चितवन विशेष

‘सरकारले उत्पादनको बजार सहजीकरण गर्न सकेन’

Banner

प्रतिमा कुमाल,

चितवन, माघ २२-

कृषि प्रधान देशका रुपमा नेपाल परिचित भए पनि यहाँका किसानका समस्याको समाधान हुन सकिरहेको छैन । जसका कारण किसानहरु समय समयमा आन्दोलित हुँदै आएका छन् ।

किसानको मर्काप्रति राज्य र सरोकारवाला निकाय अवगत भएपनि नीति निर्माण गरी कार्यान्वयन गर्न सकिरहेको छैन । विदेशी उत्पादनले बजार कब्जा गर्दा र उत्पादनले सही मूल्य नपाउँदा किसानका उत्पादन खेतबारीमै कुहिने अवस्थामा छन् । राज्यले किसानप्रतिको जिम्मेवारी वहन नगर्दा चितवनका किसानहरुले राजमार्गमै तरकारी फालेर प्रदर्शन गर्न बाध्य भएका छन् ।
भारतीय तरकारीले बजार कब्जा गरेको भन्दै चितवनका किसानहरूले शुक्रबार दिउँसो पूर्वपश्चिम राजमार्ग अन्तरगत नारायणगढस्थित पुलचोकमा तरकारी फालेर प्रदर्शन गरेका थिए ।

किसान संघर्ष समिति चितवनको आयोजनामा टमाटर, काउली, बन्दा, गाजर, फर्सी, घिउसिमीलगायतका तरकारी बोकेका गाडीसहित नारायणगढ पुगेका किसानहरूले सडकमै तरकारी फालेर विरोध गरे । राज्यले उत्पादन गर्न मात्र सहजीकरण गरेकोले बजार नपाएको वसन्त खतिवडाले बताउनुभयो ।

भरतपुर– २६ मा तरकारी खेती गर्दै आउनुभएको खतिवडाले राज्यको दायित्व बेच्नलाई सहजीकरण गर्दिने हो कि होइन भन्ने प्रश्न गर्दै भन्नुभयो, ‘उत्पादन कसरी गर्ने, कसरी उत्पादन बढाउनेमा सरकारी निकायले सहयोग गर्नुभएको छ, हामी मान्छौँ । तर, उत्पादन गर्न मात्र सहजीकरण गर्ने हो कृषिका सम्बन्धीत निकायले ? उत्पादन पछि बिक्रीमा सहजीकरण खोइ ?’ उत्पादित तरकारीको बजारीकरणमा किसान आफै लड्नुपरेको गुनासो खतिवडाले सुनाउनुभयो ।

भारतीय कृषिजन्य उत्पादन सस्तो पर्ने भएकाले विचौलीयाले नाफा बढी खान विदेशी तरकारी भित्राएको उहाँको भनाइ थियो । ‘हाम्रो उत्पादन बारीमा बाँकी रहेको अवस्थामा सस्तो मूल्यमा इण्डियाबाट आउँछ । बीचका व्यक्तिहरुले बढी नफा खान पाउने हुँदा इण्डियन तरकारी खुलेआम ल्याउछन्’, उहाँले भन्नुभयो । विदेशी उत्पादनको कारण स्वदेशी किसानले आफ्नो उत्पादनको मूल्य समेत निर्धारण गर्न नसकेको जीकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘लागत र केही नाफा गरी मेरो उत्पादनको मूल्य यति पर्छ भन्ने समेत ठाउँ छैन । जतिमा माग्छन दिनु परेको छ । नत्र लागतको एक तिहाई मूल्य पनि उठ्दैन ।’ भरतपुर–१८ का हिरालाल पाठकले स्वदेशी उत्पादनलाई प्रोत्साहन नगर्दा किसानले तीन देखि पाँच रुपैयाँ किलोमा तरकारी बेच्न बाध्य भएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘आम्दानीमा कमी हुँदैन यदि स्वदेशी उत्पादनलाई भ्यालु दिए । यहाँ किसानको भाषा राज्यले नबुझ्दा र नबोल्दा विदेशबाट ठेलामठेल आयात भैरहेको छ । नेपाली किसानले पाँच रुपैयाँ किलो काउली, ३ रुपैयाँ किलो टमाटर बेच्नु परेको छ ।’

भरतपुर १६ मा कृषि गर्दै आउनुभएकी धनु अधिकारीले भरतपुर महानगरको तरकारी तथा फलफूल मण्डीले समेत किसानको उत्पादन लिन नसकेको प्रति आक्रोस व्यक्त गर्नुभयो । ‘भरतपुर महानगरपालिकाको मण्डीमा हाम्रो स्वदेशी उत्पादनलाई निरुत्साहन गरेर विदेशी उत्पादनलाई जसरी प्रोत्साहन गरेको छ यसको विरोधमा आन्दोलन हो । हाम्रो नेपाली उत्पादन रहुन्जेल इण्डियन उत्पादनमा रोक लगाउन प¥यो । हाम्रो सामानको उचित मूल्य दिनुप¥यो ।’

अधिकारीले राज्य शासन परिवर्तन भएपनि किसानको समस्या समाधान हुन नसकेको बताउनुभयो । ‘राजतन्त्र फालियो, प्रजातन्त्र आयो त्यसपछि गणतन्त्र आयो । धेरै शासकहरु परिवर्तन भएता पनि हाम्रो राज्य व्यवस्थाले किसानको माग पूरा गर्न सकेको छैन । किसानको समस्या जहाँको त्यहीँ रह्यो’, उहाँले गुनासो गर्नुभयो । किसान जानुका अधिकारीले खेतालालाई दिने ज्याला समेत उठाउन नसक्ने अवस्थामा किसान रहेको सुनाउनुभयो ।

उहाँ भन्नुहुन्छ, ‘खेतमा तरकारी लटरम्मै फलेको छ । आफ्नो बजार भाउ पाएको छैन । सस्तोमा दिँदा पनि विदेशी उत्पादनले बजार ओगटेको छ । खेती गर्दाको अन्य खर्च छोडौँ खेतालालाई दिने ज्याला समेत उठेको छैन ।’ अरविन्द्र सुवेदीले कृषिप्रधान देशको किसानको हविगत चितवनको कृषि आन्दोलनले देखाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेतृत्वमा बसेकाले विश्वलाई चिनाउँदा नेपाल कृषिप्रधान देश भनेर चिनाउनु हुन्छ । हामी किसानको हविगत यस्तो छ । खेतमा हुनुपर्ने किसान अहिले सडकमा आएर आन्दोलन गर्नुपरेको छ । सरकारले कृषिप्रधान देश भन्न अब लाज मान्नुपर्छ ।’ सुवेदीले किसान एकता नभएकाले पनि समस्या आएको प्रति ध्यानाकर्षण गराउनुभयो । ‘हामी माटोमा खेल्यौँ । माटोमै बिलाउँछौं । राज्यले कृषिप्रधान देश भन्यो हामी हो–हो मात्र भन्याँै । आफ्नो दूर्दशा देखाएनौँ । टाउको समायौँ । कतिले आत्महत्या ग¥यौँ । एकता भएर लागेनौँ’, उहाँले भन्नुभयो ।

अब पनि किसान एकता नभए धेरै प्रेम आचार्यले आत्महत्या गर्नेतर्फ उहाँले सचेत पार्नुभयो । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले किसानको उत्पादनले बजार र मूल्य नपाउनु राष्ट्रियस्तरकै क्षति भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘किसानहरुले सडकमा तरकारी फालेर जुन प्रदर्शन गर्नुभयो । यो उहाँहरुको असन्तुष्टिको प्रतिक हो भन्ने हामीले बुझेका छौँ । यहाँका उत्पादनले बजार र मूल्य नपाएर कुहिएर बस्नुपर्ने अवस्था आउनु किसानको मात्र क्षति हुनु होइन, राष्ट्रले पनि क्षति बेहोर्नु हो ।’

अधिकारीले किसानको समस्या व्यवस्थापनमा महानगरको ध्यानआकर्षण भएको बताउनुभयो । पालिकाभित्र भएका किसानको गुनासो दुखेसोको समाधान महानगरले गर्नेमा प्रतिबद्धता जनाउनुभयो । साथै उहाँले महानगरको नगरसभामा पनि यस विषयलाई पहिलो स्थानमा राखिने जीकिर गर्नुभयो । किसान संघर्ष समिति चितवनका संयोजक लेखनाथ भुषालको नेतृत्वमा किसानहरुले आन्दोलन गरेका थिए ।

भुषालले अबको १५ दिन भित्र किसानको माग पूरा नभए नाका र बजारमै कब्जा गरेर बस्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘बजार र उचित मूल्य हाम्रो माग हो । स्वदेशी उत्पादनलाई विदेशी उत्पादनले प्रतिस्थापन गर्न दिन हुँदैन भन्नेमा हामी किसान लागि परेका छाँै । तरकारी सडकमा फालेर प्रदर्शन गर्नु हाम्रो सामान्य चेतावनी मात्र हो । अबको १५ दिन भित्र हाम्रो माग पूरा नभए देशको हरेक नाकामा हामी बस्छौँ । बजारमा हाम्रो कब्जा हुन्छ ।’

यस भन्दा पहिले पनि चितवनका किसाने उत्पादनको उचित मूल्य नपाएपछि सरकारको ध्यानाकर्षण गराउन अण्डा र दूध सडकमा फालेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>