Breaking News
चितवनमा २१ प्रतिशतले बढ्यो राजस्व संकलन, ६ महिनामा ९ अर्ब बढी संकलन

प्रतिमा कुमाल
चितवन, माघ १७ –
आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनले चालु आर्थिक वर्ष २०७९/८० को पुस १७ गतेसम्म ९ अर्ब बढी राजस्व संकलन गरेको छ ।
कार्यालयले दिएको तथ्याङ्क अनुसार ६ महिनाको अवधिमा ९ अर्ब २४ करोड ८४ लाख ५२ हजार आर्थिक संकलन भएको हो ।
पुस मसान्तसम्मको लक्ष्य १३ अर्ब ४४ करोड रहेको कार्यालयका कर अधिकृत तथा सूचना अधिकारी विष्णुबहादुर रावतले जानकारी दिए । चालु आर्थिक वर्षको असार मसान्तसम्म कार्यालयले २६ अर्ब २६ करोड ५९ लाख कर संकलन गर्ने लक्ष्य राखेको छ ।
गत २ आर्थिक वर्षको कर संकलनलाई नियाल्दा २१ प्रतिशत वृद्धि भएको रावतले बताए । उनले भने, ‘आर्थिक वर्ष २०७७\०७८ मा १८ अर्ब ९१ करोडको लक्ष्य थियो । जसमा १६ अर्ब ३९ करोड राजस्व संकलन भयो । २०७८ /०७९ मा २१ अर्ब ७२ करोड लक्ष्य भएकोमा २२ अर्ब दुई करोड संकलन भयो ।
कार्यालयले आयकर, वहालकर, ब्याजकर, मूअ कर, अन्तःशुल्क, स्वास्थ्य सेवा, शिक्षा सेवाबाट कर संकलन गर्दै आएको छ । जिल्लामा अन्तःशुल्कबाट बढी राजस्व संकलन हुने गरेको रावतले बताए । गर्मी बढेसँगै अन्तः शुल्कमा बृद्धि आउने हुँदा कार्यालयले लिएको लक्ष्य पूरा हुने उनले धारणा राखे ।
























