Breaking News
विदेश जान सजिलो हुने भएपछि चितवनमा कोर्ट म्यारिज गर्नेको संख्या बढ्यो

निरुता विक
चितवन, माघ २५-
चितवन जिल्ला अदालतमा अदालती विवाह ‘कोर्ट म्यारिज’ गर्नेको संख्या बढ्दै गएको छ ।
अघिल्लो तीन वर्षको तुलनामा चालू आर्थिक वर्षमा अदालती विवाह गर्नेको संख्या बढ्दै गएको हो ।
जिल्ला अदालत चितवनको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७६\०७७ मा जम्मा ७८ जनाले अदालती विवाह गरेका थिए भने २०७७\७८ मा ६० जनाले अदालती विवाह गरे । तर, पछिल्लो आर्थिक वर्षमा २०७८\०७९ मा अदालती विवाह गर्नेको संख्या चितवनमा बढेको छ । यो आर्थिक वर्षमा १६५ जनाले अदालती विवाह गरेका छन् ।
त्यस्तै चालु आर्थिक वर्ष २०७९\०८० को सात महिना अर्थात माघ २४ गतेसम्म १०४ जनाको अदालती विवाह गरेका छन् । गत वर्षको तुलना गर्दा यस आवमा विवाह गर्नेको संख्या जिल्लामा बढ्दै गएको देखिन्छ ।
\जिल्ला अदालत चितवनका शाखा अधिकृत टिकाराम पुनले पछिल्लो समय अदालती विवाह गर्नेको संख्या बढ्दै गएको बताए । वैदेशिक रोजगारीका लागि अदालतबाट विवाह दर्ता गराई गएमा वैदेशिक रोजगारीमा सजिलो हुने भएकाले पनि विवाह गर्नेको संख्या बढ्दै गएको उनले नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘अस्ट्रेलिया, अमेरिका, क्यानडा, युकेलगायत ठूला देश जान अथवा रोजगारीमा सहज हुने भएकाले अदालती विवाह गर्नेको संख्या बढ्दै गएको हो ।’ उनले कतिपय समयमा युवायुवतीको घर परिवारको विवाहको लागि सहमति नहुँदा पनि अदालतमा विवाह गर्ने आउने बताए । उनले भने, ‘प्राय जसो २५ देखि ३० वर्ष उमेरको युवायुवती विवाहको लागि अदालत आउने गर्दछन् ।’
अधिवक्ता पवित्रा सुवेदीले अदालती विवाह गर्नेको संख्या उल्लेखनीय भएको बताइन् । उनले भनिन्, ‘वैदेशिक प्रयोजनका लागि वास्तविक विवाह गर्छन् भने कतिले कागजी विवाह गर्छन्, किनभने कतिपय व्यक्तिहरु गरिबीका कारण पनि विवाह गरी विदेशिन्छन् ।’ पछिल्लो समय समाज परिवर्तित हुँदै जानुले पनि युवायुवतीले अन्तरजातीय विवाह गर्ने, आफैले निर्णय लिने हुँदा अदालती विवाह गर्नेको संख्या बढ्दै गएको उनी बताउँछिन् ।
कहिलेबाट सुरु भयो अदालती विवाह ?
१ साउन २०७५ भन्दा अघि अदालती विवाह जिल्ला प्रशासन कार्यालयमा हुने गर्दथ्यो । नयाँ मुलुकी देवानी संहिता लागू भएपछि भने यस्तो विवाह अदालतबाट हुन थालेको हो ।
किन आवश्यक छ दर्ता (अदालती) विवाह ?
संसारभर नै अदालतले दिएको प्रमाणपत्रलाई विश्वसनीय मानिन्छ । अदालती विवाहको मान्यता विश्वका सबै देशमा हुन्छ । पछिल्लो समय विभिन्न उद्देश्यका लागि विदेशिने नेपालीहरुको संख्या बर्सेनि बढ्दो छ । विदेशमा सहज हुने भएकाले पनि अदालतमा आएर विवाह दर्ता गराउनेहरुको संख्या बढेको अधिकृत पुनले बताए ।
कसरी गर्न सकिन्छ दर्ता (अदालती) विवाह ?
अधिकृत पुनका अनुसार सर्वप्रथम आफू बस्ने वडाबाट सिफारिस अदालतमा पेस गर्नुपर्छ । निवदेनको कागजातमा केटा–केटीको स्थानीय ठेगाना रहेको स्थानीय तहबाट अविवाहित रहेको भन्ने सिफारिस पत्र चाहिन्छ ।
यदि चितवन जिल्ला अदालतमा विवाह दर्ता गरिंदैछ, तर दुवैको स्थायी ठेगाना यहाँ होइन भने जिल्लाभित्रको कुनै ठाउँमा बसोबास गरेको छ भन्ने सिफारिस वडा कार्यालयबाट लिएर आउनुपर्छ । यसका साथै विवाहका लागि दुई जना साक्षी पनि आवश्यक पर्ने उनले बताए । सबै कागजात जुटाइसकेपछि सक्कल नागरिकता प्रमाणपत्र, फोटोसहित इजलासमा पेस गर्नुपर्छ । श्रेस्तेदारले प्रमाणपत्र दिएपछि अदालती विवाह सम्पन्न हुन्छ ।
विवाह गर्न लागेको जोडीमध्ये एक जना विदेशी नागरिक भए नेपाली नागरिकले स्थायी ठेगानाको स्थानीय तहबाट अविवाहित रहेको रिफारिस आवश्यक पर्छ । यस्तै विदेशी नागरिकको हकमा भने सम्बन्धित देशको विवाहसम्बन्धी कानुनलाई नेपालीमा अनुवाद गरेर ल्याउनुपर्छ ।
त्यसपछि सम्बन्धित देशको राजदूतावासबाट अविवाहित रहेको सिफारिस ल्याउनुपर्छ । सबै प्रक्रिया पूरा गरेपछि अदालतको इजलासमा पेस हुन्छ र श्रेस्तेदारले प्रमाणपत्र प्रदान गरेपछि अदालती विवाह सम्पन्न हुन्छ ।


























