Breaking News

छोराछोरी पढाउन भरतपुरको नगरबनमा फोहोर टिप्दै गैँडाकोटकी बिमला

Banner

प्रतिमा कुमाल

चितवन, माघ १०-

‘आँट दिने दाजुभाई छैन, न्याय माग्न कतै गइन’ यती भन्दै उनी फेरि भरतपुरको नगरवनमा फोहोर खोतल्न थालिन् । यो बेथा भरतपुर महानगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आएको नगर वनमा कवाडी संकलन गर्दै आएकी विमला मगरको हो । नाक भरी सिंगान, मुखबाट तरर झरेको ¥याल, वर्षौदेखि ननुहाएको जस्तो शरीरभरी मैलाको टाटा, फोहोरका कारण बटारिएको कपाल हेर्दै घिन लाग्दो मान्छेहरुले सडकमा फालिएका बोतल टिप्दै गरेको त सधै शहरका सडकमा देखिन्छ । यस्तै मानिसले मात्र कवाडी संकलन गर्छन् भन्ने चित्र सबैको मानसपटलमा सजिएको हुन्छ । सडकमा फालिएका बोतल, काटुन संकलन गर्नु उनीहरुको बाध्यता पनि हो । तर, यो चित्र गलत ठहरिन्छ जब बिमलालाई जो कोहीले भेट्छ । बिमलाले कवाडी संकलन गरेर परिवारको जिविकोपार्जनको स्रोत बनाएकी छन् ।

शनिबार मध्यान्न नगरवनमा ट्याक्टर फोहोर झार्न थाल्यो । रातो रंगको सुकिलो कुर्था सुरुवालमा सजिएकी विमला एक कुनामा फोहोरसँग खेल्न थालिन् । उनी हामी जोकोहीले सोचेको भन्दा फरक देखिइन् । गहुँगोरो वर्णको, साना र चिम्सा आँखा, खै कुन्नी के चिन्ताले खिएको शरीर तर अति मिठो मुस्कान उनको विशेषता नै हो । यस्तो दृष्यले सबैको मनमा झनै कौतुहलता बढाउँछ । उनले फोहोरको थुप्रोमा भेटेको नक्कली सुनको झुम्का खुसी हुँदै सबैलाई देखाइन् । यसको डिजाइन राम्रो भएकोले उनलाई निकै मनपरेको सहजै अनुभव गर्न सकिन्थ्यो । मुस्कुराउँदै उनले झुम्का झोलामा राखिन् ।

यसपछि बिमलाले फोहोरको थुप्रो अगाडि उभिएर विस्तारै आफ्नो अतित सम्झँदै भनिन् ‘पेटको भोक मेट्न र छोराछोरी पढाउन घरघरबाट निस्किएको फोहोरमा सिला खोज्छु । घरमा एक छोरी एक छोरा छन् ।’ छिमेकी जिल्ला गैँडाकोटकी विमलाले दुबैलाई बोर्डिङ स्कुलमा पढाएकी छन् । सँगै भतिजोको जिम्मा पनि आफूलेनै लिएको उनले बताइन् । उनले भनिन् ‘छोरी ६ वर्षको छे, छोरा तीन वर्षको । भतिजो उनीहरु भन्दा ठूलो छ । सरकारी स्कुल मेरो घरभन्दा टाढा छ । बच्चाहरुलाई गाह्रो हुन्छ भनेर नजिकको बोर्डिङ स्कुलमा पढाएको छु । एउटै परिवारको तीन जना भएकाले स्कुलले छोरीको पढाइ निःशुल्क गरिदिएको छ ।’ तर एक जनाको आम्दानीले स्कुल र घरको खर्च टार्न मुस्किल हुने गरेको उनले गुनासो गरिन् ।

‘घरमा बुढा आमाबुबा हुनुहुन्छ । भाउजुले एक्लै घरधन्दा देखि बच्चा बच्ची र आमा बुबा स्याहार्नुपर्छ । म एक्लै छु कमाउने । खर्च टार्न मुस्किल छ । बच्चाहरु अलिक ठूलो भएपछि राम्रो सरकारी स्कुलमा भर्ना गर्नुपर्छ की भन्ने सोचेको छु,’ उनले भनिन् ।

बिमलाको जीवन संघर्ष

२५ वर्षकी विमला ६ कक्षा पढ्दै गर्दा उनको दाइको निधन भएको थियो । त्यसपछि उनले कहिलै किताब समाउन पाइनन् । दाइ रहुन्जेल विद्यालय पढ्नको लागि गएको थिएँ । विमलाले सुनाइन् ‘दाइले ज्याला मजदूरी गरी मलाई पढाउनु भयो । घरपरिवारलाई खुवाउनु भयो । बितेपछि आर्थिक भार भयो । पढ्ने की पेट पाल्ने । त्यसपछि अरुकोमा निमेक गर्न थालेँ ।’

यति भनि बिमला फेरि फोहोरको थुप्रोमा हात डुलाउन थालिन् । हास्दै काम गरिरहेकी बिमलाको अनुहारमा एक्कासी उदासिनता देखिन थाल्यो । छुट्टै पीडाले उनको आँखामा बास बस्न थाले । दबिएको स्वरमा कान्छी श्रीमतीसँग श्रीमान् रहेको बताइन् ।
‘मेरो १६ वर्षको उमेरमा बिहे भयो । उसलाई छोराको आश थियो । मैले छोरी जन्माए । डेढ वर्षको अन्तरालमा छोरा जन्मियो । छोरा जन्मेको एक महिना नपुग्दै सौता घरमा भित्र्यायो, त्यसदिन नै म माइतमा आएर बसँे,’ उनले भनिन् । तनहुँको दमौलीमा श्रीमान्को घर रहेको उनले बताइन् ।

श्रीमान्को नाम र श्रीमान् भन्ने शब्द उच्चारण गर्नबाटै घृणा मान्ने बिमलाले आफ्नो विवाह जबरजस्ती भएको निर्धक्क साथ बताइन् । ‘तीजको दिन रिसिङमा मेला लागेको थियो । हामी केटीकेटी तीन जना साथी मिलेर घुम्न गएका थियौं । उसलाई म चिन्दिन थिएँ । कहिले नदेखेको नचिनेको मान्छेलाई मन पराउने कुरो पनि भएन । तर, केटाहरुलाई मन परेपछि जबरजस्ती हुदो रहेछ । बल लगाएर मैले जित्ने कुरा पनि भएन । मेलामै जबरजस्ती गरेर घर पु¥याए । देख्ने कसैले केही गरेनन्’, उनले भनिन् ।’ बिमलाका श्रीमान् पनि मगर हुन् । श्रीमानसँग उनको त्यतिबेला चिनजान नभए पनि उनको भान्जा भने स्कुल पढ्दाको साथी रहेको उनले बताइन् । भान्जा पनि सो बेला मेलामा श्रीमान्सँग आएकाले उसले जालझेल गरेको शंका बिमलालाई छ ।

१६ वर्षको उमेरदेखि यी सब कुरा भोगेकी बिमलाले न्यायको सहयोग भने नलिएको बताइन् । ‘आँट दिने दाजुभाई थिएनन् न्याय माग्न कतै गइन, अर्को तर्फ बिपन्नता र बोल्ने मान्छे थिएन, कानुनको ज्ञान पनि भएन । आमा बुबाको इज्यतको त्रास पनि भयो । अहिलेको जस्तो अवस्था भए म बोल्थँे । अन्यायको लागि लड्थँे ।’

बिहे गरेर ९ वर्ष श्रीमान्सँग बिताए पनि बिमलालाई श्रीमान्को बारेमा धेरै कुरा थाहा छैन । उनी भन्छिन्, ‘उसले के काम ग¥थ्यो थाहा छैन । बोल्न सोध्न डर लाग्थ्यो ।’ श्रीमान्ले छोड्नुको कारण भने बिमला पहिलो सन्तान छोरी र यौनिक असन्तुष्टी मान्छिन् । ‘ पहिलो सन्तान छोरी भयो । गर्भमा बच्चा हुदा यौन सम्पर्क राख्न हुन्न भन्छन् । यस समय सम्बन्ध राखे पनि हामीले सन्तृष्टि दिन सक्दैनौ रे । सुत्केरी भएको एक महिना नहुदै घरमै सौता ल्याउनुभयो,’ उनले सुनाइन् ।

३ वर्षदेखि श्रीमानसँग छुट्टिएर रहे पनि उनको सम्बन्ध विच्छेद भने भएको छैन । हिंसा र बहुविवाहको मुद्दा हालेर आफ्नो समय खेर फाल्न नचाहेको उनी बताउँछिन् । ‘छोरी एकमा छोरा नर्सरीमा पढ्दैछ । हाम्रो सम्बन्ध बिच्छेद भएको छैन । म जिन्दगीमा अगाडि बढीसकेको मान्छे । झमेलामा पर्न चाहान्न र उनीहरुलाई दुःख दिन पनि मन लाग्दैन । तर, छोराछोरीले बुबा खोजे चिनाउन पछि हट्दिन,’ उनले भनिन् ।

महिनामा १६ हजारसम्म आम्दानी

कबाडी बेचेर बिमलाले महिनामा १५ देखि १६ हजारसम्म कमाउने गरेकी छन् । कहीलेकाही सो भन्दा बढी पनि कमाइ हुने उनले बताइन् । भविष्यको लागि बचतसँगै घरखर्च उनले यसैबाट धानिरहेकी छन् । खराब नियतका व्यक्तिबाट जोगिन कबाडीको काम रोजेको उनको भनाइ छ । ‘भारी बोक्न एकदिन सकिएला दुई दिन सकिएला तीन दिनको दिन त थला परिन्छ । महिला भएपछि जोगिन गाह्रो छ । कति खेर कुन खराब मान्छेको आखाँमा परिन्छ थाहा हुदैन । अरुको लागि तल्लो नजरको काम भए पनि मेरो लागि सुरक्षित काम हो,’ उनले भनिन् ।
यस काम गर्नुको अर्को फाइदा पैसाको लागि महिना कुर्नुनपर्ने उनले बताइन् । ‘महिनाभरी हामीजस्तो गरिब मान्छेलाई कसले उधारो दिन्छ । त्यसैले यो काम गर्दा सहज छ । ३–४ दिन कबाडी संकलन ग¥यो बेच्यो । यसरी दैनिक खर्च टार्न सकियो’ उनको भनाइ छ ।

सही संस्कार दिए बुढेसकालमा सन्तानले पाल्छन् भन्ने धारणा राख्ने बिमला अब कुनै पनि पुरुषको नाम आफ्नो नाममा जोड्न चाहन्नन् । ‘एक छोड्यो दुई हुन्छ । दुई छोडी तीन हुँदै घिन हुन्छ । त्यसैले मैले अर्को बिहे गर्ने सोचेको छैन । सबै जना खराब हुदैन भनेर आफ्नो बच्चालाई जोखिममा पार्न पनि चाहन्न । बिहे पछि बच्चलाई हेला र कुटपिट ग¥यो भने फेरि अर्को दुःख आइलाग्छ । जति छ त्यतिमै खुसी छु । राम्रो संस्कार दिदै छु बुढेसकालमा साहारा होलान,’ उनले आशा व्यक्त गरिन् ।

उस्तै व्यथा श्याम र मसिनीको

बिमला जस्तै गोरखा छोपराकका श्याम खड्का पनि नगरवनमा कबाडी संकलन गरिरहेका थिए । उमेरले साथ नदिएपछि मिस्त्री पेसा छोडेर कबाडी टिप्न थालेको उनले बताए । उनले भने, ‘उमेर ढल्कियो भारी भोक्न सक्दिन । जानेको मिस्त्री काम गरु त शरीरले साथ दिँदैन । दुई बुढाबुढी यही काम गर्छौ बिहान बेलुकीको छाक टार्छौ ।’

खड्काको एक छोरा एक छोरी रहेका छन् । दुबैजनको बिहे भइसकेको उनले बताए । छोराछोरी गुहार्न मन नलाग्ने खड्काले बताए । उनले भने, ‘उनीहरु पनि आर्थिक रुपमा संघर्ष गरिरहेका छन् । दिउँसो कमाएर बिहान बेलुका चुलो बाल्ने हो । जतिबेलासम्म शरीरले साथ दिन्छ त्यतिन्जेल उनीहरु माथि बोझ बन्न मन लाग्दैन ।’

यसै क्रममा भरतपुर स्थित जगतपुर घर भएकी मसिना मोक्तान पनि मनको कुण्ठा पोख्न थालिन् । उनले भनिन्, ‘घुम्ती पसलबाट घाटा लागे पछि ६ महिनादेखि साईला छोरा र म कबाडी संकलन गरिरहेका छौं । जेठी बुहारीले छोरी पाको छ । ६ दिन भयो छोडेरआको झलझली याद आको छ । निम्न परिवारको भएपछि घर जोड्नै पर्ने रैछ ।’ दुई नाती पछि उनको बुहारीले तेस्रो सन्तानको रुपमा छोरी जन्माएकी हुन् ।
उमेरले ६० काटिसकेकी मोक्तानका श्रीमान् भने गाउँमै मजदूरी गरिरहेको उनले बताइन् । ‘गाउँमा अहिले प्रसस्त काम छ । त्यहाँको काम सकिएपछि उहाँ पनि यही आउनु हुन्छ । जेठो छोरो घरमै सुत्केरी स्यारसुसार गरिरहेको छ । माइला र कान्छा छोरा परिवार सहित अलग बस्ने गरेको उनले बताइन् ।’ दुई पैसा बचत भए नाता नातिनीको पढाइ लेखाइमा सहयोग पुग्ने मोक्तान बताउँछिन् । कवाडी बेचेर दुई जनाले महिनामा २५ हजार आम्दानी गर्ने गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>