चितवन विशेष
राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सभापतिले दिए राजीनामा,पार्टीमा व्यक्तिवाद हावी भएको आरोप

चितवन,माघ १८-
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन सभापति धर्मेन्द्र सापकोटाले पार्टी भित्र व्यक्तिवाद चरम रुपमा हावी भएको भन्दै राजीनामा दिएका छन् । पार्टी महामन्त्री मुकुल ढकाललाई काठमाडौंमा राजीनामा बुझाएका सापकोटाले पार्टी व्यक्तिवादी हैकम र अराजकतामा चलेकोले त्यस्तोमा बसेर काम गर्न नसकिने निष्कर्षसहित राजीनामा दिएको बताए ।
गत कात्तिकमा चितवन जिल्ल सभापति बनेका सापकोटाले गत मंसिर ४ गतेको निर्वाचन पनि जिल्ला समितिलाई पूर्णयता वाइपास गरेर एकाध झुण्डलाई लिएर चुनावमा परिचालन गरिएको आरोप लगाए । ‘पार्टी सभापति रविलाई नै भेटेर राजीनामा दिने सोच बनाएको थिए, उहाँसँग समय मिलेन’ सापकोटाले भने, ‘महामन्त्रीलाई भन्दा उल्टै चितवनबाट भोट आएन भन्नुभयो, दुई दुई सांसद र सबैभन्दा बढि समानुपातिक मत आएको चितवनलाई नै लान्छना लगाउनुभयो ।’
उनले रवि लामिछानेसहितको टिमले जिल्ला कमिटीलाई वेवास्ता गरेर हिँड्ने गरेको कुनै मूल्यमान्यता र सरसल्लाह र बैठकसमेत नभएको बताए । राजीनामा दिएका सभापति सापकोटाले चुनावभन्दा अगाडिसम्म पार्टी ठिकै भए पनि चुनावपछि भने गतिविधि राम्रो नभएको बताए ।

























