राजनीति
पृथ्वी जयन्तीमा बिदा दिने सरकारको निर्णयप्रति जसपा अध्यक्ष यादवको विरोध

काठमाडौं,पुस २६-
गृह मन्त्रालयले पुस २७ गते नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्म दिनका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ
मन्त्रालयले आज सूचना जारी गरी पुस २७ गते देशभर र विदेशस्थित राजदूतावास तथा कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी गराएको हो । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले पृथ्वी जयन्तीको दिन सार्वजनिक विदा दिने निर्णय यही पुस २५ गते गरेको थियो ।
सरकारको उक्त निर्णयमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले विरोध जनाएका छन् । यो निर्णय जनआन्दोलनको मर्म र भावना विपरीत भएको र यसबाट विविधतामा एकता नभई एकतामा विभेद उत्पन्न गर्ने यादवको दावी छ ।
जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार अध्यक्ष यादवले राजतन्त्रात्मक निरंकुश पञ्चायती व्यवस्थाले स्थापित गरेको पृथ्वी जयन्तीलाई प्रचण्ड सरकारले पुनर्स्थापित गर्नु जनआन्दोलनको मर्म र भावना विपरीत कार्य भएको बताएका छन् ।
























