Breaking News
प्रदेश १ मा प्रचण्डको ज्वाईलाई विना विभागीय मन्त्री नियुक्त गरेपछि माओवादीमा असन्तुष्टि

काठमाडौं, पुस ३०-
प्रदेश १ मा नेकपा माओवादी केन्द्रबाट जीवन आचार्यलाई मन्त्री बनाएकोप्रति ‘सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसन’ गम्भीर आपत्ति जनाएको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ज्वाई समेत रहेका आचार्यलाई मन्त्री बनाएपछि पार्टीभित्रै आपत्ति जनाएको हो।
सोमबार मुख्यमन्त्री हिम्कत कार्कीसँग आचार्य पनि विना विभागीय मन्त्री नियुक्त भएका थिए। उनलाई मन्त्रालय तोक्न बाँकी छ। उनलाई मन्त्री नियुक्त गर्दा जनभावना र अहिलेको वस्तुगत आवश्यकतालाई विशेष ख्याल गर्नुपर्ने जातीय, क्षेत्रीय, वर्गीय तथा योगदान एवम् लाल र निपूण, सबै हिसावले आचार्यभन्दा धेरै योग्य अन्य सांसदलाई पाखा लगाइएको आरोप छ।
फाउण्डेसनका महासचिव अटल आचार्यले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यो माओवादी संस्कृति हैन। औपचारिक तर्क गरेर यसको दोष अरू कसैलाई दिन सकिएला तर त्यसो गर्नु सर्वथा गलत हुन्छ, औपचारिकता र अमूर्तताको बहसले सुद्धिकरण र रुपान्तरण सम्भव छैन। व्यवहारतः यसको सम्पूर्ण जिम्मेवारी कमरेड प्रचण्डलाई जान्छ र उहाँले नै लिनु पर्छ।’
माओवादी आन्दोलनमा नेतृत्वको योगदान उल्लेख्य रहेपनि आन्दोलन र परिवर्तनको लागि हजारौं सपूतहरूको बलिदान र लाखौंको समर्पण विना नेतृत्वको योगदान सम्भव नभएको उल्लेख गरेका छन्।
‘इतिहास बदल्न बलिदान दिने तिनै सपूतहरुका सन्तती हुनुको नाताले यो फाउण्डेशन र यसका सदस्यहरुले पनि आवश्यक पर्दा इतिहाँसको रक्षार्थ बगेको रगत जस्तै प्रष्ट देखिने र छुइने भाषामा बोल्नुपर्छ’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तै हुने हो भने हामीले भन्नै पर्ने हुन्छ– लोभी आँखाहरुबाट त्यागी इतिहासको रक्षा हुन सक्दैन। तर त्यसो भन्नु अघि हामी कमरेड प्रचण्डलाई आग्रह गर्न चाहन्छौं – उक्त निर्णय शिघ्रतापूर्वक सच्याउन लगाईयोस्।’

























