अपराध

ह्वाट्स एपमा ‘नेपाली गर्ल’ क्लिक गर्दा २० जनाले गुमाए ५१ लाख

०
Banner

काठमाडौं, माघ २१–

‘के तपाई सेक्स पार्टनर खोज्नु भइरहेको छ, अब ढुक्क बस्नु’ ह्वाट्स एपमा आउने यस्तो म्यासेजमा थप भनिएको हुन्थ्यो,‘नेपाली गर्ल एप इन्स्टल गर्नुस् र सेक्स पार्टनर खोज्नुहोस् ।’

अपरिचित नम्बरहरूबाट आउने त्यस्तो म्यासेज पत्याएर ‘नेपाली गर्ल’ क्लिक गर्दा ह्वाट्स एप प्रयोगकर्ताहरूले करिब ५१ लाख गुमाएका छन् । अपरिचित नम्बरमा नेपाली गर्ल एप्स मार्फत कुरा गरेर मोबाइलको डेटा क्याप्चर गर्ने समूहलाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

एप्स इन्स्टल गरेपछि प्रयोगकर्ताको मोबाइलमा ह्याकरले अनधिकृत पहुँच बनाएर डेटा चोरी गर्ने गरेको भेटिएको ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले बताए । एसएसपी शाह भन्छन्,‘अहिलेसम्म २० जनाको बैंक तथा वालेटहरुमा पहुँच बनाएर ५१ लाख चोरेको भेटिएको छ ।’

मंसिर २५ मा साँझ ललितपुरको सातदोबाटोमा बस्ने राम ढकाल (परिवर्तित नाम)को एनआईसी एसिया बैंकको खाताबाट रकम ट्रान्सफर भयो । रकम घट्ने क्रम मध्यरात १ बजेसम्म रोकिएन । उनी प्रहरीकहाँ गए । ढकालको बैंक खाताबाट ४ लाख रुपैयाँ विभिन्न व्यक्तिहरूको नाममा रहेको ई–सेवा र खल्तीमा ट्रान्सफर भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

ढकालले गुमाएको ४ लाख खोज्दै जाँदा प्रहरी मुख्य गिरोहसम्म पुग्न सफल भएको छ ।

योजनाकार राजु पटेल

चोरीको मुख्य योजनाकार पर्साको वीरगन्ज महानगरपालिका–२५ घर भएका २८ वर्षीय राज प्रसाद पटेल हुन् । उनलाई वीरगन्ज घर भएका आइटीका जानकार दुईजना युवकले सहयोग गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

वीरगन्जका २० वर्षीय साहिल परबेज र १९ वर्षीय शिवशंकर राउतले ‘नेपाली गर्ल’ नामको एप बनाएका हुन् । सूचना प्रविधि विभागको जिम्मा साहिल परवेज र शिव शंकर राउतले लिएको अनुसन्धानबाट थाहा भएको छ । उनीहरू दुवैले १२ कक्षा पढेका छन् ।

राम ढकालले गुमाएको पैसाबारे अनुसन्धान गर्दै जाँदा प्रहरी पर्साको विन्दबासिनी घर भएर मकवानपुर बस्ने ३३ वर्षीय नगेन्द्र शाह कानु सम्म पुग्यो । नगेन्द्र पत्नीसँग मकवानपुरमा बस्छन् । पत्नीले टेलर चलाउँछिन् ।

ढकालको खाताबाट चोरी भएको पैसा नगेन्द्रले निकालेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । एसएसपी शाहका अनुसार नगेन्द्रले मकवानपुरमा विभिन्न व्यक्तिहरूको एटिएम कार्ड मागेर कमिसनमा पैसा निकाल्ने गरेका थिए । पैसा निकालेबापत उनले ४ हजार कमिसन लिने गरेको अनुसन्धानबाट थाहा भएको छ ।

नगेन्द्रको बयानका आधारमा अरू ६ जना पक्राउ परेका हुन् । नगेन्द्रको पत्नी २७ वर्षीया रविना चौधरी पनि पक्राउ परेकी छन् । रविनाको बैंक खातामा पनि चोरीको रकम ट्रान्सफर भएको अनुसन्धानबाट थाहा भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>