Breaking News

चितवनमा सम्बन्ध बिच्छेदका घटना बढे, पीडामा बालबालिका र महिला

Banner

पूजा ढकाल

चितवन, माघ २५-

चितवनमा पछिल्लो समय सम्बन्ध बिच्छेदका घट्ना क्रमिक रुपमा बढ्दै गएको छ ।

दैनिकरुपमा अदालतमा परेका मुद्दालाई अध्ययन गर्दा आर्थिक वर्ष २०७८/७९ को तुलनामा चालू आर्थिक वर्ष २०७९/८० मा जिल्लामा सम्बन्ध बिच्छेदका घट्ना बढ्ने अदालतले प्रक्षेपण गरेको हो ।

जिल्ला अदालत चितवनको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७८/७९ जम्मा एक हजार ३०७ मुद्दा दर्ता भएका थिए । जसमध्ये एक हजार १७९ फैसला भएका छन् भने १२८ अझै फैसला हुनै बाँकी छन् । यस्तै चालू आर्थिक वर्ष २०७९\८० को सात महिना अर्थात माघ २४ गते हिजोसम्म ६९५ सम्बन्ध बिच्छेदका मुद्दा अदालतमा दर्ता भएको छ । जसमध्ये ४५३ फैसला भए भने २४२ फैसला हुन बाँकी छन् । अदालतले गत वर्ष पहिलो सात महिनाको अवधिमा भन्दा यस वर्ष धेरै सम्बन्ध बिच्छेदको मुद्दा दर्ता भएको जनाएको छ ।

जिल्ला अदालत चितवनका शाखा अधिकृत टिकाराम पुनका अनुसार जिल्लामा अघिल्लो दुई वर्षको तुलना गर्दा पनि वार्षिक ५ देखि १० प्रतिशतले समबन्ध बिच्छेदका घट्ना बढ्दै गएका छन् । यस्तै, अदालतमा अघिल्लो वर्ष दर्ता भएका मुद्दामध्ये २८ प्रतिशत सम्बन्ध बिच्छेदका मुद्दा रहेको उनले जानकारी दिए । उनी भन्छन्, ‘ अघिल्लो आर्थिक वर्षमा जम्मा २८ प्रतिशत सम्बन्ध बिच्छेदका मुद्दा यहाँ दर्ता भएका थिए तर यस आर्थिक वर्षको सात महिनामा भने २५ प्रतिशत मुदा दर्ता भएका छन् । सम्बन्ध बिच्छेदका घट्ना दैनिक बढ्दो क्रममा रहेकोले हामीले यस वर्षमा ३५ प्रतिशतसम्म मुर्दा दर्ता हुने अनुमान गरेका छौँ ।’

वैदेशिक रोजगारका कारण श्रीमान् श्रीमतीबीच मनमुटाब हँुदा तथा सामिप्यता नहुँदा, भौतिक आवश्यकता पूरा नहुँदा, एक अर्काबीच विश्वास नहँुदा, सामाजिक सञ्जालको बढी प्रयोग गर्दा, बढी स्वतन्त्रता खोज्दा, कम उमेरमै विवाह गर्दा तथा अन्य विभिन्न पारिवारिक कारणले सम्बन्ध बिच्छेद हुने गरेको पुनले नारायणी अनलाइनलाई जानकारी दिए । अहिले जिल्लामा ४५ देखि ५५ उमेर समूहका केही जोडीको सम्बन्ध बिच्छेदको मुद्दा दता गर्न अदालत आए पनि अधिकांश २५ देखि ४० वर्ष उमेर समूहकै रहेको उनको भनाइ छ ।

त्यस्तै अदालतका शाखा अधिकृत पुनका अनुसार कुनै जोडी आपसी सहमतिमा सँगै बस्न नसक्न भन्दै मुदा दर्ता गर्न आए आजको भोलि पनि सम्बन्ध बिच्छेद हुन्छ । तर, कुनै एक पक्षले असहमति जनाए वा अन्य कारण भए प्रकियामा जाँदा समय लाग्ने उनले बताए ।

पुनका अनुसार अंशको दाबी नगरी शुद्ध सम्बन्ध बिच्छेद गर्दा र अंशको दाबी गर्दा नेपाल सरकारको फरक कानुन छ । त्यस्तै अंशको दाबी गर्नेले कारण अर्थात् मैले यो कारण अंश पाउनु पर्ने, परिवारमा कति जना छ , कुन तरिकाले सबैमा अंश बाड्नु पर्ने भन्ने कारण खुलाउनुपर्ने जानकारी दिए । उनी भन्छन्, ‘ बालबालिका भएको खण्डमा उनीहरुको संरक्षण जसले माग्यो अथवा सानो भए आमासँग राख्न अदालतले अनुमति दिए पनि ठूलो भएपछि भने उनीहरुको धारण बुझेर जो सँग बस्न मन लाग्छ सोही सँग राखिन्छ । ’

पीडामा महिला र बालबालिका

सम्बन्ध बिच्छेदका घटनामा सबैभन्दा बढी समस्यामा महिला र बालबालिका पर्ने गरेका छन् । बालबालिकामा बुबाआमाको सम्बन्ध तोडिँदा एकातिर मानसिक समस्या पर्ने गरेको छ भने अर्काेतिर आर्थिक समस्यामा पनि उनीहरु पर्ने गरेका छन् । पछिल्लो समय जिल्लामा मात्रै नभएर नेपाल अधिराज्यमा दैनिक सम्बन्ध बिच्छेदका घट्ना बढ्दै गएकोले यो चिन्ता र चासोको विषय भएको सरकारले यसबारे सोच्नु पर्ने महिला अधिकारकर्मी मीना खरेल बताउँछिन् । चितवन खुला सिमा भएकोले यहाँ धेरै घट्ना हुने बताउँदै उनले भनिन्, ‘घरेलु हिंसाका कारण पनि सम्बन्ध बिच्छेद हुने गर्छ तर अदातलते भने सम्बन्ध बिच्छेद गर्न जादाँ मेलमिलाप गराएर पुनः सोही घरमा पठाउँदा महिला समस्यामा परेका छन् ।’ त्यस्तै बालबालिकालाई सानोमा आमा सँग राख्न अनुमति दिए पनि पछि ठूलो भएपछि आमा बाबाको सम्बन्ध बिच्छेदको बारे उनीलाई थाहा हुँदा उनीहरुमा मानसिक तनाव देखापर्ने उनले बताइन् । उनले पारिवारिक बिखण्डनले बालबालिकाले राम्रो माया, ममता पाउन नसकेको बताइन् ।

आफ्नो श्रीमानसँग सम्बन्ध बिच्छेद गरेर अलगै बसेकी भरतपुर महानगरपालिका–१३ की ३५ वर्षीय निर्मला शर्माले अर्थिक अवस्था कमजोर भएकोले आफूलाई एक्लै सानो छोराछोरी हुर्काउन निकै कठिन भएको बताइन् । उनले भनिन्, ‘ श्रीमानको कारणले म सम्बन्ध बिच्छेद गर्न बाध्य भए पनि अहिले समस्यामा परेकी छु । नत जग्गाजमिन छ , नत कुनै जागिर नै छ । दैनिक ज्यालादारी गरेर छोराछोरी हुर्काउन मलाई निकै कठिन भएको छ ।’ उनले केटाले जस्तो साना बालबालिका छाडेर वैदेशिक रोजगारीमा जान पनि कठिन भएको बताइन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>