Breaking News
बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले माघ ३ मा विश्वासको मत लिने

पुस २७-
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले माघ ३ गते विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुखबाट पुस २६ गते मंगलबार दुई मन्त्रीसहित शपथ लिएका मुख्यमन्त्री जम्कट्टेलले माघ ३ गते विश्वासका मत लिने भएका हुन् ।
बागमती प्रदेश सरकारका प्रवत्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले मुख्यमन्त्रीले विश्वासको मत लिने निर्णय भएको जानकारी दिए । उनले विश्वासको मत लिने काम एउटा अनिवार्य प्रक्रिया भएकाले छिट्टै सक्न चाहेको बताए ।
‘सरकार गठन भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हो । तर गठबन्धनबाट बनेको सरकार भएकाले मन्त्रालय भागवण्डा लगाएत अन्य धेरै काम गर्नुपर्ने भएकाले विश्वासको मत लिने काम छिट्टै सक्ने निर्णय भएको छ ।’ सरकारका प्रवक्ता समेत रहेका मन्त्री थपलियाले भने । माघ तीन गते विश्वासको मत लिने बारेमा प्रदेश सभा सचिवालयलाई समेत जानकारी गराइसकिएको उनले बताए ।
मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रालयको संख्यासँगै बाँडफाड पनि टुंग्याइने प्रवक्ता थपलियाले जानकारी दिए । उनले प्रदेशमा रहेका १४ वटा मन्त्रालयलाई घटाएर ११ मा ल्याउँने तयारी भइरहेको पनि बताए । यसअघि हिजो मंगलबार बसेको प्रदेश सरकारको पहिलो बैठकले प्रदेशको १४ वटा मन्त्रालयलाई घटाउने निर्णय गरेको थियो ।
उक्त विषयमा अध्ययनका लागि प्रमुख सचिव मुकुन्द प्रसाद निरौलाको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय समेत गरेको छ। सो कार्यदललाई आगामी १५ दिनभित्र प्रतिवेदन तयार पारी पेस गर्न निर्देशन समेत दिइएको छ।यसैगरी बागमती प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले पनि विश्वासको मत लिने सम्बन्धमा मुख्यमन्त्री कार्यलयबाट पत्र प्राप्त भइसकेको जानकारी दिए ।
























