Breaking News
चितवन महोत्सव परिसरमा ‘मेड इन नेपाल’ एक्स्पो २०७९ आजदेखि सुरु हुँदै

चितवन, पुस २६–
१४औँ चितवन महोत्सव अन्तर्गत ‘मेड इन नेपाल’ एक्स्पो २०७९ आजदेखि सुरु हुँदै छ । नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरले चितवन महोत्सवको मुख्य गेटनजिक एक्स्पोको आयोजना गरेको छ । यहाँ नेपालमा उत्पादित वस्तु मात्रै प्रदर्शन गरिएको छ ।
एक्स्पोको आज बिहान ११ बजे आधिकारिक रुपमा उद्घाटन गरिँदै छ । भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम छ । एक्स्पोमा ४० वटा स्टल रहेका छन् ।
सोमबार चितवन महोत्सवको उद्घाटन पश्चात भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठलगायतले मेड इन नेपाल एक्स्पोको निरीक्षण गरेका थिए ।
एक्स्पोमा सबै प्रदर्शक आइसकेको नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरका अध्यक्ष सूर्यभक्त अधिकारीले जानकारी दिए । एक्स्पोमा युवा उद्यमीहरु बीच ‘बिजनेश आइडिया’को विषयमा प्रतिस्पर्धा पनि हुने छ । उत्कृष्ट कार्य योजना पेश गर्ने उद्यमीलाई एक लाख रुपैयाँ राशिको पुरस्कारले पुरस्कृत गरिने उनले बताए ।
‘नेपाली उत्पादनको प्रबद्र्धन गर्ने उद्धेश्यले हामीले छुट्टै एक्स्पो गरिएको हो’, उनले भने, ‘नयाँ उद्यम गर्न चाहनेले पनि यहाँबाट विभिन्न आइडिया लिन सक्नुहुन्छ । स्टार्ट अप १० उद्यमीले एक्स्पोमा स्टल राख्नुभएको छ ।’ एक्स्पोको मुख्य प्रायोजकमा हाइलाइफ र सह–प्रायोजकमा बिग मास्टर वाइन रहेको छ ।
उद्घाटनअघि नै एक्स्पोमा अवलोकनकर्ताको राम्रो आकर्षण पाइएको एक्स्पो व्यवस्थापन समिति संयोजक अर्जनु रानाभाटले बताए । नेपाली उत्पादनबारे जान्नकै लागि पनि मानिस आएको उनले बताए । ‘यहाँ आइसकेर नेपाली उत्पादनबारे थाहा पाएपछि प्रयोग गर्नका लागि लैजानुहुन्छ भन्ने अपेक्षा छ । नेपाली उत्पादनलाई माया गरे देशको अर्थतन्त्र जोगाउन पनि सहयोग पुग्छ भन्ने कुरा सबैले बुझ्न जरुरी छ’, उनले भने ।
प्रबद्र्धकमा भरतपुर महानगरपालिका र उद्योग वाणिज्य संघ चितवन रहेका छन् । महोत्सव आयोजक उद्योग वाणिज्य संघ चितवनले पनि महोत्सवमा ‘मेड इन नेपाल’ एक्स्पोलाई आकर्षणको रहने उल्लेख गरेको छ । महोत्सव पाँच लाख जनाले अवलोकन गर्ने आयोजकको अनुमान छ ।


























