Breaking News

लामिछानेसँग चितवनका उद्योगीको छलफल: शक्तिखोर औद्योगिक क्षेत्र सञ्चालनको प्रतिबद्धता

Banner

चितवन, पुस २८-

चितवनका उद्योगीहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग उद्योगीहरुले भोगेका समस्याको बारेमा छलफल गरेका छन् ।

चितवन उद्योग संघको आयोजनामा उद्योग क्षेत्रमा देखिएका वर्तमान समस्या र औद्योगिक विकासका लागि सरकारसँगको अपेक्षा विषयमा आज छलफल भएको हो ।

चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षतामा भएको छलफलमा संघका उपाध्यक्ष युग राज वस्तीले संघले अघि सारेका महत्वपूर्ण परियोजना चितवन प्रदर्शनी केन्द्र, प्रस्तावित शक्तिखोर औद्योगिक क्षेत्र, औद्योगिक पाठशाला, औद्योगिक शिक्षालय, बिक्री केन्द्र, वर्तमान समयमा उद्योगीहरुका समस्या र समाधानकालागि सुझावहरु सहितका विषयमा लामिछानेलाई जानकारी गराएका थिए ।

जानकारीपछि गृहमन्त्री लामिछानेले संघले अघि सारेका परियोजनाहरु निकै महत्वपूर्ण रहेको बताए । आफूलाई चितवनका जनताले दिएको मतको कदर गर्दै आफूले उद्योगीहरुको समस्यालाई समाधान गर्ने मुख्य लक्ष्य लिएको समेत उनले बताए । कालिका नगरपालिकामा डीपीआर र ईआईए समेत भई अगाडि बढिरहेको प्रस्तावित शक्तिखोर औद्योगिक क्षेत्रका बारेमा आफूहरुले अगाडि देखिनै चासोका साथ हेर्दै आइरहेको उनले बताए । उनले शक्तिखोर औद्योगिक क्षेत्र विशेष प्राथमिकतामा राखेकोले आफ्नो कार्यकालमा यसको सञ्चालनको लागि आफू पूर्ण रुपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा गृहमन्त्री लामिछानेले संघले अघि सारेको औद्योगिक पाठशालाले पक्कै पनि औद्योगिक प्रबद्र्धनमा ठूलो टेवा पुग्ने हुँदा उक्त परियोजनालाई विशेष महत्वका साथ विस्तृत अध्ययन गरी अगाडि बढाउने प्रक्रियामा आफूहरु सकारात्मक रहेको समेत बताए ।
कार्यक्रममा संघका अध्यक्ष त्रिलोचन कँडेलले संघले शक्तिखोर औद्योगिक क्षेत्रका बारेमा तयार पारेको सञ्चालन प्रस्तावपत्र, चितवन उद्योग संघका पूर्वअध्यक्ष ताराप्रसाद पौडेलले कंक्रिट मिक्स्चर मेशिन उत्पादक उद्योगीहरुले झेल्नु परेका विविध समस्याहरुको समाविष्ट गरी तयार पारिएको सुझावपत्र गृहमन्त्री रवि लामिछानेलाई पेस गरेका छन् ।

छलफल कार्यक्रममा चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेल, चितवन उद्योग संघका पूर्वअध्यक्षहरु हरिप्रसाद सुवेदी, भीमबहादुर पाण्डे, भेषराज दुवाडी, कृष्णप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायणप्रसाद अधिकारी, कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरुलगायतका उद्योगीहरुको उपस्थिति रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>