स्वास्थ्य
स्वास्थ्यमा कुनै ‘कम्प्रमाइज’ नगर्नुस् : राज्यमन्त्री कार्की

काठमाण्डौ,माघ १७–
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा। तोसिमा कार्कीले सामाजिक सञ्जालबाट आफ्नै ढङ्गले प्रचार गरी बजारमा विभिन्न खालका औषधिहरूको बिक्री भइरहेको भन्दै नियमन गर्ने संयन्त्र बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
आज मङ्गलवार औषधि व्यवस्थापन विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रममा बोल्दै राज्यमन्त्री कार्कीले फर्मास्युटिकल प्रोडक्ट, न्युट्रासेटिकल प्रोडक्ट्स, कस्मेस्युटिकल प्रोडक्ट्सहरू बजारमा आउनुभन्दाअघि डीडीएमा देखाउनुपर्ने, औषधि विभागमा देखाउनुपर्ने र अनुमति लिनैपर्ने व्यवस्था गर्न आवश्यक भएको बताउनुभयो । उहाँले बजारमा अहिले औषधिहरू जथाभाबी बेच्ने काम भइरहेको भन्दै त्यसलाई नियन्त्रण र नियमन गर्न जरुरी भएको बताउनुभयो ।
राज्यमन्त्री कार्कीले नागरिकसमक्ष प्रत्यक्ष जोडिएको स्वास्थ्यको विषयमा कुनै’कम्प्रमाइज’ गर्न नहुने बताउनुभयो । उहाँले देशभित्रै औषधि उत्पादन हुने प्रबल सम्भावना रहेकाले त्यससम्बन्धी खोज र अनुसन्धान अघि बढाउन आग्रह गर्नुभयो ।
























