चितवन विशेष

चितवनमा चार लाखले लिए बायोमेट्रिक विवरणसहितको राष्ट्रिय परिचयपत्र नम्बर

Banner

निरुता विक
चितवन,माघ २१–

चितवनमा बायोमेट्रिक विवरणसहितको राष्ट्रिय परिचयपत्र नम्बर लिनेको संख्या करिब चार लाख पुगेको छ । चितवनमा योजना सुरु भएकोे ४ वर्षमा अभियानसहित करिब चार लाख नागरिकले राष्ट्रिय परिचयपत्र नम्बर लिएका हुन् । विस २०७६ असारमा नागरीकले अनिवार्य परिचयपत्र बनाउनु पर्ने नियम लागु भएपनि ०७८ साउनदेखि राहदानी बनाउन परिचयपत्र नम्बर अनिवार्य भएपछि सरकारी कार्यालयमा परिचय पत्र बनाउनेको भिड बढेको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुरेन्द्र पौडेलले जिल्लाका ९७२ नागरिकले मात्रै राष्ट्रिय परिचयपत्रको कार्ड प्राप्त गरेको बताए । उनले जिल्ला प्रशासन कार्यालयमा २०७६ असार र साउनसम्म विवरण संकलन भएको चार हजार परिचयपत्रको कार्ड आएको थियो । तर, चार हजार कार्डमध्ये आधाभन्दा कम नागरिकले मात्रै कार्ड लिएको उनले बतााए । उनले भने, ‘प्रशासनले कार्ड आएको खबर नागरिकलाई जानकारी गराए पनि कार्ड लिन उनीहरु आएका छैनन् । तर, परिचय पत्र नेपाल सरकारको सेवा प्राप्तिका लागि महत्वपूर्ण प्रमाण हो ।’

कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले दैनिक २०० जनाले बायोमेट्रिक विवरण दिएर परिचयपत्र नम्बर लिने गरेका जानकारी दिए । सरकारले दिने परिचय पत्र नागरीकले लिने सेवा प्राप्तका लागि बनाएको उनको भनाइ छ । उनले भने, ‘बायोमेट्रिक विवरण उपलब्ध गराएलगत्तै सरकारले राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध गराउने गर्छ । जुन नम्बरका आधारमा राहदानी बनाउन, मेडिकल अध्ययनका लागि भर्ना हुन, मालपोत, यातायात लगायतको सेवा लिन सहज हुन्छ ।’

पहिले प्रशासनले दैनिक १५० जनाको दरले परिचय पत्रका लागि कोटा खुला गर्दै आएको थियो । तर, माघ १६ गतेबाट सेवालाई सरल, सहज र झन्झटरहित बनाउन दैनिक २०० जनाको कोटा खुला गरिएको उनले नारायणी अनलाइनलाई जानकारी दिए । यस्तै कार्यालयले दैनिक २०० जनाको कोटा खुल्ला गर्दा एकै महिनामा करिब छ हजार जनाले सेवा पाउने उनको भनाइ छ ।

सरकारले राहादानीको लागि परिचयपत्रको नम्बर अनिवार्य गरेपछि ७७ वटै जिल्लामा परिचयपत्र बनाउनेको भिडभाड बढेको उनको भनाइ छ । उनले भने, ‘पहिले प्रशासनसँगै प्रत्येक वडा–वडामा गएर परिचयपत्र बनाउने अभियान सरकारले चलाएको थियो । तर, उक्त अभियानमा परिचयपत्रको महत्वको बारेमा स्थानीयलाई थाहा नभएपछि धेरै छुटे । अहिले सरकारले राहादानीको लागि यसको नम्बर अनिवार्य बनाएपछि र नागरीकमा यसको महत्वको बारे थाहा भएपछि भने परिचय पत्र बनाउनेको संख्या दैनिक बढ्दै छ ।’

पछिल्लो समय टोकन सिस्टम प्रभावकारी
सहायक प्रजिअ पौडेलले पछिल्लो समय टोकन सिस्टम हुँदा नागरिकलाई परिचय पत्र बनाउन सहज भएको बताउँछन् । उनले भने, ‘पहिला टोकन सिस्ट नहुँदा बिहानदेखि बेलुकासम्म लाइन कुर्न पथ्र्याे भने अहिले लाइन बस्नु पर्दैन ।’

भरतपुर महानगरपालिका–८ गौरीगञ्ज घर भएका ललित कुमार मगरले अहिले परिचय पत्र बनाउँदा टोकन सिस्टमले लामो लाइन कुर्नु नपरेको बताउँछन् । उनले भने, ‘अहिले अग्रिम फर्म भर्नुपर्छ । कार्यालयले कहिले उपस्थित हुने भनेर मिति तोक्दिन्छ अनि त्यहि मितिमा गएर पत्र बनाउन सकिन्छ । यसले सजिलो बनाएको छ ।’ उनले टोकन सिस्टमले समयको समेत वचत हुने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>