Breaking News
चितवन बन्यो मन्त्री नै मन्त्रीको जिल्ला, साधनसोत जुटाएर विकासमा रुपान्तरण ल्याउने आशा

मधुसूदन दवाडी
चितवन, माघ ४-
चितवन जिल्लाका जनप्रतिनिधिहरुले संघीय सरकारदेखि बागमती प्रदेश सरकारसम्ममा महत्वपूर्ण मन्त्रालय हात पारेका छन् । गोरखाबाट निर्वाचन लडे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनकै स्थायी बासिन्दा हुन् भने स्थायी बसोबास अन्यत्र भए पनि गृहमन्त्री रवि लामिछानेको निर्वाचन क्षेत्र चितवन–२ नै हो । अर्काेतर्फ शहरी विकास मन्त्री विक्रम पाण्डे चितवन–३ का प्रतिनिधिसभाका जनप्रतिनिधि हुन् भने बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया पनि चितवन क्षेत्र नम्बर १ का जनप्रतिनिधि हुन् । यसपटक चितवन जिल्लाले केन्द्रदेखि प्रदेशसम्म मन्त्री नै मन्त्री पाएको छ ।
सबैजना फरक फरक पार्टीबाट मन्त्री भए पनि चितवनका नागरिकहरुको मन्त्रीप्रतिको अपेक्षा बढेको छ । प्रधानमन्त्री प्रचण्ड र शहरी विकास मन्त्री पाण्डे चितवनको विकासलाई राम्रोसँग बुझेका दुई मन्त्री हुन् । प्रधानमन्त्रीसँग देशको साधनस्रोतमा पहुँच बढी हुन्छ । नेपालको विकासको शैली हेर्दा प्राय गरेर मन्त्रीले गर्ने विकास निर्वाचन क्षेत्र केन्द्रित हुने भएकोले पनि धेरै जना मन्त्री भएपछि केन्द्रदेखि प्रदेशसम्मको बजेट धेरै चितवनको पूर्वदेखि पश्चिमसम्म पर्ने आशा गर्न सकिन्छ ।
प्रधानमन्त्री प्रचण्डको छोरी रेनु दाहाल भरतपुरकी मेयर हुन् । त्यसैगरी प्रचण्डको स्थायी बसोबास चितवन नै भएकोले गोरखाबाट उठे पनि उनले चितवनलाई विकासको मुख्य प्राथमिकतामा नै राख्नेछन् । चितवनमा सञ्चालिन ठूला संघीय सरकारको योजना समयमा सम्पन्न गरेर नयाँ योजना थप गर्नमा उनको महत्वपूर्ण भूमिका रहन्छ । अर्काेफेर प्रधानमन्त्री बन्लान् वा नबन्लान् यसपटक भने प्रधानमन्त्रीले काम गर्ने अवसर पाएका छन् । भोलि आफ्नो क्षेत्रमा राजनीतिक र सामाजिक प्रभाव बनाइराख्न पनि चितवनको विकास उनको प्राथमिकतामा पर्नुपर्छ । प्रचण्डले नै चितवनमा रंगशाला निर्माण गर्ने काममा पहल गरेकोले यसलाई पूर्णता दिने दायित्व पनि उनकै काँधमा आएको छ ।
निर्माण व्यवसायमा राम्रो प्रभाव बनाएर चितवनको सञ्चार र सामाजिक सेवामा राम्रो प्रभाव बनाएका शहरी विकास मन्त्री पाण्डेले पनि यसपटक काम गरेर देखाउने राम्रो अवसर पाएका छन् । विशेष त आफ्नो निर्वाचन क्षेत्र पश्चिम चितवन र माडीको विकासमा उनको महत्वपूर्ण भूमिका रहने छ । मतदातासँग विकास भनेकै विक्रम पाण्डे हो भन्ने छाप उनले छाड्दै आएका छन् । माडी जाने सडकलाई पक्की बनाउने देखि निकुञ्ज आशपासको क्षेत्रलाई व्यवस्थित गर्ने सम्मको जिम्मेवारी उनको काँधमा छ । विशेष त चितवनको ३ नम्बर क्षेत्रका नागरिकप्रतिको जवाफदेहिता पाण्डेको बढी छ । उनी व्यक्तिगतरुपमा पनि केही गरेर देखाउन सक्ने सामथ्र्य राख्ने भएकोले नागरिकको उनीप्रतिको अपेक्षा बढेको छ ।
अर्काेतर्फ टेलिभिजनमा सुशासनका कुरा गर्दै राजनीतिमा आएका गृहमन्त्री रवि लामिछानेप्रति पनि चितवन जिल्लाको विकासमा नागरिकको अपेक्षा बढी छ । उनले हिजो बोलेजस्तो आज काम गरेर देखाउन सक्छन् वा सक्दैनन् भन्नेमा नागरिकको चासो छ । उनका सामु नागरिकले ठूलो जिम्मेवारी सुम्पेकोले काम गरेर देखाउने उनको अग्निपरीक्षा हो । लामिछानेको भाषण र केही गरेर देखाउने हुटहुटीलाई नागरिकले विश्वास गरेकोले पनि उनले चितवनको लागि केही नगरी सुखै छैन ।
पूर्वी चितवनबाट राजनीतिमा उदाएका प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जेएन थपलिया चितवन–१ बाट प्रदेशसभामा निर्वाचित भए पनि उनीप्रति समग्र चितवनबासीकै अपेक्षा र आशा छ । विशेष त उनी एमाले चितवनको पूर्वअध्यक्ष र जिल्ला विकास समितिको सभापति भइसकेका नेता भएकोले उनको दायित्व आफ्नो निर्वाचन क्षेत्रमा मात्र नभएर समग्र जिल्लामा नै छ । सबै मन्त्रीले धेरै धेरै बजेट पारेर चितवनको विकासले फड्को मार्ने धेरैको अपेक्षा देखिन्छ । उनीहरु सबैले अवसर पनि पाएका छन् ।
के भन्छन् नागरिक ?
चितवनका अर्थशास्त्रका प्राध्यापक डा केशवभक्त सापकोटाले चितवनका धेरै नेताहरु मन्त्री भएकोले जिल्लामा विकासका लागि धेरै साधनस्रोत आउने आशा व्यक्त गरे । उनले भने, ‘ गृहमन्त्री रवि लामिछानेले सुशासनका कुरा धेरै गरेकोले पनि सुशासन ल्याउन सक्नुपर्छ । उहाँ परीक्षणमा हुनुहुन्छ । कुरा र व्यवहारमा के कति अन्तर पर्छ हेर्न बाँकी छ ।’ गठबन्धनको सरकार भए पनि सबै मन्त्रीहरुले चितवनको लागि राम्रो गरेको हेर्ने रहर जागेको उनले बताए ।
चितवनका शिक्षाविद्ध रमाकान्त सापकोटाले चितवनका सबै मन्त्रीहरुप्रति नागरिकको अपेक्षा बढी रहेको बताए । उनले भने, ‘ म चितवनबाट मन्त्री बन्ने सबैलाई बधाई दिन चाहन्छु । उहाँहरुको चितवनबासीप्रतिको जवाफदेहिता बढी छ । जनप्रतिनिधि आफ्नो निर्वाचन क्षेत्रप्रति जवाफदेही बन्ने प्रचलन रहेकोले पनि सबैले चितवनमा केही नगरी सुखै छैन । यसले स्रोतसाधनप्रति पहुँच बढाउँछ ।’
नारायणी नमुना माध्यमिक विद्यालयका अध्यक्ष टेकबहादुर थापाले देश जसरी अगाडि बढेको छ त्यो अवस्था हेर्दा केही हुन्छ भन्ने आशावादी हुन नसकिने बताए । उनले भने, ‘ चितवनले धेरै जना मन्त्री पाएकोले केही भइदिए त राम्रो हुन्थ्यो तर अझै विकास नहोला भन्नेमा चिन्ता लागेको छ । केही नभई हामी वृद्ध भइयो । युवाहरु ४० लाख बढी विदेशिएका छन् भने कृषिप्रधान देशमा अरबौंको चामल किनेर खानुपरेको छ । यो अवस्था बदल्न त्यती सजिलो छैन ।’ नयाँ चिन्तन र सोचका साथ व्यक्तिगत र दलगत स्वार्थलाई त्यागेर अगाडि बढेमा चितवनको विकास सम्भव नै हुने नागरिकको अपेक्षा छ ।

























