चितवन विशेष
काम नभएपछि नारायणगढ–मुग्लिन सडक मर्मतको ठेक्का तोडियो, नयाँ कम्पनीले काम गर्दै

चितवन, माघ २९–
पटक\पटक म्याद थप गर्दा पनि काममा प्रगति नदेखिएपछि नारायणगढ–मुग्लिन सडक मर्मतको जिम्मा पाएको लोहनी एण्ड सन्स कन्सट्रक्सनसँग ठेक्का सम्झौता तोडिएको छ ।
म्याद थप गरे पनि ठेकेदारले काम बेवारिसे बनाएपछि ठेक्का सम्झौता तोडिएको सडक विभागले जनाएको हो ।
अहिले सो काम लिपी कालिका कम्पनीले सुरु गरेको छ । लोहनी एण्ड सन्स कन्स्ट्रक्सनसँग गतवर्ष वैशाख १४ गते नारायणगढ–मुग्लिन सडकमा मर्मत र पर्खाल बनाउने ठेक्का पाएको थियो । तर कम्पनीले असारसम्म काम सक्ने अवधि भए पनि कुनै काम नै गरेको थिएन । अझै पनि केही ठेक्कामा प्रगति नदेखिएपछि तोड्ने प्रक्रियामा लगिएको सडक विभागले जनाएको छ ।
लामो समयदेखि काम हुन नसकेका र रुग्ण भई काममा प्रगति नदेखिएका ठेक्काहरु तोडिएको सडक डिभिजन कार्यालय भरतपुरका डिभिजन प्रमुख रमेशप्रसाद पौडेलले बताए । उनले भने, ‘ लोहनी एण्ड सन्स कन्सट्रक्सन कम्पनीले पर्खाल र बिग्रिएको पिच मर्मतको लागि उसलाई ठेक्का दिइएको थियो । म्याद छँदै ठेक्का तोडिएको हो । ठेक्का तोडिएपछि यो काम लिपी कालिका कम्पनीले सुरु गरेको छ ।’


























