Breaking News
ढल व्यवस्थापनमा भरतपुर महानगरको गम्भीर लापरवाही, आवासीय क्षेत्रमा दुर्गन्धित ढल फालिँदै

चितवन, माघ १७-
भरतपुर महानगरले सही ढंगले ढलको व्यवस्थापन गर्न नसक्दा नारायणगढको क्षेत्रपुर क्षेत्र दुर्गन्धित बनेको छ ।
भरतपुर हाइटबाट सडक छेउबाट ल्याइएको ढल नहरमा फाल्दा क्षेत्रपुर क्षेत्र दुर्गन्धित बनेको हो । त्यस क्षेत्रमा सडक निर्माण हुँदै गरे पनि ढल फालेको एक महिना भन्दा बढी समय भइसकेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।
नहर छेउमा बसोबास गर्ने प्राध्यापक डा धनेश्वर भट्टराईले फेसबुकमा फोटोनै हालेर बस्तीलाई दुर्गन्धित बनाइएको भनेर विरोध गरेका छन् । डा. भट्टराईले भनेका छन्, ‘ दुर्गन्धले बसिनसक्नु भएको छ । बालबालिका डुब्ने खतरा बढेको छ । दिनानुदिन लामखुट्टे उत्पादन क्षेत्र बनेको छ । वरपरका मान्छेलाई संक्रामक रोग हैजा– महामारी लाग्ने अवस्था छ ।’ उनले फोहोर र ढलको व्यवस्थापन हेर्ने निकाय कुन हो भनेर प्रश्न गर्दै महानगरपालिकाले नागरिकको स्वास्थ्यतर्फ ध्यान दिन नसकेको बताएका छन् । उनले महानगरपालिका, सडक विभाग वा टोल विकास जो कोहीको दायित्व भए पनि दुर्गन्धित ढललाई तुरुन्त निकास दिन माग गरेका छन् ।
भरतपुरको उकालो हुँदै बजारतिर झरेको ढल नहरमा फाल्दा ढल बगेर पोखरा बसपार्कसम्म पुगेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मनोज रानाभाटले धेरै लामोसमयदेखि दुर्गन्धित ढल नहरमा फाल्ने काम भइरहेकोले नागरिकले गुनासो गरेको बताए । उनले यसबारेमा मेयर रेनु दाहालसँग पनि कुरा राखेको तर उनले सडक विभागले यस्तो गरेको बताएको नारायणी अनलाइनलाई जानकारी दिए । रानाभाटले भने, ‘यो समस्याको बारेमा फेरि मेयर साबसँग कुरा राख्छु । केही दिन अगाडि उहाँ काठमाडौँ गएकोले कुरा गर्न पाएको छैन । अब यो समस्या समाधानमा पहल गर्छु ।’ फालिएको ढलले क्षेत्रपुर क्षेत्र दुर्गन्धित बनेको छ ।


























