चितवन विशेष
चितवनका विद्यार्थीहरुले देशमै केही गर्न प्राध्यापक डा शर्माको सुझाव

चितवन, फागुन १-
स्नातक पढ्दै गरेका चितवनका विद्यार्थीहरुले देशमा नै केही गरेर उद्यमशिलताको बाटोमा लाग्न त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राध्यापक डा डिल्लीराज शर्माले अनुरोध गरेका छन् ।
भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसले गरेको बीबीए र बीसीए अध्ययनरत विद्यार्थीहरुको अभिमुखीकरण कार्यक्रममा शर्माले देशमा जस्तो सम्मान विदेशमा नपाइने भएकोले देशमा नै केही नयाँ काम गर्न अनुरोध गरेका हुन् ।
शर्माले भने, ‘समुन्द्रको फोटो देख्दैमा एक्साइटेड नबन, गर्व गरेर हिड्ने वातावरण त्यहाँ छैन । जिन्दगीभर भाडा माझ्ने, बुढाबुढी हेर्ने भन्दा पनि पढेर केही गर्ने बाटोमा लाग्नुपर्छ ।’ उनले आफू विद्यार्थीलाई विदेश नजाऊ त भन्दिन तर पढेर पहिलो दर्जाको नागरिक बन्ने गरी विदेश जान अनुरोध गरे । उनले भने, ‘ हामीले समाज परिवर्तन गर्न सक्छौ, नेपालमा बसेर नै केही गर्न सक्छौं । कतिपय नेपाली ४० डिग्री ५० डिग्री सेन्टिग्रेडमा अरबमा गएर काम गर्न बाध्य छन् । अबको नयाँ पुस्ताले आफूलाई आत्मविश्वासी बनाउँदै जागिर खाने भन्दा पनि जागिर दिने उद्यममा लाग्नुपर्छ ।’ प्राध्यापक डा शर्माले अहिलेको विद्यार्थीहरुमा अनुशासन र पढ्ने बानी हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरे । उनले भने, ‘ आफूले नै केही नयाँ काम गर्ने प्रयास गर । आफ्नो बानी व्यवहारमा पनि सुधार गर । अरुलाई सम्मान गर्न सक्नुपर्छ । मोबाइललाई पनि सही सदुपयोग गर्नुपर्छ । साथी बनाउँदा पनि काम लाग्ने साथी बनाउनुपर्छ । खाली साथीसँग च्याट मात्र गर्ने भन्दा पनि पढाइ र ज्ञान लिनको लागि प्रविधिको उपयोग गर्नुपर्छ ।’ जो कोहीलाई जथाभावी साथी बनाउन भन्दा पनि सधै सँगै बसेर काम गर्ने खालको साथी बनाउन विद्यार्थीहरुलाई सल्लाह दिए ।
अभिमुखीकरण कार्यक्रमको उद्घाटन शत्रमा त्रिभुवन विश्वविद्यालय कार्यकारी सदस्य प्राध्यापक डा महानन्द चालिसेले अबको पढ्ने र पढाउने विधिमा परिवर्तन आउनुपर्ने विचार राखे । उनले पाठ्यपुस्तक मात्र भन्दा पनि व्यवहारिक ज्ञान विद्यार्थीलाई दिन जरुरी भएको बताए । उनले भने, ‘अबको अध्ययनमा केही कन्टेन्टलाई कन्टेक्समा जोड्नुपर्ने भएको छ । कक्षाकोठामा परिवर्तनहरु आउँनुपर्छ । शिक्षकले कोर्सको योजना बनाएर योजनाबद्ध ढंगले पढाउनुपर्छ । विद्यार्थीहरु पनि यसमा सजग हुनुपर्छ । पढ्ने बानीलाई परिवर्तन गर्नुपर्छ । भोलि बजारमा विद्यार्थीले हाम्रो ज्ञान र व्यवहार बेच्ने हो ।’
प्राध्यापक डा चालिसेले दिनको दुई तीन घण्टा अन्तर्राष्ट्रिय आर्थिक समाचारहरु हेर्न विद्यार्थीहरुलाई अनुरोध गरे । उनले अहिलेको पाठ्यक्रममा सेमिनार, फिल्ड वर्कका विषयहरुलाई समावेश गर्दे आजको विश्व परिवेशमा समयानुकुल बनाइएको विचार राखे । प्राध्यापक डा चालिसेले भने, ‘चीनले आर्थिक विकासमा त्यहाँको विश्वविद्यालयको महत्वपूर्ण भूमिका छ । आवश्यकता र समाजअनुसार शैक्षिक पद्धतिको विकास गरेको छ । ’

सप्तगण्डकी प्राध्यापक संघका सभापति नारायण रेग्मीले अबको शिक्षामा आध्यामिकता पनि जोड्नुपर्ने बताए । उनले महाभारत पढ्दा व्यवस्थापनबारे धेरै शिक्षा लिन सकिने बताए । शिक्षामा केही चुनौती र अवसरहरु भए पनि केही गर्न विद्यार्थीले आफूलाई परिवर्तन गरेर अगाडि बढ्नुपर्ने विचार राखे ।
सप्तगण्डकी क्याम्पस सञ्चालक समितिका अध्यक्ष टेकबहादुर थापाले ५० लाख युवा विदेशमा गएको भन्दै देशप्रेम र राष्ट्रियताको भावना नै हराउन लागेको भन्दै चिन्ता व्यक्त गरे । अध्यक्ष थापाको अध्यक्षतामा भएको अभिमुखीकरणको उद्घाटन कार्यक्रममा क्याम्पस प्रमुख मणिराज महतोले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा बीबीए र बीसीएमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरु र शत प्रतिशत विद्यार्थी उतीर्ण गराउन सफल प्राध्यापकहरुलाई सम्मानित गरिएको थियो । बीबीए कार्यक्रम संयोजक अनोज जोशीले संयोजन गरेको कार्यक्रममा सप्तगण्डकी बहुमुखी क्याम्पसका कार्यक्रम प्रमुखहरु, कर्मचारी, प्राध्यापकहरुको पनि उपस्थिति रहेको थियो ।



























