चितवन विशेष
हाम्रो चित्रवन साकोसको सञ्चालकहरुलाई क्षमता अभिवृद्धि तालिम

चितवन, माघ २६-
हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्था भरतपुर–११ को सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम दिइएको छ ।
चित्रवन साकोसको आयोजना तथा नेफ्स्कुनको प्राविधिक सहयोगमा संस्थाको सञ्चालक,लेखा सुपरीवेक्षण समिति, सेवाकेन्द्र व्यवस्थापन उपसमिति तथा कर्मचारी गरी २९ जनालाई सो चार दिने तालिम दिइएको हो ।
संस्थाका अध्यक्ष तेजेन्द्रबहादुर खड्काको अध्यक्षतामा भएको तालिमको प्रमुख अतिथिमा नेफ्स्कुन उपाध्यक्ष शान्ति अधिकारी रहेकी थिइन् । नेफ्स्कुनका प्राचार्य सन्जयराज तिमिल्सिना र कार्यक्रम अधिकृत कोमलराज अधिकारी मार्फत सहजीकरण गरिएको सो तालिममा वित्तिय बजारमा साकोसको छवि, सञ्चालकको काम कर्तव्य दायित्व, ब्यवस्थापन पक्षबाट सञ्चालकको अपेक्षा, सञ्चालकबाट ब्यवस्थापनको अपेक्षा,बजार खण्डीकरण, सदस्यको आवश्यकता, वस्तु तथा सेवाको विकासबारे अवगत गराइएको थियो ।
बजारीकरण , बित्तिय बजारमा साकोसले ओगटेको क्षेत्र ,वित्तीय व्यवस्थापन , ऋण लगानीका आधार , भाखा नाघेको ऋण ब्यवस्थापन, रणनीतिक योजना, मानव संसाधन ब्यवस्थापन, कानुनी उत्तर दायित्व र सुसाशन एवम् सहकारीमा हुनसक्ने स्रोतको दुरुपयोगका विषयमा पनि तालिममा प्रशिक्षण दिइएको संस्थाका उपाध्यक्ष अनिलराज पौडेलले बताए ।
तालिम समापन गर्दे नेफ्स्कुन उपाध्यक्ष अधिकारीले चितवन जिल्लाकै नमुना साकोसको रुपमा यस हाम्रो चित्रवन साकोस केन्द्रमा समेत चर्चा चल्ने गरेको बताउँदै यस किसिमका तालिमबाट आर्जन गरिएको सीप ब्यवहारमा लागू गर्दा संस्थाको बृत्तिविकासमा कोशेढुङगा साबित हुने धारणा राखिन् । यसैगरी संस्थाका अध्यक्ष खड्काले तालिमले सञ्चालकको क्षमता विकास एवम् समग्र संस्थाकै विकासमा भुमिका खेल्ने बताउँदै सुशासनमा नचलेका कतिपय साकोसहरु भागेका कारण वर्तमान अवस्थामा सहकारी अभियानमा गम्भीर चुनौती थपिएको बताए । तालिमले हाम्रो चित्रवन साकोसलाई थप सुशासन र सुरक्षित राख्न र जोखिम ब्यवस्थापन गर्न सहयोग पुग्ने उनले प्रतिबद्धता ब्यक्त गरे ।


























