । त्यो कुरा सुन्दा बढो दुःख लाग्छ । नेपाल आमाको कोखबाट जन्मेका हामीले आफ्नो पहिचान, संस्कार, संस्कृतिलाई जब सम्मान गर्दैनौँ । हामी कसरी दुनियाको अगाडि शिर ठाडो बनाएर नेपाली भनेर गर्व गर्न सक्छौँ”, उहाँले प्रश्न गर्नुभयो ।
नेपाली सनातन धर्म प्रति भएको नियोजित प्रहारले विखण्डनको स्थिति ल्याउने चिन्ता भण्डारीले गर्नुभयो । उहाँले भन्नुभयो, “बडा महाराज पृथ्विनारायण शाहको अगुवाईमा सबै जातजाति भाषा भाषी जस्तै मुसलमान समुदाय समेत नेपाल एकीकरण अभियानमा लाग्नुभयो र नेपाल बनाइदिनुभो । त्यो बखतदेखिनै नेपालको धर्म संस्कृति नेपाली बीचको आपसी एकता माया प्रेम र सद्भावलाई खलल पार्नको लागि नियोजित रुपमा गतिविधिहरु सञ्चालन भए र हुँदैछन् । जसले देशमा नयाँ प्रकारको सामाजिक राजनीतिक र भौगोलिक बिखण्डनका अप्ठ्यारा परिस्थिति आउन सक्ने सम्भावना देखिएका छन् । यसको सुरक्षाका लागि हामीहरुले हाम्रो पहिचान, संस्कार, संस्कृति जोगाउन सकेनौँ भने हाम्रो अस्तित्व नरहने परिस्थिति आउने छ ।”
बुद्ध र हिन्दु धर्म फरक हो भन्दै झगडा गर्ने काम भएको भन्दै भण्डारीले दुःख व्यक्त गर्नुभयो । “गौतम बुद्ध नेपालमा जन्मेको हो । हाम्रा ऋषिमुनिको तपस्याबाट ज्ञान लिएर पाठ सिकेर उहाँले तपस्या गरी ज्ञान प्राप्त गरेर बुद्ध हुनुभएको हो । त्यसको आधार वेद हो । तर अहिले नियोजित रुपमा बुद्ध फरक हो हिन्दु फरक हो भनेर झगडा गर्ने काम भैरहेको छ । अर्कोतर्फ क्षेत्री समुदायले कुल देवता मष्टो हो । सनातन धर्म र मष्ठो फरक हो भन्न थालेका छन् । संगठित भएर द्वन्द्व गर्ने काम भैरहेको छ”, उहाँले भन्नुभयो ।
विज्ञान समेत सनातन धर्ममा आधारित रहेको प्रति भण्डारीले जोड दिनुभयो । उहाँले भन्नुभयो, “विज्ञानको विकासको आधार भनेरको वेदको सिद्धान्त हो । हाम्रो जुन वेद छ यसमा भएका जति पनि नीति र सिद्धान्त छन् त्यसको आधारमा आज आधुनिक विज्ञानको विकास भएको हो । नासाका वैज्ञानिकहरुले वेद अनिवार्य पढेको हुन्छन् ।”


























