समाज

सम्पादकीय : जनता निराशा नहुन्

Banner

सरकार गठन भएको एक महिना नहुँदै सत्ता गठबन्धनमा तिक्तता चुलिँदै गएको छ । मन्त्रीपरिषद्को विस्तारसँगै सरकारले गति लिनुपर्ने हो तर सरकारमै सहभागी दलहरुबीच मेलमिलाप छैन । सञ्चारमाध्यमका खबर र सामाजिक सञ्जालमा आम नागरिकका प्रतिकृयाले सरकार र देशको भविष्यबारे राम्रो लक्षण देखिदैन ।

सरकारका लागि ‘सय दिनको मधुमास काल’को अवधारणा पुरानो भइसक्यो । सरकारको कामकाजका आधारमा विरोध गर्न अब कसैले सय दिन पर्खँदैन । सरकार बनेको छोटो समयमै सामाजिक सञ्जालहरुमा व्यापक विरोध भइरहेको छ । सरकार जनताका समस्या समाधान भन्दापनि पार्टीगत स्वार्थमा केन्द्रित भएको देखिन्छ । जसले गर्दा अब त केही परिवर्तन हुन्छ कि भनेर बसेका नागरिकहरु थप निराश बनेका छन् ।

नयाँ उदय भएका पार्टीहरुको पनि प्रारम्भिक अवस्था हेर्दा फेरी देशमा अस्थिरता निम्तने खतरा देखिन्छ । पछिल्लो समय सरकारमा देखिएका विसंगतिहरूका विरुद्धमा सामाजिक सञ्जालमा टिप्पणी व्याप्त भइसकेको छ । विशेषगरी ‘चौथाइ दर्जन’ उपप्रधानमन्त्रीहरूको नियुक्तिदेखि छर्लंगै ‘स्वार्थको द्वन्द्व’ देखिने गरी मन्त्रालय दिनेजस्ता क्रियाकलापको बढी विरोध भएको छ र यसो हुनु अस्वाभाविक पनि होइन ।

ससाना दलहरू मिलाएर सरकार बनाउनुपर्दा र त्यसमा पनि संसद्को तेस्रो ठूलो दलको नेतृत्वमा संयुक्त मन्त्रिपरिषद् गठन हुँदा यस प्रकारको विसंगति केही मात्रामा अपेक्षित नै भए पनि उपप्रधानमन्त्रीको संख्या वा स्वार्थको प्रत्यक्ष द्वन्द्व देखिनु भने उचित होइन । पछिल्लो समय त झन् सरकारमा सहभागी दलहरुबीच नै मन्त्री र मन्त्रालका विषयमा भइरहेको विवादले नेपाली राजनीतिमा थप उथलपुथल हुने देखिन्छ ।

जनतालाई निराश नबनाउने हो भने कम्तीमा पनि सरकारमा सहभागी भएका दलहरुले नागरिकका आधारभूत कुराहरु पूरा गर्ने मुद्दालाई प्राथमिकतामा राख्नुपर्छ । एउटाले अर्कालाई दोष देखाएर उम्कने नेपालको राजनीतिमा पुरानै परिपाटी हो । यसले गर्दा स्वार्थमा लिप्त हुने दलहरुलाई त फाइदै होला तर देश र जनताका निम्ती यो ठूलो गद्दारी हुनेछ । नागरिकले निर्वाचित गराएर पठाएको सत्ता लिप्त हुनका लागि होइन ।

यस्तै अवस्था निरन्तर चलिरहे फेरी जनताले नयाँ विकल्प खोज्ने समय छिट्टै नआउला भन्न सकिदैन । त्यसैले सबै पार्टी र नेताहरुको बेलैमा चेत खुल्न जरुरी छ । अब पनि राजनीतिक नेतृत्व सच्चिन सकेनन् भने जनता सचेत भइसकेका छन् । त्यस कारण पनि जनतामा निराशा उत्पन्न नहुने गरी काम गर्नुपर्ने अहिलेको आवश्यकता छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>